News Summary
Generated by OK AI. Editorially reviewed.- डा. विकास पौडेलका अनुसार हेलमेटले कपाल झर्ने मुख्य कारण होइन, तर टाइट हेलमेटले टाउकोमा दबाब र पसिना जम्न सक्छ।
मोटरसाइकल चलाउँदा हेलमेट लगाउनु कानुनीरूपमा अनिवार्य छ । सडक दुर्घटनामा ज्यान बचाउन पनि यो अत्यावश्यक छ । साथै फ्याक्ट्रीमा काम गर्ने र निर्माणका काम गर्नेले पनि हेलमेट लगाउँछन् । तर, धेरै मानिसहरूमा यो विश्वास छ कि- हेलमेट लगाउँदा कपाल बिग्रिन्छ वा झर्छ ।
कतिपयले भन्छन्- टाइट हेलमेटले टाउकोको छालामा दबाब पार्छ, जसले पसिना जम्छ र कपाल कमजोर हुन्छ । कतिपयले भने हेलमेटमा जम्मा भएको धूलो, फोहोर वा फंगल संक्रमणले कपालको जरा प्रभावित हुन्छ भन्छन् । यी कुरामा कति सत्यता छ ? के हेलमेट लगाउनु नै कपाल झर्ने मुख्य कारण हो ?
के हेलमेट लगाउँदा कपाल झर्छ ?
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ डा. विकास पौडेलका अनुसार कहिलेकाहीँ हेलमेटले टाउकोमा घर्षण पैदा गर्छ, जसले पसिना जम्मा हुन सक्छ । यसले टाउकोको छाला वा कपालको नजिकको छालालाई असर गर्छ ।
यदि हेलमेटभित्र फोहोर छ वा धेरै टाइट छ भने यसले कपालमा असर गर्छ । तर, हेलमेट कपाल झर्ने एकमात्र कारण होइन । नियमित रूपमा कपालको सफाइ र हेलमेटको भित्री भागको सफाइले कपाललाई नोक्सानबाट जोगाउन जोगाउने डा.पौडेल बताउँछन् । ‘कपाल झर्नुको पछाडि हार्मोनल परिवर्तन, आनुवंशिकता र जीवनशैली पनि कारण हुन सक्छन्’ डा.पौडेल भन्छन्, ‘हालसम्म यस्तो कुनै ठोस प्रमाण छैन कि हेलमेटल लगाउनु मात्रै स्थायी रूपमा कपाल झर्ने कारण बन्छ।’
हेलमेटले सिधै कपाल झर्ने भन्ने हुँदैन, तर यसले अप्रत्यक्ष रूपमा कपाल झार्न भूमिका खेल्न सक्ने वरिष्ठ प्लास्टिक कस्मेटिक तथा लेजर सर्जन डा. सुयोग मैनालीको भनाइ छ।
‘यसको भित्री कपडा वा लाइनिङले टाउकोमा प्रत्यक्ष–अप्रत्यक्ष असर गर्छ’ डा.मैनाली भन्छन्, ‘यदि हेलमेट धेरै टाइट छ भने, यसले कपाल तान्ने समस्या हुन सक्छ । जसले कपालको जरामा असर गर्छ र कपाल टुट्न सक्छ ।’
डा. विकाका अनुसार लामो समयसम्म टाइट हेलमेट लगाउँदा, जस्तै फ्याक्ट्रीमा काम गर्ने वा हेलमेट लगाएर लामो दूरीको सवारी चलाउनेहरूमा गर्नेहरूमा कपाल तान्निएर झर्ने ‘ट्र्याक्शन एलोपिसिया’को समस्या हुन सक्छ । यसबाहेक, हेलमेटको धातुहरूको भाग वा पट्टीहरूले प्रेसर दिन्छ, जसले कपाल पातलो हुने वा झर्ने समस्या निम्त्याउछ । अर्को अप्रत्यक्ष कारण भनेको पसिना र फोहोरबाट हुने फंगल संक्रमण हो, जसले टाउकोको छालालाई प्रभावित गर्छ र कपाललाई ड्यामेज गर्छ । तर, यो असर अस्थायी हुन्छ र ठिकसँग हेरचाह गरेमा रोक्न सकिन्छ ।
युवाहरूमा कपाल झर्ने मुख्य कारण के ?
कम उमेरमै कपाल झर्नु असामान्य कुरा नभएको डा.विकास बताउँछन् । यसका पछाडि धेरै कारण हुन सक्छन् र ती कारणहरू पत्ता लगाउनु जरुरी हुन्छ । हार्मोनल कारक, अर्थात् हार्मोनमा हुने परिवर्तन, कपाल झर्ने प्रमुख कारण हो । महिलाहरूमा थाइराइड र पीसीओडीजस्ता कारणले कपाल झर्न सक्छ । पुरुषहरूमा भने वंशाणुगत कारक बढी प्रभावशाली हुन्छ । त्यसबाहेक, रोग, भिटामिनको कमी, आइरनको कमी र धूम्रपान गर्ने बानीले पनि कपाल झर्ने प्रक्रियालाई तीव्र बनाउन सक्छ ।
धेरै मानिसहरू हेलमेटलाई नै कपाल झर्ने कारण ठान्छन्, तर यो अप्रत्यक्ष कारण मात्रै भएको डा.मैनालीको पनि तर्क छ । युवाहरूमा मुख्य कारणहरू हार्मोनल, आनुवंशिक वा जीवनशैलीसँग जोडिएका हुन्छन्, जसलाई हेलमेटले मात्र प्रभावित गर्दैन’ डा. मैनाली भन्छन्, ‘यदि हेलमेटबाट कपाल टुक्रने वा प्रेसर भएको छ भने, यो युवाहरूमा बढी देखिन सक्छ, किनकि उनीहरू बढी बाइक चलाउँछन् वा फिल्ड वर्क गर्छन् ।’
हेलमेट लगाउँदा टाउकाको छालामा जलन हुन्छ ?
धेरै टाइट हेलमेट लगाउँदा कपालको जरा कमजोर हुन सक्छ । राम्रोसँग फिट नहुने हेलमेट लगाउँदा चिलाउने, पसिना जम्ने र टाउकोको छालामा फंगल संक्रमण हुन सक्छ । यदि हेलमेट सही साइजको छैन र त्यसको भित्री भागको सफाइ राम्रोसँग गरिएको छैन भने यो समस्या झन् बढ्न सक्ने डा. मैनाली बताउँछन् । ‘हेलमेट लगाउँदा कपाल लगातार तानिन्छ । त्यसबाहेक, हेलमेटको किनारासँग रगडिँदा कपाल टुट्न पनि सक्छ’ मैनालीले स्पष्ट पारे ।
डा. पौडेलका अनुसार टाइट हेलमेटले समस्या पैदा गर्छ, जसले कपालको बाहिरी भागमा असर गर्छ र कपाल फाटिने वा टुट्ने हुन्छ । प्रेसर स्ट्रेसले कपाल पातलो हुने समस्या निम्त्याउँछ । लामो समय हेलमेट लगाउँदा, जस्तै फ्याक्ट्रीमा काम गर्नेहरूमा, यो समस्या बढी देखिन्छ ।
हेलमेटमुनि जम्मा भएको पसिनाले चाया पर्छ ?
हेलमेटले टाउकोको छालामा हल्का तातो वातावरण बनाउँछ । त्यहाँ पसिना जम्मा हुन्छ र फंगस वा ब्याक्टेरिया फैलिन थाल्छन् । यी फंगसले टाउकोको छालालाई संक्रमित गर्न सक्छन्, जसले चिलाउने र चायाको समस्या निम्त्याउने डा.मैनालीले जानकारी दिए।
आफ्नो कपाललाई सधैं सफा राख्नु र हावादार हेलमेट राम्रोसँग लगाउनु जरुरी रहेको डा.विकास बताउँछन् । हेलमेटको सफाइ अत्यन्तै जरुरी छ र यस्तो गर्नाले धेरै समस्याबाट बच्न सकिन्छ ।
हेलमेट लगाउनेहरूले कपालको हेरचाह कसरी गर्ने ?
हेलमेटबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष असर रोक्न सही साइजको हेलमेट छनोट गर्नुपर्न चिकित्सकहरूको सुझाव छ । डा. पौडेल भन्छन्, ‘धेरै टाइट वा लुज नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । टाइटले कपाल तान्छ , लुजले सुरक्षा कम गर्छ ।’
हेलमेटको भित्री भाग सफा लाइनर, कपडा र पट्टीहरू नियमित सफा गर्नुपर्छ । हेलमेट सफा गर्ने ठाउँहरूमै गएर सफा गर्न सकिन्छ वा आफैं हल्का सफा गर्न सकिन्छ ।
हेलमेट लगाउँदा त्यसभित्र रुमाल वा स्कार्फ बाँध्न डा. मैनालीको सुझाव छ । उनका अनुसार पतलो सिल्क वा कपडाको टोपी लगाउनुपर्छ, जसलाई नियमित धुन सकिन्छ । लामो समय हेलमेट लगाइरहनु भन्दा बीचमा ब्रेक लिएर कपालमा हावा प्रवाह हुने दिनुपर्ने वा हावा प्रवाह हुने हेलमेट छनोट गर्नु राम्रो हुने डा.मैनाली बताउँछन् ।
कपाल झरेर हैरान हुनुहुन्छ, के गर्ने ?
यदि हेलमेटबाट प्रेसर वा संक्रमण भएको छ भने, यसलाई ध्यान दिए समस्या समाधान हुने डा.पौडेल बताउँछन् । असर अस्थायी हुन्छ, तर यदि लामो समयदेखि छ भने चिकित्सकको सल्लाह लिनुपर्छ ।
दुवै विशेषज्ञहरूका अनुसार, हेलमेट लगाउँदा कपाल झर्छ कि झर्दैन भन्ने प्रश्न जति सामान्य छ, त्यति नै भ्रमले भरिएको पनि छ । वैज्ञानिक दृष्टिकोणले, हेलमेट कपाल झर्ने प्रत्यक्ष कारण होइन । फोहोर, पसिना, फंगस र घर्षणले कपालको स्वास्थ्यलाई असर गर्न सक्छ, त्यसैले हेलमेटलाई सही तरिकाले लगाउनु जरुरी छ ।
हेलमेट लगाउँदा घर्षण, दबाब र पसिनाले कपाल झर्छ । यस्तो अवस्थामा यदि टाउकोको छालाको राम्रो हेरचाह गरियो र त्यहाँको ग्रन्थीहरूलाई नोक्सान पुर्याइएन भने कपाल फेरि उम्रिन सक्छ । यदि कपाल लामो समयदेखि झरिरहेको छ भने डाक्टरसँग जाँच गराउन डा.मैनालीको सुझाव छ ।
प्रतिक्रिया 4