+
+

सफाइ पाएपछि आदिललाई नेपालबाट खेल्ने बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १९:०९

१२ चैत, काठमाडौं । युवा हिटर आदिल अन्सारी नेपाली क्रिकेट टोलीमा फर्किने बाटो खुलेको छ । गतवर्ष पुसमा नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि उनी नेपाल र घरेलु क्रिकेट दुबैबाट बाहिर थिए ।

उक्त आरोपपछि पक्राउ परेका पूर्वक्रिकेटर महबुब आलम र अन्सारीलाई अदालतको आदेशमा ३ लाख धरौटी बुझाएर रिहा भएका थिए । उक्त मुद्धामा अन्तिम फैसला नहुँदा आदिलले घरेलु र अन्तर्राष्ट्रिय दुबै खेल खेल्न पाएका थिएनन् ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपमा दाबी नपुग्ने भन्दै आदिल र महबुबसँगै स्पट फिक्सिङको आरोप लागेका पाँच जनालाई नै सफाइ दिएको छ ।

योसँगै नेपाली क्रिकेट टोलीमा फर्किएने बाटो खुलेको हो । ‘अदालतले सफाइ दिएपछि नेपाली क्रिकेटमा फर्किने बाटो त खुलि नै हाल्यो । तर यो कुरा बोर्डमा जान्छ । बोर्डबाट नै निर्णय हुन्छ । यसअघि पनि बोर्डले नै कारबाही गरेको थियो’, क्यानका क्रिकेट म्यानेजर विनोद दासले अनलाइनखबरसँग भने ।

आदिल नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा अलराउन्डर हुन् । उनले नेपालबाट ६ ओडीआई र ८ टी-२० आई खेल खेलेका छन् । आदिलले २०२२ मा अमेरिकाविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । टी-२० आईमा पपुवा न्युगिनीविरुद्ध त्यसै वर्ष त्रिवि क्रिकेट मैदानमा डेब्यू गरेका थिए । आदिल पछिल्लो समय भारतमा गएर घरेलु क्रिकेट खेल्ने गरेका थिए ।

सफाइ पाएपछि अन्सारीले आफूले नयाँ जन्म पाएको प्रतिक्रिया दिएका छन् । ‘सबैभन्दा पहिले त धेरै खुसी लागेको छ । नेपाल टिमबाट खेल्ने फेरि रहर जागेको छ र आफ्नो तर्फबाट जति मेहनत गर्नपर्छ म गर्छु र नेपाल टिमबाट खेल्छु’, उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?