+
+

त्रिविको लापरबाही, दोहोरियो एउटै प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १७:५४

२० चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागको लापरबाही दोहोरिएको छ । सञ्चालन भइरहेको स्नातकोत्तर चौथो सेमेष्टरअन्तर्गत अर्थशास्त्र विषयको प्रश्नपत्रमा एउटै प्रश्न दुई ठाउँ सोधिएको छ ।

पब्लिक इकोनोमिक विषयको प्रश्नपत्रमा एउटै प्रश्न ८ र ९ नम्बरमा सोधिएको छ । यो निवर्तमान विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले पढाउने विषय हो ।

१३ चैतमा सञ्चालन भएको परीक्षाको प्रश्न दोहोरिएको र एउटै पाठबाट धेरै वटा प्रश्न सोधिएको विद्यार्थीहरू बताउँछन् । एक विद्यार्थी भन्छन् ‘त्रिविको लापरबाहीको शिकार हामी भइरहेका छौं ।’

गत वर्ष भएको परीक्षामा पनि यही विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु थियो । त्यो बेला विभागीय प्रमुख अधिकारी थिए भने पब्लिक इकोनोमिक उनले नै पढाउँथे । प्रश्नपत्र निर्माण गर्ने विषयमा भएको लापरबाहीबारे कारबाही हुनुपर्ने माग राख्दै विद्यार्थीले आन्दोलन गरेपछि छानबिन समिति बनेको थियो । तर कारबाही केही भएन ।

राजनीतिक संरक्षणका कारण त्यसबेला विभागीय प्रमुख कारबाहीबाट जोगिएको एक प्राध्यापक बताउँछन् । उनी भन्छन् ‘तत्कालीन उपकुलपति र विभागीय प्रमुख एउटै पार्टीको भएपछि कारबाही हुने कुरै भएन । अधिकारीजीलाई त त्यही साल त्रिविले ‘बेस्ट टिचर’ अवार्ड दियो ।’

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका विभागीय प्रमुख सम्बन्धित विषयको विषय समिति प्रमुख हुने व्यवस्था छ । त्यसैले अर्थशास्त्र विषयको सबै प्रश्नपत्र निर्माणको नेतृत्व प्रा.डा.शिवराज अधिकारीले गरेका हुन् । विभागीय प्रमुख आफैंले पढाएको विषयको प्रश्नपत्रमा बारम्बार त्रुटि हुनु गम्भीर भएको ती प्राध्यापक बताउँछन् ।

अधिकारी अघिल्लो साता मात्रै राष्ट्रिय योजना आयोगको सदस्यमा मनोनीत भएका छन् ।

मानविकी तथा समाजशास्त्र संकायका सहायक डीन प्रा.डा. तारा भुषालले प्रश्नपत्रमा देखिएको त्रुटिबारे अध्ययन भइरहेको बताए । उनले भने ‘कसरी त्यस्तो त्रुटि हुन गयो अध्ययन भइरहेको छ । निष्कर्ष नआइ केही भन्न सकिंदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?