+
+

एसपी बढुवा : नेताका पीएसओ बढुवा हुँदा पहिलो नम्बरका क्षेत्री छुटे

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १८:१४
बायाँबाट– सन्तोष तामाङ, राजन लिम्बु र विनोद घिमिरे

१५ चैत, काठमाडौं । लामो समयदेखि खाली रहेको ८ एसपीको दरबन्दीमा बढुवाका लागि नाम सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अध्यक्ष रहेको बढुवा समितिले बुधबार राति ८ डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गरेको छ ।

जसमा बढुवा दाबेदारको पहिलो नम्बरमा रहेका डीएसपी प्रदीपकुमार क्षेत्री छुट्दा अन्तिममा रहेका विनोद घिमिरे बढुवा भएका छन् । घिमिरे कुनै समय हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सुरक्षा अधिकृत (पीएसओ)  थिए।

गत साउनयता नेपाल प्रहरीमा ८ एसपीको दरबन्दी रिक्त थियो । जसमा मुख्य गरी १२ जना प्रतिस्पर्धामा थिए । डीएसपीमा रहेको वरियता अनुसार पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री थिए । १२ औं नम्बरमा भने विनोद घिमिरे थिए ।

यसअघि प्रहरी महानिरीक्षक कुँवरले वरियताक्रम अनुसार बढुवा गर्ने भन्दै कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनलाई कम महत्व दिँदै आएका थिए ।

डीएसपी प्रदीपकुमार क्षेत्री

सोही नीति अनुसार गत ३० वैशाखमा डीएसपीबाट एसपी बढुवा गर्दा कारबाही भोगेका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका श्यामकुमार राई समेत बढुवा भएका थिए । राई प्रहरी वृत्त बौद्धको प्रमुख भएका बेला घुससहित पक्राउ परेका थिए ।

अहिलेको बढुवा सिफारिस सूची अनुसार पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रो नम्बरमा अंगुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौंमा श्यामबाबु ओलिया, छैटौंमा निरञ्जनदत्त भट्ट, सातौं राजन लिम्बू र आठौं नम्बरमा विनोद घिमिरे बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस भएकामध्ये सन्तोष तामाङ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओ हुन् । राजन लिम्बू पनि ओलीका पूर्वपीएसओ हुन् ।

डीएसपीमा रहँदा लिम्बु आठौं, तामाङ नवौं र घिमिरे १२ औं नम्बरमा थिए । उनीहरुलाई बढुवा गर्दा पहिलो नम्बरका क्षेत्री र छैटौं नम्बरका नारायण रञ्जितकार बढुवामा छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?