+
+

वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङमा आर्मी र एपीएफ च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते १९:५१
वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन आर्मी क्लब ।

१७ चैत, काठमाडौं । नेपाल आर्मी र एपीएफ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् ।

प्रतियोगितामा आर्मीले ३ स्वर्ण हात पार्‍यो । प्रहरीले २ तथा कर्णालीले १ स्वर्ण प्राप्त गरे । महिलामा एपीएफले पनि सर्वाधिक ३ स्वर्ण जित्यो । आर्मी, लुम्बिनी र प्रहरीले समान १-१ स्वर्ण हात पारे । पुरुष र महिला दुवैमा समान ६–६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा तथा महिलामा एपीएफकी संगीता सुनार उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ५० हजार रुपैयाँ पुरस्कार पाए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५१ केजी फाइनलमा प्रहरीका चन्द्रले मधेश प्रदेशका रविन थापालाई पराजित गरी स्वर्ण जिते । पुरुष ५७ केजीमा आर्मीका प्रेम चौधरीले कर्णाली प्रदेशका सुलभ माली (वाकओभर), ६३.५ केजीमा प्रहरीका भुपेन्द्र थापाले आर्मीका खगेन्द्र रोका मगर, ७१ केजीमा आर्मीका दानबहादुर दर्लामी मगरले एपीएफका विक्रम चौधरी, ८० केजीमा कर्णालीका मनोज तामाङले सुदूरपश्चिमका बालाजी रावल तथा ९२ केजीमा आर्मीका महेन्द्र केसीले एपीएफका रविन नेपाललाई हराउदै पहिलो भए ।

महिला ५० केजीमा लुम्बिनीकी सुष्मा तामाङले बागमतीकी रमिशा श्रेष्ठ, ५४ केजीमा प्रहरीकी अञ्जनी तेलीले बागमतीकी रक्षा जिसी, ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले कोशीकी नारिका राई, ६० केजीमा एपीएफकी संगिता सुनारले आर्मीकी ललिता महर्जन, ६६ केजीमा एपीएफकी विनिता थापा मगरले आर्मीकी निरु गुरुङ तथा ७५ केजीमा एपीएफकी सरस्वती रानाले आर्मीकी तृषा जबेगुलाई पाखा लगाउदै स्वर्ण जिते ।

हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र साढे ७ हजार रुपैयाँ पाए ।

विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?