+
+

‘पहाड’ बाट कमब्याक गर्दै तुलसी घिमिरे, शीर्ष भूमिकामा विपिन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १२:५१
फिल्म निर्देशक तुलसी घिमिरे । फाइल तस्वीर

काठमाडौं । अग्रज निर्देशक तुलसी घिमिरेको पछिल्लो फिल्म ‘दर्पणछाया २’ बक्स अफिसमा कमजोर रह्यो । त्यसयता ६ वर्षको ‘ग्याप’ भइसक्यो, घिमिरे निर्देशनमा फर्किएका छैनन् ।

तर उनको सम्भावित पुनरागमनलाई लिएर नयाँ खबर छ । घिमिरेले लगातार केही फिल्म बनाउने तयारी गरिरहेका छन् र सम्भवतः आगामी दशैंबाट उनको पहिलो प्रोजेक्ट ‘पहाड’को छायांकन सुरु हुनेछ ।

यो फिल्मको शीर्ष भूमिकामा विपिन कार्की निश्चित भएका छन् । विपिनले साइन गर्न मात्र बाँकी छ । यो फिल्मका लागि महजोडीलाई पनि प्रस्ताव गरिएको खबर छ । अनलाइनखबरसँग कुरा गर्दै अभिनेता हरिवंश आचार्यले प्रस्ताव आएको तर साइन भइनसकेको बताए ।

विपिनले पनि आफू फिल्मसँग जोडिएको र साइन गर्न बाँकी रहेको बताए । ‘पुरानो पुस्ताको मेकरसँग काम गर्ने इच्छा थियो, त्यो इच्छा तुलसी सरको फिल्मबाट पूरा हुनेछ,’ नयाँ फिल्म ‘तेलभिसा’का लागि अमेरिका उड्ने तयारीमा रहेका विपिनले भने ।

दशैंपछि छायांकन सुरु हुने फिल्म ‘पहाड’मा विपिनले भारत कालिम्पोङको एक पात्रको भूमिका गर्दैछन् । निर्देशक घिमिरे पनि यतिबेला फिल्मको तयारीकै लागि कालिम्पोङतिर छन् । यो फिल्मबाट नयाँ अभिनेत्रीलाई ब्रेक दिने उनको तयारी छ ।

फिल्मले दिनानुदिन रित्तिंदै गइरहेका पहाडको कथा भन्नेछ । फिल्मको लेखन पनि घिमिरे स्वयंले गरिरहेका छन् । कलाकारको लाइनअप पूरा भएपछि फिल्मको औपचारिक घोषणा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?