+
+

जेक फ्रेजर : अष्ट्रेलियाका नयाँ म्याक्सवेल, वार्नरको प्रतिस्थापन

अष्ट्रेलियाका २२ वर्षका ब्याटर जेक फ्रेजरलाई नयाँ ग्लेन म्याक्सवेल पनि भन्ने गरिन्छ । उनी आफ्नो एकल प्रदर्शनमा खेललाई जिताउन सक्ने खुबी राख्छन् । टेस्ट र ओडीआई दुबैबाट सन्न्यास लिएका डेभिड वार्नर टी–२० विश्वकपपछि अष्ट्रेलियाको जर्सीमा नदेखिने पक्का छ । वार्नरको प्रतिस्थापनमा फ्रेजर तयार छन् ।

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८१ वैशाख ९ गते १५:४४

९ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सका २२ वर्षीय युवा ब्याटर अष्ट्रेलियन जेक फ्रेजर म्याकगर्कले शनिबार राति सनराइजर्स हैदराबादविरुद्धको खेलमा बिस्फोटक ब्याटिङ गर्दै धेरैको ध्यान ताने ।

तेस्रो ओभरमा स्पिनर वासिन्टन सुन्दरलाई उनले ३ चौका र ३ छक्कासहित कुल ३० रन जोडे । सातौं ओभरको तेस्रो, चौथो र पाँचौं बलमा लेग स्पिनर मयंक मारकण्डेलाई लगातार तीन छक्का हानेका थिए ।

अन्तिम अफसाइडको बल लङअफमा ठूलो सट खेल्न खोजेका उनी टप एजमा लागेर विकेटकिपर हेनरिक क्लासेनबाट क्याच आउट भए ।

फ्रेजर १८ बलमा ५ चौका र ७ छक्कासहित ६५ रनमा आउट हुँदा २६७ रनको लक्ष्य पछ्याएको दिल्ली ७ ओभरमा १०९–३ को अवस्थामा थियो । उनी १५ बलमै अर्धशतक पूरा गरेर दिल्लीका सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडी बने ।

यसअघि दिल्लीका क्रिस मोरिसले सन् २०१६ मा गुजरात लायन्सविरुद्ध १७ बलमा अर्धशतक बनाएका थिए । आईपीएल इतिहासमै सर्वाधिक छिटो अर्धशतक भने राजस्थान रोयल्सका यशस्वी जैसवालले २०२३ मा १३ बलमा कोलकाताविरुद्ध हानेका थिए ।

फ्रेजर आउट भएपछि दिल्लीले रनको बेगलाई निरन्तरता दिन नसक्दा ६७ रनले पराजित भयो । तर उनी क्रिजमा हुँदासम्म दिल्लीको जितको आशा कायम थियो । निडर स्वभाव, अद्भूत क्षमता, पूर्ण विश्वास र ठूला सट प्रहार गर्न माहिर उनका विशेषता हुन् । विशाल योगफलमा पनि हार नमानी जित्नलाई खेल्नु अर्को सकारात्मक पक्ष थियो ।

अष्ट्रेलियाका पूर्वकप्तान तथा दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले उनको घरेलु र अष्ट्रेलिया जर्सीमा क्षमता देखेका थिए । त्यसैले तीव्र गतिका बलर लुंगी एनगिडी घाइते भएपछि उनको स्थानमा फ्रेजरलाई ८० लाख रुपैयाँमा अनुबन्ध गरे ।

आईपीएलमा उनले सुरुवाती समयमा खेल्न पाएनन् । तर दिल्लीको कमजोर प्रदर्शन र अष्ट्रेलियाका अनुभवी ब्याटर मिचेल मार्स घाइते भएपछि प्लेइङ–११ मा मौका पाए ।

डेब्यू खेलमै लखनऊविरुद्ध ३५ बलमा २ चौका र ५ छक्कासहित ५५ रन जोड्दै टोलीलाई ६ विकेटको जित दिलाएका थिए । उनी गुजरात टाइटन्सविरुद्ध २० रनमा आउट भएका थिए । तीन खेलमै उनले आफ्नो क्षमता देखाउन सफल भए ।

गत फेब्रुअरीमा मात्रै फ्रेजरले वेस्टइन्डिजविरुद्ध ओडीआईमा सिड्नीमा डेब्यू गरेका थिए । त्यतिबेला तीव्र गतिका बलर अल्जारी जोसेफलाई तेस्रो बलमा चौका, चौथो बलमा छक्का प्रहार गरे र पाँचौं बलमा आउट भएका थिए ।

वेस्टइन्डिजविरुद्ध अर्को खेलमा उनले १८ बलमा ५ चौका र ३ छक्कासहित ४१ रनको इनिङ खेलेका थिए । अष्ट्रेलियाले ८७ रनको लक्ष्य ६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको थियो ।

उनलाई नयाँ ग्लेन म्याक्सवेल पनि भन्ने गरिन्छ । उनी म्याक्सवेल जस्तै अद्भूत क्षमता भएका युवा क्रिकेटर हुन् । आफ्नो एकल प्रदर्शनमा खेललाई जिताउन सक्ने खुबी राख्छन् । उमेर कलिलो भएपनि मैदानमा परिपक्व प्रदर्शन गर्दै आएका छन् ।

२९ बलमै शतक र विश्व कीर्तिमान

फ्रेजर अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा सर्वाधिक छिटो २९ बलमै शतक प्रहार गर्ने खेलाडी हुन् । उनले गत अक्टोबरमा द मार्स कपमा साउथ अष्ट्रेलियाबाट तास्मानियाविरुद्ध मात्रै २९ बलमा शतक हानेका थिए ।

जुन लिष्ट ए मात्रै नभएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा सर्वाधिक छिटो शतक थियो । यो भन्दा कम बलमा टी–१० मा मात्रै शतक बनेको छ । हालसम्म टी–१० लाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन ।

फ्रेजर अघि ५० ओभरको खेलमा दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले सन् २०१५ मा वेस्टइन्डिजविरुद्ध सर्वाधिक छिटो ३१ बलमा शतक हानेका थिए ।

लिष्ट ए मात्रै होइन उनले टी–२० क्रिकेटमा आईपीएल २०१३ मा क्रिस गेलले बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमा शतक प्रहार गरेको कीर्तिमानलाई समेत पछि पार्दै दुर्लभ कीर्तिमान बनाए । विष्फोटक ब्याटिङका दुई महारथी गेल र एवी डिभिलियर्सलाई पछि पारेका उनलाई भविष्यका सुपरस्टार पनि भनिन्छ ।

यू–१९ विश्वकपमा बाँदरको शिकार

सन् २०२० मा दक्षिण अफ्रिकामा यू–१९ विश्वकप खेल्नुअघि नै उनको चर्चा थियो । किनभने भिक्टोरियाबाट २०१९ मा लिष्ट ए र प्रथम श्रेणीको घरेलु क्रिकेटमा उनले उत्कृष्ट प्रभाव छाडिसकेका थिए ।

अष्ट्रेलिया समूह बी बाट क्वार्टरफाइनलमा पुगेपछि किमबर्लीमा रहेको पार्कमा साथीसँगै घुम्न जादा बाँदरले फ्रेजरको अनुहारमा कोपरेको थियो । घाइते हुनुका बाबजुद उनले क्वार्टरफाइनलमा भारतसँग खेलेका थिए ।

भारतसँग हारपछि परिवार र चिकित्सकको सल्लाहमा थप उपचार गर्न स्वदेश फर्किएपछि उनले प्लेअफका खेलहरु गुमाएका थिए । यू–१९ विश्वकपमा आफ्नो पहिलो खेलमा वेस्टइन्डिजविरुद्ध ८४ रन जोडेका उनले ४ खेलमा ११८ रन बनाएका थिए ।

बिग ब्यास लिग २०२३/२४ मा उनले मेलबर्न रेनेगर्ड्सबाट खेल्दै २५७ रन बनाएका थिए । उनको प्रतिभा देखेपछि ग्लेन म्याक्सवेलले अष्ट्रेलियाको युवा पुस्ताको सबैभन्दा प्रतिभाशाली क्रिकेटरको संज्ञा दिएका थिए ।

‘फ्रेजरलाई हेर्दा अष्ट्रेलियामा कोही पनि उनी भन्दा राम्रो छैन । उनी देशको सबैभन्दा प्रतिभाशाली युवा ब्याटर हुन् । उनको क्षमताको वास्तवमा कुनै छत छैन’, म्याक्सवेलले त्यो समय भनेका थिए ।

विश्वकपमा हेडको जोडी

आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप हुँदैछ । फ्रेजर गत अक्टोबरमा अष्ट्रेलियाको टी–२० टोलीमा परेपनि डेब्यूको अवसर पाएनन् ।

आईपीएलमा शानदार प्रदर्शनपछि टी–२० विश्वकपमा उनको स्थान मजबुत बनेको छ । त्यसैले उनलाई ट्रविस हेडको ओपनर जोडीको रुपमा समेत हेरिएको छ ।

अष्ट्रेलियाका नियमित ३७ वर्षीय ओपनर डेविड वार्नरको प्रदर्शन खस्किदो छ । त्यसैले फ्रेजर छनोटकर्ताको नजरमा हुनेछन् । हेडले भने विष्फोटक ब्याटिङ गर्दै विश्व क्रिकेटमै सनसनी मच्चाएका छन् ।

हैदराबादबाट दिल्लीविरुद्ध ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन तथा बेंगलोरविरुद्ध हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रनको शतकीय इनिङ खेलेका थिए ।

गत नोभेम्बरमा भारतलाई फाइनलमा हराउन उनले १३७ रनको शानदार शतकीय इनिङ खेलेका थिए । हेड बायाँ हाते र फ्रेजर दायाँ हाते ब्याटर हुँदा सन्तुलन पनि मिल्नेछ ।

टेस्ट र ओडीआई दुबैबाट सन्न्यास लिएका वार्नर टी–२० विश्वकपपछि अष्ट्रेलियाको जर्सीमा नदेखिने पक्का छ । वार्नरको प्रतिस्थापनमा फ्रेजर तयार छन् ।

जसले वार्नरको आक्रामक क्रिकेटलाई कुनै कमी हुन नदिने संकेत दिइसकेका छन् । त्यति मात्रै होइन अष्ट्रेलियाको विश्व राजलाई पनि निरन्तरता दिनेछन् ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?