+
+

सगरमाथा निकुञ्जका हिमाली बस्तीमा बिजुली बाल्न पाङ्बोचेमा ‘मिनी हाइड्रो’

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा ९ सय ११ किलोवाट क्षमताको जलविद्युत् आयोजना कार्यान्वयन गर्ने गरी आमादब्लम मिनी हाइड्रो लिमिटेडले प्रक्रिया थालेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८० चैत २० गते १९:१९
आयोजनाको बाँध रहने स्थल (बायाँ) र पेन्स्टक तथा विद्युत् गृह रहने स्थान (दायाँ)

२० चैत, काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र राष्ट्रिय प्रसारण लाइनले नछोएका हिमाली बस्तीमा बिजुली बाल्न सोलुखुम्बु पाङ्बोचेमा ‘मिनी हाइड्रोपावर’ बन्ने भएको छ ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा ९ सय ११ किलोवाट क्षमताको जलविद्युत आयोजना कार्यान्वयन गर्ने गरी आमादब्लम मिनी हाइड्रो लिमिटेडले प्रक्रिया थालेको छ ।

सोही क्रममा कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)  प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ । समुद्र सतहबाट ४ हजार ४ सय २३ मिटर उचाइमा रहेको स्थानबाट पानी फर्काएर ४ हजार ४ सय २२ मिटर उचाइमा इन्टेक बनाउने योजना छ ।

त्यसपछि पानीलाई २ हजार ९ सय ३० मिटर लामो पेनस्टक पाइपलाइन मार्फत समुद्र सतहबाट ३ हजार ९ सय ५१ मिटर उचाइमा रहेको विद्युत्गृह ल्याई बिजुली उत्पादन गर्ने लक्ष्य छ । आयोजना कार्यान्वयन हुने क्षेत्र पाङ्बोचेको न्यूनतम तापक्रम वर्षको ७ महिना शून्य डिग्रीभन्दा तल झर्छ ।

नेपाल सरकार/वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान, विश्व बैंकको ऋण र प्रस्तावकको लगानीसहित कुल ६१ करोड ८९ लाख १ हजार ६ सय ३८ रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनले नछोएको सगरमाथा राष्ट्रिय निकुञ्जभित्रका ४ सय ५१ घरपरिवारमा बिजुली पुर्‍याउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंक र वैकल्पिक ऊर्जा केन्द्रबाट ५९.२७ प्रतिशत ऋण, २० प्रतिशत अनुदान र २० प्रतिशत प्रस्तावकको लगानीमा आयोजना बन्ने गरी तयारी थालिएको हो ।

चोलुन्चे खोलाको पानी प्रयोग गरी अगाडि बढेको आयोजना नदी प्रवाहमा आधारित छ । चोलुन्चे खोला सदाबहार खोला हो । यो इम्जा खोलाको सहायक खोलासमेत हो । चालुन्चे खोला नरे हिमनदीबाट सुरु भएर उत्तरपूर्वबाट दक्षिण पश्चिम दिशामा बग्छ । त्यसपछि पाङ्बोचे गाउँमा आएर इम्जा खोलासँग मिल्छ । यो हिउँले भरिएको सदाबहार पानी बहने खोला हो ।

नेपालको भूउपयोग ढाँचाअनुसार यो आयोजनामा ५२.४० प्रतिशत हिमनदी, २०.८६ प्रतिशत बाँझो जमिन, २०.८६ प्रतिशत घाँसे मैदान, ८.०२ प्रतिशत झाडी, वनको २.८६ प्रतिशत, जलस्रोतको २.८३ प्रतिशत हिस्सा छ ।

पेनस्टक पाइप घाँसे मैदानमा राख्ने, विद्युतगृह समेत घाँसे मैदानमा राख्ने र प्रसारण र वितरण लाइन भने पर्यटक पदयात्रा मार्गमा राखिने आयोजनाले जनाएको छ । आयोजनाबाट वार्षिक ७२ लाख २५ हजार ७ सय १८ किलोवाट बिजुली उत्पादन हुनेछ ।

यी गाउँमा बल्ने छ बिजुली

खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका चुकुङका १२, देबुचे ६, डिङबोचे ८६, डोले १४, फुँगी टेंगा ११, लबी स्यासा १२, लोबुचे ३, लुजा ३, मिन्ग्बो १३, मिछेर्मो १ सय २, पाङ्बोचे ३५, फेरिचे १ सय ६, फोत्र्से ३ र फोत्र्से टेंगाका ९ घरमा बिजुली बाल्ने आयोजनाको लक्ष्य छ ।

त्यस्तै सोमारेका १९, थुक्ला २, त्याङ्बोचे ७, वोर्सो १ र मोंग्लाका ७ घरधुरीमा बिजुली पु¥याउने लक्ष्यसहित आयोजना अगाडि बढाइएको हो । निर्माण सुरु गरिएको १८ महिनामा सम्पन्न गरी बिजुली बाल्ने योजना छ ।

आयोजनाका लागि १२ मिटर लामो र २.५७ मिटर उचाइ रहेको बाँध बाँधिने छ । बाँध समुद्र सहतबाट ४ हजार ४ सय २३ मिटर उचाइमा रहने छ । यसबाट ३ सय ६० वर्गमिटर क्षेत्रफल रहेको जलाशय बन्ने भएको छ ।

यो आयोजना सगरमाथा निकुञ्ज क्षेत्रभित्र पर्छ । जंगल क्षेत्रभित्र ५ हेक्टरभन्दा बढी जमिन आवश्यक भए ईआईए गर्नुपर्ने प्रावधान छ ।

आयोजनाका लागि कुल ५.७१९ हेक्टर जमिन सगरमाथा राष्ट्रिय निकुञ्जको स्वामित्वमा छ । यो जग्गा अल्पकालीन र दीर्घकालीन रूपमा भाडामा लिइने भएको छ ।

एउटा पनि रुख नकाटिने

आयोजना कार्यान्वयन गर्न एउटा पनि रुख काट्नु नपर्ने देखिएको छ । इन्टेक र पावरहाउस क्षेत्र अल्पाइन चरण क्षेत्रमा पर्ने र यहाँ रुख नभएको ईआईए प्रतिवेदनले देखाएको छ ।

पेनस्टक पाइप समेत बुट्यान क्षेत्रमा बिच्छ्याइने छ । प्रसारण तथा वितरण लाइन खोला पार गर्नेबाहेक अन्य क्षेत्रमा भूमिगत गरिने छ । जसले गर्दा एउटा पनि रुख काट्नु नपर्ने जनाइएको छ । अधिक चिसो हुने चोलुन्चे खोलामा हालसम्म माछा नदेखिएको तर केही सरिसृप र उभयचर भने आयोजनाबाट प्रभावित हुन सक्ने देखिएको छ ।

पर्यटन क्षेत्र लाभान्विन हुने

यस क्षेत्रको मुख्य पेसा पर्यटन हो । त्यसभित्र कृषि, होटल, लज, रेस्टुरेन्ट र व्यापारमा स्थानीय संलग्न देखिन्छन् । यी बस्तीमा अहिले तीन माइक्रो हाइड्रो प्लान्ट (उज्यालोका लागि मात्र काम गर्ने) प्रयोगमा छन् ।

केही घरमा सौर्य प्रणाली जडान गरी बत्ती बालिएको छ । खाना पकाउन एलपीजी, मट्टीतेल, गुइँठा र दाउरा प्रयोग हुने गरेको पाइएको छ । यी क्षेत्रमा तीन आधारभूत विद्यालय र तीन स्वास्थ्य चौकीसमेत छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?