+
+

ईडीले गर्‍यो शिल्पा सेट्टी र राज कुन्द्राको ९८ करोड भारुको सम्पत्ति जफत

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १६:५५
फाइल तस्वीर

काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति एवं व्यवसायी राज कुन्द्राविरुद्ध कारवाही गरेको छ ।

ईडीले बिहीबार शिल्पा दम्पतीको ९८ करोड भारु मूल्य पर्ने सम्पत्ति जफत गरेको छ । ६ हजार ६०० करोड भारुको बिटक्वाइन पोन्जी घोटालाको मामलामा यो कारवाही गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जफत गरिएको सम्पत्तिमा पुनेको बंगला र इक्विटी सेयर पनि समावेश छ । यो मुद्दामा आरोपितलाई बिटक्वाइनको प्रयोगमार्फत लगानीकर्तालाई पैसा ठगी गरेको भनिएको छ ।

ईडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जफत सम्पत्तिमध्ये शिल्पा शेट्टीको नाममा रहेको मुम्बईको जुहूस्थित फ्ल्याट र राज कुन्द्राको नाममा पुनेमा रहेको बंगला पनि छ । यसबाहेक जफत गरिएको सम्पत्तिमा इक्विटी सेयर पनि समावेश छ ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘करिब ९७.७९ करोड भारुको  सम्पत्ति जफत गर्न मनी लाउन्ड्रिङ ऐन (पीएमएलए) को प्रावधान अन्तर्गत एक अस्थायी संलग्न आदेश जारी गरिएको छ ।’

प्रतिमहिना १० प्रतिशत फिर्ता दिने झुटो आश्वासन दिएर बिटक्वाइनका नाममा सर्वसाधारणबाट ठूलो रकम असुलेको आरोप शिल्पा दम्पतीमाथि छ ।

प्रवर्द्धकले लगानीकर्तालाई धोका दिएर अनलाइन वालेटमा अवैध रूपमा प्राप्त बिटक्वाइन लुकाउँदै आएको ईडीको आरोप छ ।

शिल्पा शेट्टी बलिउडकी चर्चित अभिनेत्री हुन् । उनका पति राज कुन्द्रा पनि फिल्मी दुनियाँमा प्रवेश गरेका छन् । राज कुन्द्राले गत वर्ष फिल्म ‘युटी सिक्स्टी नाइन’बाट बलिउडमा डेब्यु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?