+
+

नबिलमा रेग्मीको यात्रा : ३७ वर्षअघि सहायक बनेर छिरे, डेपुटी सीईओबाट बाहिरिए

विजय पराजुली विजय पराजुली
२०८१ वैशाख ४ गते २१:०८

४ वैशाख, काठमाडौं । कुनै निजी संस्थामा एउटा मान्छेले कति समय जागिर खान्छ ? यो संस्था र जागिर खाने व्यक्तिमा भर पर्ने कुरा हो । यस मानेमा विनय रेग्मी एक विरलै पात्र हुन् ।

नेपालमा निजी क्षेत्रबाट स्थापना भएका पहिलो वाणिज्य बैंक नबिल (तत्कालीन नेपाल अरब बैंक) मा रेग्मीले आधा जिन्दगी सेवा गरेर बिताए ।

नबिलमा निरन्तर ३७ वर्ष काम गरेका उनी सहायक स्तरको पदबाट प्रवेश गरेका थिए । उनले जीवनमा बैंकिङ करियर बनाउँछु भनेर सोचेका पनि थिएनन् । तर, भइदियो त्यस्तै । नसोचेको पेसामा उनी होमिए ।

सहायक स्तरबाट नबिल छिरेका रेग्मीले मंगलबार सहकर्मीलाई बिदाइको हात हल्लाउँदा बैठक हलको वातावरणमा सन्नाटा थियो । बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) बाट रेग्मी बिदाइ भइरहँदा सहकर्मीले भोलिबाट सायद के नपुगेको के नपुगेको जस्तो महसुुस गर्नेछन् । नबिल स्थापना भएको ४० वर्ष भयो ।

पढाइ सकेपछि रोजगारी खोज्दै जाँदा रेग्मी नबिल पुगेका थिए । त्यहीँबाट उनको बैंकिङप्रतिको चासो र उत्साह बढ्न पुग्यो । उनले त्यतिबेला बैंकको रोजगारी ‘ग्ल्यामरस’ भएकाले अन्ततिर जागिर खोज्ने प्रयास पनि गरेनन् ।

काठमाडौंमा जन्मिएका रेग्मीले बुबाको सरकारी जागिरको सिलसिलामा विराटनगर बस्नुपर्दा स्कुलको पढाइ उतै सकेका थिए । उच्च शिक्षा काठमाडौंको नेपाल कमर्स क्याम्पसबाट सके ।

मासिक १ हजार २ सय रुपैयाँ तलबबाट नबिल छिरेका उनले उच्च व्यवस्थापकीय भूमिकामा पुगेर अवकास लिए ।

पछिल्लो समय क्यूआर भुक्तानीमा नेतृत्व लिएको र त्यसमा राष्ट्र बैंकले नेतृत्व लिएर प्रवर्द्धन समेत गर्‍यो । अहिले हरेक नागरिकका लागि क्यूआर अनिवार्य जस्तै भएको छ । त्यसको नेतृत्व लिन पाएकोमा धेरै नै आत्मसन्तुष्टि मिलेको उनी बताउँछन् ।

डिजिटल लोन व्यवस्था सुरु गर्दाको नेतृत्व र २०११ बाट नै बैंकले अनलाइनबाट नै खाता खोल्न सक्ने व्यवस्था सुरुवात गर्दाको नेतृत्व उनी कहिल्यै नभुल्ने बताउँछन् ।

सन् १९८४ मा अरब बैंकसँगको संयुक्त लगानीमा नेपाल अरब बैंक स्थापना भएको थियो । सोही बैंक नै नाम परिवर्तन गरी नबिल बनेको हो ।

साढे तीन दशकमा नबिलले धेरै उतारचढाव सामना गर्‍यो । त्यसको बलियो साक्षी हुन् रेग्मी । ‘एउटै संस्थामा निरन्तर लामो समय कसरी काम गर्ने ?’ यो प्रश्न उनलाई धेरैले सोध्ने गरेका थिए । यसबीचमा रेग्मीले १३ जना सीईओसँग काम गरे ।

‘बैंकको कम्युटराइज सुरुवाती चरणदेखि अहिलेको डिजिटलाइजेसनसम्म नबिलसँगै केही हदससम्म बैंकिङ इन्डस्ट्रीमा ट्रान्सफर्म गर्न निरन्तर काम गर्न पाएँ,’ रेग्मी भन्छन्, ‘त्यसमा योगदान दिन पाएकोमा सन्तुष्ट छु ।’

साढे तीन दशक एउटै संस्थामा काम गर्ने ऊर्जा हासिल हुनुमा चार कारण रहेको उनी सुनाउँछन् । जोसुकैको चाहना आफूले काम गर्ने इन्डस्ट्रीको राम्रो कम्पनीमा कम गर्ने चाहना हुन्छ । आफूले सुरुमा नै नेपालको बैंकिङको उत्कृष्ट ब्रान्डमा आबद्ध हुने मौका पाएको उनी बताउँछन् ।

आजको दिनमा पनि नबिल प्रिमियम ब्रान्डका रूपमा रहेको र त्यसले नै ३७ वर्षसम्म अनवरत काम गर्ने ऊर्जा मिलेको उनका अनुभव छ ।

यस्तै रोजगारीमा प्राप्त हुने सन्तुष्टि अर्को कारण रहेको उनी बताउँछन् । आफूले चाहेको योजना र कार्यक्रम कार्यान्वनय गर्न पाउँदा रोजगारीमा सन्तुष्टि प्राप्त हुने र त्यस्तो वातावरण नबिलमा भएर नै साढे तीन दशक काम गर्न सकेको उनको भनाइ छ ।

‘बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा आएका नयाँ प्रविधि भित्र्याउने पहिलो बैंक नबिल हुनुपर्छ भन्ने लक्ष्य थियो,’ रेग्मी भन्छन्, ‘उक्त योजना व्यवस्थापन र बोर्डमा लैजाँदा त्यसमा स्वीकृत हुने गरेको छ । त्यो कार्यान्वयन गर्न पाउँदा खुसी लाग्छ ।’

‘करियर ग्रोथ’ ले पनि संस्थामा काम गर्दा सन्तुष्टि प्राप्त हुने उनको अनुभव छ । सहायकबाट सेवा प्रवेश गरेका उनको हरेक पटक स्वस्फुर्त बढुवा हुँदै गयो । जसले उनलाई नबिलमा नै निरन्तर काम गर्ने ऊर्जा दियो । पारिश्रमिकमा पनि नबिल राम्रो रहेकाले अन्त जान उनलाई रहर लागेन ।

रेग्मीले यसबीच अधिकांश समय बैंकको डिजिटलाइजेसनमा काम गरे । प्रविधि सस्तो र सहज नहुने भएकाले व्यवस्थापन र बोर्डलाई आश्वस्त पार्दै लगानी गर्ने चुनौती हुन्थ्यो । स्वीकृत गराएर मात्रै नहुने र त्यसलाई कार्यान्वयन गर्नु बैंकिङमा ठूलो चुनौती थियो । प्रविधिमा लगानी गरेपछि ग्राहकलाई अभ्यस्त बनाएर प्रयोग गर्न बानी पार्नु अर्को चुनौती रहेको उनी अनुभव साट्छन् । ‘इनोभेसनमा काम गर्नु चुनौतीपूर्ण हुन्छ,’ उनी भन्छन् ।

कम्युटराइज बैंकिङबाट आधुनिक बैंकिङमा उनले नबिलसँगै नेपालको बैंकिङ क्षेत्रलाई मात्रै डोहोर्‍याउन्नन् । प्रविधिसँगै आफू पनि त्यसमा ‘अपप्रेड’ हुँदै गए । जसले उनलाई ठूलो चुनौती सामना गर्नुपरेन । अन्तर्राष्ट्रिय परिवेशमा बैंकिङमा कस्तो इनोभेसन भइरहेको छ भनेर निरन्तर अध्ययनसँगै सूचना प्रविधिमा काम गर्नेसँग समेत समन्वयमा आफूले पहिलो ज्ञान हासिल गर्न सक्नुपर्ने उनको अनुभव छ ।

‘त्यसपछि मात्रै बैंकलाई उपयोगी हुने र हाम्रो बजारमा नियमित लगानी गर्दा त्यसबाट लाभ हुन्छ भनेर सहमत भएपछि मात्रै अगाडि बढाउँदा त्यसमा सफल भइन्छ,’ रेग्मी भन्छन् ।

३७ वर्षे करियरमा उनले सुरुवातका सीईओ जेएस श्रीवास्तवदेखि वर्तमान सीईओ ज्ञानेन्द्र ढुंगानासमेत १३ जनासँग काम गरे ।

‘करियर सुरु गर्दा बैंकमा पैसा राख्न र झिक्न आफैं जानुपर्ने, चेक काट्नुपर्ने, समय लाग्ने अवस्था थियो,’ रेग्मी सुनाउँछन्, ‘अहिले मोबाइल मार्फत हातहातमा बैंकिङ पुगेको छ । त्यो प्रविधिले नै सम्भव भएको हो । त्यमसा योगदान दिन पाएकोमा खुसी लाग्छ ।’

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?