+
+

ललितपुर घटना : हत्यापछि मोटरसाइकल चढेर फरार, पैसा लिन आउँदा पक्राउ

नारायण अधिकारी नारायण अधिकारी
२०८० चैत १३ गते २०:२०

१३ चैत, काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीस्थित डी–पोपिना खाजाघर ३ जनाको संयुक्त लगानीमा सञ्चालित छ । जसमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भइ ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छाका घर भइ ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई र भुपाल राईको संयुक्त लगानी छ ।

यी ३ जना सञ्चालकमध्ये विजय र सुलभ २ युवाको हत्या आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । उनीहरू २ सहित भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण घर भइ ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई गरी ४ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

यी ४ जना र फरार रहेका १ गरी ५ जनाको समूहले पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ घर भइ ललितपुर बस्दै आएका २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय रोबस राईमाथि चक्कु प्रहार गरी आइतबार राति १० देखि साढे १० बजेको समयमा हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

होलीको राति चक्कु प्रहारबाट गम्भीर घाइते भएका रोबसलाई उपचारका लागि स्कुटरमा राखेर पाटन अस्पताल र पुजनलाई ट्याक्सीमार्फत सुमेरु अस्पताल पुर्‍याइएको थियो । दुवै जनाको मृत्यु भएपछि राति ११ बजे घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी पाएको थियो ।

त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे ४ बजेको समयसम्म १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिसकेको थियो । पक्राउ परेका खाजाघर सञ्चालकद्धय (विजय र सुलभ) र विशाल र छेङ्वीहाङविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका बाँकी ८ जनाको हकमा अहिले अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

अनुसन्धानको क्रममा कर्तव्य ज्यानको कसुरमा संलग्न रहेको देखिए उनीहरूलाई पनि कर्तव्य ज्यानको कसुर आकर्षित हुने बताइएको छ । पक्राउ परेका ४ जनालाई मंगलबार प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको छ ।

फरार रहेका व्यक्तिको विवरण भने प्रहरीले गोप्य राखेको छ । प्रहरीले फरार प्रतिवादी बनाइएका व्यक्तिले हत्याको मुख्य व्यक्ति भनिएका विजयलाई मोटरसाइकलमा राखेर नारायणस्थान पुर्‍याएको खुलेको छ । बिहानीपख विजय पैसा लिन भन्दै घर आएकाे बेला प्रहरीले पक्राउ गरेकाे थियाे ।

फरार व्यक्ति घटना भएको बेला खाजा घरमा उपस्थित भएको र हत्यापछि विजयलाई भगाउनसमेत सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कसको भूमिका के ?

पक्राउ परेका डी–पोपिना खाजाघरका सञ्चालक विजयले नै चक्कु प्रहार गर्दा २ युवाको मृत्यु भएको परिसरका एसएसपी शेखर खनालको भनाइ छ । विवाद भएपछि भन्सामा भएको चक्कु निकाले विजयले प्रहार गरेका थिए ।

विजयलाई यसअघि लागूऔषधको कसुरमा २०७५ सालमा प्रहरी वृत्त थानकोटले पक्राउ गरेको थियो । त्यतिबेला २ वर्ष जेल बसेर उनी २०७७ सालमा कारागारमुक्त भइ खाजाघर खोलेका थिए ।

खाजाघरका अर्का सञ्चालक सुलभले भने प्रमाण नष्ट गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ । उनले घटनास्थलको रगत धोइपखाली प्रमाण नष्ट गर्ने काम गरेको र नियोजित रूपमा घटनालाई लुकाउने प्रयास गरेको अनुसन्धान अधिकारीहरूको भनाइ छ ।

अर्का प्रतिवादी विशाल भने मृतक रोबस र हाल पक्राउ परेका छेङ्वीहाङसँग विवाद गर्ने व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूबाटै सुरु भएको विवाद उग्र बन्दा २ जनाको ज्यान गएको थियो ।

तिहारदेखिको रिसइबी

अहिलेको घटनालाई प्रहरीले आवेश प्रेरित घटना भएको बताएको छ । पुरानो रिसइबी भए पनि हत्या गर्ने कुनै योजना नभएको प्रहरीको प्रारम्भिक बुझाइ छ । मदिरा सेवनपछिको आवेशमा हत्या भएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेश सुवेदीले बताए । २ समूहबीच गत तिहारदेखि रिसइबी भए पनि होलीकाे राति आवेशमा हत्या भएको प्रहरीको भनाइ छ ।

गत तिहारमा साहिल श्रेष्ठले छेङ्वीहाङ राईलाई होच्याउने खालका शब्द बोलेपछि २ समूहबीच विवाद भएको थियो । अहिले यी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । साहिलमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ भने छेङ्वीहाङविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरू गरिएको छ । यो घटना हुनुभन्दा करिब २ महिनाअघि पनि यी २ समूहबीच विवाद भएको देखिएको छ ।

होलीको दिन छेङ्वीहाङ, नाम्नु राई, विराट राई, अनन्त राई, रोवस राईसँगै बसेर दिउँसैदेखि मदिरा सेवन गरेका थिए । साँझपख भने रोबस आफ्नो घर फर्किएका थिए ।
रोबस घर गएपछि विजय राई, सुलभ राई, विशाल हाङ मुकारुङ राई र राजु गुरुङलगायतका १०/११ जना बसेर डी–पोपिना खाजाघरमा मदिरा सेवन गरेका थिए । रोबस घर गए पनि उनको समूह राति साढे ८ बजेतिर डी–पोपिना खाजाघरमा गएर पुरानो कुरा निकाल्दै निहुँ खाजेको अनुसन्धानबाट खुलेको एसएसपी खनालले बताए ।

त्यसपछि छेङ्वीहाङले राति ९ बजेर ५८ मिनेटमा रोबसलाई फोन गरेर घटनाबारे जानकारी गराउँदै बोलाएका थिए । रोबस सहितको टोली होटलमा पुगेर ‘ग्याङ्फाइट’मा उत्रिएपछि घटनाले उग्ररूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘रोबसको समूह आधा बन्द रहेको सटर खोली मेरो भाइलाई हेप्ने भन्दै भित्र प्रवेश गरेपछि झगडा सुरू भएको देखिन्छ । त्यसपछि होटल सञ्चालक विजयले चक्कु प्रहार गर्दा २ जनाको ज्यान गएको हो’ एसएसपी खनालले भने ।

रोबसलाई विजयले चक्कु प्रहार गर्न लाग्दा त्यसो नगर्न भन्दै चक्कु खोस्न पुगेका विजय समूहका पुजनको तिघ्रामा चक्कु लागेको थियो । तिघ्रामा चोट लागेर अत्यधिक रक्तस्राव हुँदा पुजनको समेत ज्यान गएको प्रहरीको भनाइ छ ।

विजयकै चक्कु प्रहार रोबसको छातीमा लागेको थियो । प्रहरीले घटनास्थलबाट चक्कु, रगत लतपतिएको ज्याकेट, चप्पललगायत सामग्री बरामद गरेको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?