+
+

अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन बिहीबारदेखि  

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १७:३५

१४ चैत, काठमाडौं । ललितपुरमा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन हुने भएको छ । बिहीबार सुरु हुने पहिलो अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ ।

पाटन मल्टिपल क्याम्पस अर्थशास्त्र विभागले आयोजना गर्ने सम्मेलनमा अर्थशास्त्रले विकासको सवालमा नवीन सोच, तयारी लगायतका विषयमा केन्द्रित हुने अर्थशास्त्र विभाग प्रमुख डा. रघुवीर विष्टले जानकारी दिए ।

अर्थशास्त्रको नयाँ पुस्ता, नीति निर्माण तहमा रहेको वर्ग, प्राज्ञिक र बौद्धिक वर्ग एउटा मञ्चमा उपस्थित भएर प्राज्ञिक सोध तथा अनुसन्धानबाट आर्जित ज्ञान सेयर गर्न सम्मेलन आयोजना गर्न लागिएको उनका भनाइ छ ।

‘अर्थशास्त्रको विकासक्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएका छन् । कोभिड महामारी, क्षेत्रीय द्वण्द्वजस्ता गतिविधिले अध्ययनको नयाँ शिरालाई जन्म दिएका छन्,’ उनले भने, ‘यी घटनाले ठूला र साना अर्थतन्त्रमा गैरपरम्परागत प्रभाव पार्न थालेको छ । उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको छ ।’

नेपालजस्तो जटिल र पृथक भू-राजनीतिक मानचित्रमा रहेको देशलाई अर्थशास्त्रमा आएको उल्लेखित नयाँपनलाई नजिकबाट नियाल्न सहज रहेको उनको भनाइ छ । स्थापनाको ६९ वर्षमा क्याम्पसले पहिलोपल्ट अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आयोजना गर्न लागेको हो ।

पुल्चोकमास्थित होटल स्क्वायरमा आयोजना हुने सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहने क्याम्पसले जनाएको छ ।

सम्मेलनमा त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्लविद्यालयका विभिन्न आंगिक/सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहनेछ ।

सम्मेलनका लागि कुल ३८ रिसर्च पेपर छनोट भएका छन् जो दुई दिन चल्ने ११ प्राविधिक सत्रमा प्रस्तुत हुनेछन् । सम्मेलनमा २ विज्ञ वक्ताबाट ‘किनोट लेक्चर’ र ५ विज्ञ सम्मिलित १ प्यानल छलफलमार्फत् सहभागीले ज्ञान आर्जन गर्न सक्नेछन् । सम्मेलनमा कुल १५० जनाको सहभागिता रहनेछ ।

सम्मेलनले विकासका नयाँ मुद्दामाथि गहन छलफलमार्फत ज्ञान आर्जनमा टेवा पुग्ने तथा नीतिनिर्माणमा स्पष्टता र दुरदर्शिता विकास गर्न सघाउ पुग्ने लक्ष्य लिएको छ ।

विकासको एजेन्डालाई नवसिर्जित मुद्दासँग अंगिकार गर्दै अर्थतन्त्र विस्तारमा गुणात्मकता र स्थायित्व कायम गर्ने नयाँ आयामको खोजी सम्मेलनले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?