+
+

इटहरीमा उपमहानगरपालिकाको ड्रेस कोड लागू नगर्न निजी विद्यालयको सर्कुलर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १४:२५

९ वैशाख, विराटनगर । सबै विद्यालयका विद्यार्थीको पोशाक एकैथरी बनाउने इटहरी उपमहानगरपालिकाको निर्णय निजी विद्यालयले अवज्ञा गरेका छन् ।

उपमहानगर कार्यपालिकाका बहुमत सदस्य, राजनीतिक दल र प्रवुद्ध वर्गको साथ सहयोग रहेको भन्दै निजी विद्यालयको प्रतिनिधिमूलक संगठनहरुले विद्यालयको पोशाकसम्बन्धी निर्णय कार्यान्वयन नगर्न निजी विद्यालयहरुलाई आग्रह गरेका छन् ।

इटहरी उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि सरकारी र निजी सबै शिक्षण संस्थाका विद्यार्थीको पोशाक एउटै बनाउने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध निजी विद्यालयले उच्च अदतलत विराटनगरमा रिट पनि दायर गरेका थिए । तर, अदालतले निजी विद्यायको माग अनुसार अन्तरिम आदेश जारी गरेन ।

त्यसपछि उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि ड्रेसकोड लागू गर्न सर्कुलर जारी गरेको थियो । तर निजी विद्यालय सञ्चालकहरुको प्रतिनिधिमूलक संगठन प्याब्सन, एन–प्याब्सन, हिसान र मन्टेश्वरी एसोसिएसनले उपमेयरसहित बहुमत कार्यपालिका सदस्य र राजनीतिक दलको साथ रहेको भन्दै पोशाकको निर्णय कार्यान्वयन नगर्न सबै निजी विद्यालहरुलाई आग्रह गरेका हुन् ।

ती संगठनहरुले संयुक्त रुपमा निजी विद्यालयहरुमा पठाएको पत्रमा पुरानै पोशाक कार्यान्वयनमा ल्याउन भनिएको छ । ७ वैशाखमा निर्देशन जारी गरेका संगठनहरुले उपमहानगरपालिकाले कुनै विद्यालयलाई कारवाही गरे त्यसो जिम्मेवारी संगठनहरुले लिने उल्लेख गरेका छन् ।

निजी विद्यालय सञ्चालकहरुले उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क संरचना पनि अस्वीकार गरेका छन् । निजी विद्यालयमा पठाएको पत्रमा शिक्षालयहरुबाट प्रस्तावित २०८१ को शुल्क संरचना अनुसार नै शुल्क लिन पनि भनिएको छ ।

उपमहानगरपालिकाले नयाँ शैक्षिकसत्रबाट छात्रका लागि टाईको सट्टा भादगाउँले टोपी अनिवार्य गरेको छ । ड्रेसमा गाढा नीलो पाइन्ट, कोट र आकासे निलो रङको सर्ट लगाउन सर्कुलर जारी गरेको थियो । छात्राहरूका लागि भने गाढा नीलो रङको फ्रक, जाडो महिनामा नीलो रङको ज्याकेट र नीलो स्वीटर लगाउन भनेको थियो ।

हेर्नुहोस् पत्र:

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?