+
+

नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १६:५७

काठमाडौं । आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ ।

कला दिवसको अवसर पारेर एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालले पहिलो पटक उक्त महोत्सव आयोजना गर्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ । ‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने आशयसहित कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईले महोत्सवको लोगो सार्वजनिक गरेका छन् ।

आठ वर्षीय कलाकार प्रसनले नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’मा शीर्ष भूमिका निर्वाह गरेका छन् । विशेषगरी तीनदेखि १८ वर्ष उमेर समूह, अभिभावक र शिक्षकलाई लक्षित गर्दै १० दिने महोत्सव आयोजना गर्न लागिएको जनाइएको छ ।

महोत्सवमा राष्ट्रिय–अन्तर्राष्ट्रिय बाल चलचित्र प्रदर्शन, १८ वर्षमुनिका फिल्ममेकरबीच फिल्मको प्रतिस्पर्धा तथा कार्यशाला, बाल चलचित्र र यसको सामाजिक प्रभावबारे छलफल, जुरीको रुपमा बालबालिकाको समावेश र सहभागिताजस्ता कार्यक्रम तय गरिएका छन् ।

बालबालिकाको सहभागितामार्फत फिल्मको भाष्य पनि बलियो बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक एलाइन्स फर चिल्ड्रेन फिल्म नेपालले जनाएको छ । आयोजक संस्थाले निकट भविष्यमै ‘स्कुल टु स्कुल फिल्म फेस्टिभल’, स्कुलमा सिनेमा क्लब निर्माण तथा सञ्चालन गर्ने पनि जनाइएको छ ।

संस्थाका अध्यक्ष तथा नाट्यकर्मी केदार श्रेष्ठले बालबालिकाको सिकाइको प्रक्रियामा चलचित्र माध्यमलाई समावेश गराउने तथा चलचित्र साक्षरताको विकास गर्ने उद्देश्य रहेको बताए । श्रेष्ठकै संयोजकत्वमा यसैवर्ष तेस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सव समेत आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?