+
+
हिंड्ने संस्कृति :

बालबालिकालाई भनौं- आज हिंड्नुपर्छ

आशिष गजुरेल, यातायातविज्ञ  आशिष गजुरेल, यातायातविज्ञ 
२०८० चैत २८ गते १४:३०

अहिलेका बालबालिकामा बालापान नै हराउँदै गएको हो कि जस्तो लाग्छ । न उनीहरु उन्मुक्त भएर खेल्छन्, न उफ्रिन्छन्, न दौडिन्छन् । जतिबेला पनि ल्यापटप, मोबाइलमा लिप्त हुन्छन् । यस्तो लाग्छ, उनीहरुलाई बुढ्यौलीले छोपिसकेको छ । अर्थात् जाँगर र जोश नै हराइसकेको छ ।

कतै जानुपरेमा गाडी खोज्छन् । मेरो छोराहरुकै कुरा गरौं न । ‘कतै हिंड्न जाऔं बाबु’ भन्यो भने गाडी चाहिन्छ ।

म उनीहरुलाई विकल्प दिन्छु, ‘सार्वजनिक गाडीमा जाऔं न त ।’

उनीहरु अस्वीकार गर्छन्, ‘अल्छीलाग्दो हुन्छ । असुविधा हुन्छ ।’

म भन्छु, ‘साइकलमा जाऔं न त ।’

उनीहरु भन्छन्, ‘साइकललाई सबैले हेप्छन् । बाटो दिंदैन ।’

म भन्छु, ‘त्यसो भए हिंडौं । आफ्नै खुट्टा छँदैछ । फटाफट हिंड्न सकिन्छ । गजब हुन्छ नि ।’

तर उनीहरु यो सर्तमा राजी हुँदैनन् । उनीहरु त सुविधाजनक ढंगले निजी गाडीमै यात्रा गर्न चाहन्छन् । सम्भवत: यो धेरै अभिभावकको साझा भोगाइ होला । छोराछोरीलाई हिंडाउनु भनेको ठूलै प्राप्ति जस्तो हुन थालेको छ ।

बालबालिकाहरु बढी सुविधाभोगी हुँदै गएका छन् । उनीहरु ओछ्यानमा पल्टिएपछि वा सोफामा उत्तानो परेपछि सकेसम्म उठ्न खोज्दैनन् । उठे पनि उफ्रिन, खेल्न खोज्दैनन् । अझ हिंड्न खोज्दैनन् ।

मानौं, नजिकमा विद्यालय छ भने हिंडेर जानु राम्रो हो । कतै किनमेल गर्न, घुमफिर गर्न पनि हिंडेर जानु राम्रो हो, यदि पायकको ठाउँ छ भने । तर बालबालिकाहरु छोटो दूरी छिचोल्न पनि गाडी चढ्न खोज्छन् ।

हराउँदै हिड्ने संस्कृति

उहिले उहिले हाम्रा पुर्खाहरु हिंडेर नै पूर्व-पश्चिम आउजाउ गरेको कथा सुनिन्छ । हुन त त्यसबेला सवारी साधनहरु थिएनन् । विकल्प नहुँदा हिंड्न बाध्य हुनुपर्ने हुन्थ्यो ।

आखिर जे भएपनि उनीहरु पैदल हिंडेकै कारण स्वस्थ भए, फूर्तिलो भए, तन्दुरुस्त र तगडा भए ।

किनभने हिंड्नु भनेको सम्पूर्ण व्यायाम हो । शरीरका लागि यसले समुचित व्यायाम पुग्छ । चिकित्सकहरु भनिरहेकै हुन्छन्, ‘नियमित रुपले ४०-४५ मिनेट मात्र फटाफट हिंड्ने मान्छे धेरै किसिमको रोगबाट मुक्त हुन्छन् ।’

हिंड्दा क्यालोरी बर्न हुन्छ । मांसपेशीहरु र जोर्नी लचिलो हुन्छ । फोक्सो, मुटु जस्ता भित्री अंगहरुको कार्य सञ्चालनमा तीव्रता आउँछ । रक्तप्रवाह सहज हुन्छ । त्यसैले तन्दुरुस्ती र दीर्घायुका लागि हिंड्नु लाभदायक छ ।

यी त भए स्वास्थ्यमा पुग्ने प्रत्यक्ष फाइदा । त्यसबाहेक हिंड्दा अनेक फाइदा छ । यसले पर्यावरण र प्रकृतिलाई फाइदा गर्छ । परोक्ष रुपमा भए पनि सवारीको चाप घटाउन योगदान पुग्छ । कतिपय मान्छे आपतकालीन अवस्थाका हुन्छन्, जसलाई छिटो भन्दा छिटो आफ्नो गन्तव्यमा पुग्नुपर्ने हुन्छ, उनीहरुलाई पनि यसले सहयोग गर्छ ।

जब हामी यी कुरा गर्न थाल्छौं मान्छेहरु टिप्पणी गर्छन्, ‘एक जना मान्छे हिंड्दैमा वायुमण्डल स्वच्छ हुन्छ र ? प्रकृतिलाई फाइदा पुग्छ र ? गाडीको चाप घट्छ र ?’

आवश्य पनि एक जना मान्छेको कारण यी सबै कुरा नहुन सक्छ । यद्यपि सुरुवात भनेको एक जनाबाटै हुने हो । हरेक गन्तव्यको यात्रा एक पाइलाबाट नै हुने हो । भनिन्छ नि, थोपा थोपा पानीले नै समुन्द्र बन्छ । हामी सबैले आ–आफ्नो तर्फबाट गर्न सक्ने सानो सानो सहयोगले नै ठूलो र दिगो योगदान पुग्ने हो ।

त्यसैले हामीले आफ्ना बालबालिकालाई भनौं, आज त हिंड्नुपर्छ ।

चाहे पसल जाँदा होस् वा किनमेलमा । चाहे घुम्न निस्कँदा होस् वा आफन्तकहाँ जाँदा । सम्भव भएसम्म पैदल हिंड्न प्रेरित गरौं । पैदल हिंड्दैमा हाम्रो समय नष्ट हुने होइन । बरु, त्यस क्रममा हामीले कतिपय रचनात्मक कुराहरु गर्न सकिन्छ, कतिपय जुक्तिहरु निकाल्न सकिन्छ । त्यससँगै धेरै कुरा देख्न, भोग्न, बुझ्न सकिन्छ । यो पनि त जीवनका लागि अपरिहार्य र उपयोगी कुरा नै हो ।

संरचना पनि जरुरी

खासगरी सहरी क्षेत्रमा सहज रुपले हिंडडुल गर्न कठिन छ । काठमाडौं खासै ठूलो सहर होइन । एक छेउबाट अर्को छेउमा पुग्न धेरै समय लाग्दैन । तर यहाँ हिंड्नका लागि उपयुक्त संरचना नै छैन ।

फुटपाथ व्यवस्थित छैन । फराकिलो छैन । सुरक्षित छैन । त्यहाँ पनि गाडी पार्किङ गरिन्छ, पसल थापिन्छ, गिटी–बालुवा थुपारिन्छ ।

यदि सहरका छेउकुनामा फुटपाथको राम्रो व्यवस्था हुने, त्यसका आसपासमा फूल बगैंचा वा बोट बिरुवा हुने, ठाउँठाउँमा पिउने पानीको व्यवस्था गरिदिने, शौचालय बनाउने गरे धेरै मान्छे हिंड्ने थिए । उनीहरुसँगै बालबालिका पनि हिंड्ने थिए । यसरी हिंड्ने संस्कार नै विकास हुने थियो ।

फुटपाथ बनाउनु भनेको सहरलाई सुन्दर देखाउनु मात्र होइन, एउटा राम्रो संस्कृतिको उद्घाटन गर्नु पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?