+
+

होटल अनुगमनमा अव्यावहारिक व्याख्या भएको व्यवसायीको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १७:२७

६ वैशाख, काठमाडौं । बजार अनुगमनका नाममा होटलको हकमा अव्यावहारिक व्याख्या गरिएको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

बिहीबार होटल संघ नेपाल (हान) को टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरी यस्तो गुनासो गरेको हो ।

हानका अध्यक्ष विनायक शाहको नेतृत्वमा टोलीले मन्त्री भण्डारी समक्ष वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटलमा अनुगमन गर्दा गलत व्याख्या गरेको गुनासो गरेको हो ।

ज्ञापनपत्रमा राज्यको नियम ऐन कानुनको पूर्ण पालना गर्दै सञ्चालित होटलहरूमा अनुगमनको नाममा अव्यावहारिक व्याख्या गरी कारबाही तथा जरिबाना भएको तथा तारे होटलहरूमा अखाद्य वस्तु रहेको जस्ता नकारात्मक समाचार बारम्बार आइरहँदा गलत सन्देश गएको उल्लेख छ । यसले नेपालको पर्यटन प्रवर्द्धनमा समेत असर पुग्ने व्यवसायीको तर्क छ ।

सरकारबाट हुने निरीक्षण अनुगमन प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको समन्वयमा हुनुपर्ने समेत उनीहरूको माग छ ।

अन्तर्राष्ट्रिय चेन तथा ब्रान्डलगायत होटलको सञ्चालन व्यवस्थित प्रक्रियाबाट हुने भएकाले म्याद गुज्रिएका सामान उपभोक्ताले उपभोग गर्ने खानामा प्रयोग नभई यस्ता सामान आपूर्तिकर्ता कम्पनीलाई सोझै फिर्ता पठाइ सोधभर्ना हुने गरेको ज्ञापनपत्रमा उल्लेख छ ।

अदालतमा समेत मुद्दा परी विचाराधीन रहेको विषयमा सरकारी क्रियाकलापहरू प्रचारमुखी नभई संयमित ढंगबाट हुनका लागि समेत अनुरोध गर्दै यस्ता कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल अखाद्य वस्तुको भण्डार भनी नकारात्मक प्रचारप्रसार भइरहेको व्यवसायीले गुनासो गरेका छन् ।

यसबाट नेपाल आउने विदेशी पर्यटकहरूबाट बुकिङ रद्द समेत हुन सक्ने हुँदा आगामी दिनमा यस विषयमा समन्वय र सहकार्यको व्यवस्थाका लागि मन्त्रीसमक्ष हानले अनुरोध गरेको छ ।

नजिकिँदै गरेको लगानी सम्मेलनलाई समेत असर गर्ने गरी नेपालको पर्यटन विकास र व्यवस्थालाई समेत चुनौती हुने भई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रभाव पर्ने खालको यस्ता प्रचारमुखी क्रियाकलापहरु नदोहोरिनका लागि पनि अध्यक्ष शाहले अपिल गरे । भेटमा हानका जायज माग सम्बोधन गरिने मन्त्री मन्त्री भण्डारीले आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?