+
+

हिंडौं पैदल पनि

सौरभ ढकाल सौरभ ढकाल
२०८० माघ ३ गते ८:५४

फित्तै लगाएर नाप्ने हो भने कोटेश्वर–बानेश्वरको दूरी पुगनपुग दुई किलोमिटर छ । कस्सिएर हिंड्दा यति दूरी छिचोल्न २० मिनेट पनि लाग्दैन ।

तर, कोटेश्वरबाट बानेश्वरसम्म जानका लागि मान्छेहरू ३० मिनेटसम्म गाडी पर्खन्छन् । मरिगए हिंड्दैनन् ।

शारीरिक रूपमा अशक्त, बुढापाका, गर्भवतीको हकमा त हिंड्नु सहज नहोला । जबकि मस्त जवान युवाहरू पनि हिंड्न हच्किन्छन् । पैदल हिंड्नका लागि किन जाँगर चलाउँदैनन् ?

एक– सहज रूपमा पैदल हिंड्नका लागि यो शहरमा चौडा फुटपाथ छैन ।

दुई– धुलो, धुवाँ, ध्वनि प्रदूषण र दुर्गन्धले बटुवालाई हैरान बनाउँछ ।

तीन– पैदल हिंड्न सुरक्षित छैन । खासगरी बाटो काट्न जोखिमपूर्ण छ ।

यसबाहेक अर्को महत्वपूर्ण कारण छ, त्यो हो हिंड्ने संस्कार नै छैन । यो शहरमा कोही हिंडेरै गन्तव्यसम्म आउजाउ गर्छन् भने उनीमाथि सम्मान होइन हेयभाव राखिन्छ । त्यसैले अरूको अगाडि ‘बिचरा’ नबन्नका लागि पनि मान्छेहरू पैदल हिंड्दैनन् ।

जबकि हिंड्नुको अनेक लाभ छ । धेरै टाढासम्म पुग्न नपर्ने, हतार छैन भने पैदल हिंडेर गन्तव्यसम्म आउजाउ गर्नु सर्वोत्तम हो । किन ?

–हिंड्नु आफैंमा सम्पूर्ण व्यायाम हो । दैनिक ४०–४५ मिनेट हिंड्ने हो भने पेट घटाउनका लागि जिम धाउने वा औषधि खाने दुःख गरिरहनु परेन ।

–चिनेजानेका, साथीभाइ, बालबच्चा पनि पैदल हिंड्न जाँगर गर्छन् । विस्तारै यसले एउटा संस्कारको रूप लिन्छ ।

–प्रकृति र पर्यावरणमा सहयोग पुग्छ । शहरलाई स्वच्छ राख्ने काममा आंशिक भए पनि योगदान हुन्छ ।

–गाडी, मोटरसाइकलको चाप केही मात्रामा भए पनि कम हुन्छ । यसले गर्दा एम्बुलेन्स, दमकल जस्ता आकस्मिक सवारी साधनलाई बाटो खुला हुन्छ ।

काठमाडौंमा किन हिंड्दैनन् मान्छे ?

युरोपेली मुलुकका केही शहरलाई ‘१५ मिनेट सिटी’ पनि भन्ने गरिएको छ । तीव्रताका साथ १५ मिनेट हिंडियो भने यो शहरको एक छेउबाट अर्को छेउमा पुग्न सकिन्छ । ती शहरहरूमा पैदल हिंड्नलाई प्रोत्साहित गरिन्छ । यसका लागि पर्याप्त फुटपाथको सुविधा छ ।

नेदरल्यान्डको शहर पैदल र साइकल यात्राको लागि एकदमै लोकप्रिय छन् । त्यसैले यसलाई वातावरणमैत्री अवधारणाको रूपमा विकास गरिएको छ ।

तर, सदियौं पुरानो सभ्यता बोकेर उभिएको काठमाडौं शहरमा अहिले गाडीहरूको कोलाहल छ । यहाँको वायुमण्डलमा डिजल–पेट्रोलको गन्ध मिसिएको छ । सर्वत्र हर्नको चर्को ध्वनि छ । सुविधासँग हिंड्न, बस्न सक्ने ठाउँ छैन ।

विगतमा काठमाडौं शहरको डिजाइन गर्दा हिंड्नका लागि पनि बाटो राखिएको थियो । वसन्तपुर, दरबारस्क्वायर जस्ता पुरानो बस्तीहरूमा पैदल यात्रीका लागि ठाउँ छाडिएको थियो । तर, अहिले यस्ता ठाउँहरू गाडीले ओगट्न थालेका छन् । पैदल यात्रुहरू डराई–डराई र होशियारसाथ जोगिएर हिंड्नुपर्ने बाध्यता छ ।

काठमाडौंमा शायदै यस्ता फुटपाथ छन्, जहाँ सुविधाजनक हिसाबले फटाफट हिंड्न सकियोस् । मूलतः मान्छेहरूले पैदल हिंड्न नचाहनुमा यहाँको असुविधा नै हो ।

यदि फराकिलो र सुरक्षित फुटपाथ हुँदो हो, ठाउँ–ठाउँमा विश्राम गर्ने ठाउँ हुँदो हो, ठाउँ–ठाउँमा शौचालय हुँदो हो भने काठमाडौंका थुप्रै मान्छे हिंडेरै गन्तव्यसम्म आउजाउ गर्ने थिए ।

काठमाडौं जस्तो शहरमा पैदल मार्गलाई महत्व दिइने हो भने यसले शहरवासीलाई तन्दुरुस्त बनाउने मात्र होइन शहरलाई स्वच्छ पनि राख्छ । यसले सडकमा गाडीको चाप, पार्किङको भीडभाड घटाउँछ र यहाँको वायुमण्डलबाट पेट्रोल–डिजलको गन्ध हटाउँछ ।

दैनिक कति हिंड्नुपर्छ ?

पैदल हिंड्नु शारीरिक तन्दुरुस्ती एवं स्वास्थ्यका लागि एकदम लाभदायक छ । चिकित्सकहरू भन्छन्– ‘कम्तीमा दिनहुँ ४०–४५ मिनेट हिंड्ने हो भने धेरै रोगको जोखिमबाट बच्न सकिन्छ ।’ तर, हिंडाइको गति भने तीव्र हुनुपर्छ । पसिना निस्कने गरी फटाफट हिंड्नुपर्छ ।

युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा छापिएको एक शोध अनुसार एक दिनमा कम्तीमा ३ हजार ९६७ कदम हिंडियो भने कम उमेरमा मृत्यु हुने खतरालाई कम गर्न सकिन्छ ।

यो शोधमा भनिएको छ– दैनिक २ हजार ३०० कदम मात्रै हिंड्दा पनि मुटुरोगबाट मृत्यु हुने खतरालाई ५० प्रतिशतसम्म कम गर्न सकिन्छ ।

अनुसन्धाताका अनुसार जति बढी हिंड्नुहुन्छ त्यति नै धेरै फाइदा हुन्छ । यो शोध विश्वभरिका २ लाख २६ हजार व्यक्तिमाथि गरिएको थियो ।

शोधका अनुसार ४ हजार कदम हिंडेपछि व्यक्ति जति हजार कदम हिंड्छ, यसले उसको उमेरलाई १५ प्रतिशतसम्म थप बढाउन सक्छ ।

हिंड्दा कसरी हिंड्ने ? कति तीव्रतासाथ हिंड्ने ?

पैदल हिंड्दा तीव्रताका साथ हिंड्नु लाभदायक हुन्छ । अल्छी गर्र्दै हिंड्दा समग्र रूपले शरीरलाई फाइदा पुग्दैन ।

जब हामी तीव्र गतिमा फटाफट हिंड्छौं मांसपेशी, जोर्नी खुम्चने–फैलने हुन्छ । फोक्सो, मुटु जस्ता भित्री अंगको चाल बढ्छ । यसले गर्दा रक्तप्रवाहदेखि अक्सिजन आपूर्ति पनि राम्ररी हुन पाउँछ ।

हिंड्नुको अर्को फाइदा भनेको तनावबाट उन्मुक्त हुनु पनि हो । हिंड्दै गर्दा बाटामा भेटिने, देखिने दृश्यहरूले कतिपय तनाव मनमा आउन दिंदैन । अझ सिर्जनशील मान्छे हुनुहुन्छ भने त तपाईंले हिंडिरहँदा पनि कतिपय रचनात्मक कुराको खाका तयार गर्न सक्नुहुन्छ । किनभने यस्तो अनुकूलता आफैंले गाडी कुदाउँदा वा अरूको गाडीमा कोच्चिएर बस्दा हुँदैन ।

पैदल हिंड्दा सकेसम्म सहज जुत्ता र लुगा लगाउनुपर्छ । यदि अफिस वा कार्यथलो जानुपर्ने हो भने व्यागमा केही लुगा बोकेर हिंड्नु उत्तम हुन्छ । साथै पानी, गम्छा (रुमाल) पनि छुटाउनुहुन्न ।

००० ०००

हिंड्ने संस्कार विकास गरौं । छोटो दूरीको यात्रामा निस्कँदा मोटरसाइकल, गाडी प्रयोग नगरौं । ४०–५० मिनेटको दूरीमा कार्यथलो भए सम्भव भएसम्म हिंडेरै आउजाउ गरौं ।

चलाउनै परे, साइकलको प्रयोग गरौं । सकेसम्म पैदल हिंड्ने अभ्यास गरौं ।

ढकाल शहरी विकास अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?