+
+

नेपाल र चीनबीच हुने व्यापार मेला यस पटक नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १४:२५
तिब्बतबाट सामान आयात गरिँदै/फाइल तस्वीर

१४ वैशाख, काठमाडौं । नेपाल र चीनबीच हरेक दुई/दुई वर्षमा आयोजना हुने आर्थिक तथा व्यापार मेला यस पटक नेपालमा आयोजना हुने भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागबीच सन् १९९० मा सम्पन्न दुई देशका सरकारबीच प्रत्येक दुई वर्षमा आलोपालो यो मेला आयोजना गर्ने सहमति थियो ।

सोही सहमति अनुसार यसपटक नेपालमा मेला आयोजना गर्ने गरी तयारी गरिएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) ले जनाएको छ । १७ औं संस्करण यो मेला १७ देखि २१ वैशाखमा आयोजना हुने छ ।

केन्द्रका अनुसार नेपाल र चीनबीच दुई पक्षीय आर्थिक र व्यापारिक सम्बन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ ।

मेलामा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष लङ फुकुआन नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलसहित करिब १२० जना व्यापारी सहभागी हुने बताइएको छ ।

मेलामा चीनको तर्फबाट ५० स्टल रहने छन् । जहाँ परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायशी प्रयोगका साधन, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकलाका सामान, परम्परागत धुप, दुई पाँग्रे, तीन पाँग्रे र चार पाँग्रे विद्युतीय सवारी साधान, सौन्दर्य प्रशोधनका अतिरिक्त विभिन्न व्यापारिक कम्पनीहरूले समेत् भाग लिने छन् ।

यसैगरी नेपालको तर्फबाट १५ ओटा स्टल रहने छन् । नेपाली स्टलहरूमा जडीबुटी, सारयुक्त सुगन्धित तेल, कफी, चिया, हस्तकला/काष्ठकला, धातुकला, कार्पेट, पस्मिना लगायतका विभिन्न कम्पनीका उत्पादनहरू प्रदर्शित गरिने केन्द्रले जनाएको छ ।

मेलाको अवसरमा दुई पक्षबीच बीटूटी, बीटूजी, जीटूजी लगायत व्यावसायिक मिटिङहरू समेत आयोजना गरिने भएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्ने मेलामा निःशुल्क प्रवेश पाइने बताइएको छ ।

नेपाल र चीनबीच पहिलो व्यापार मेला २०४९/५० मा तिब्बतमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?