+
+

त्रिविमा छैटौं अन्तर्राष्ट्रिय अंग्रेजी भाषाविज्ञान सम्मेलन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १९:२०

१६ वैशाख, काठमाडौं। त्रिभुवन विश्वविद्यलाय, अंग्रेजी शिक्षा विभागले आयोजना गरेको छैटौं अन्तर्राष्ट्रिय अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन सम्पन्न भएको छ ।

‘अंग्रेजी भाषा शिक्षामा रुपान्तरण : नवीनता सहकार्य र उत्प्रेरणा’ शिर्षकमा आयोजना भएको सम्मेलनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता तथा प्राध्यापकहरुले विशेष प्रस्तुतीहरु राखेका थिए । ९० जनाले विषयवस्तुमा केन्द्रित रहेर सम्मेलन भएको सम्मेलन संयोजक तथा अंग्रेजी शिक्षा विभागका विभागीय प्रमुख प्रा.डा.गोपाल पाण्डेले जानकारी दिए ।

नेपालका शिक्षक तथा विद्यार्थीले विश्वका अरु देशका अनुसन्धानकर्ता, विश्वविद्यालयहरुले अनुसन्धान तथा शिक्षण सिकाइमा अभ्यास भइरहेको प्रविधिको प्रयोगबारे जान्ने अवसर पाउनुका साथै आफ्ना अनुसन्धान तथा निष्कर्षहरु सुनाउन÷देखाउन पाउने अवसर पाएका छन् ।

सम्मेलन नेपालका प्राध्यापक तथा शिक्षक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुलाई फलदायी भएको विभागीय प्रमुख पाण्डेको दाबी छ । ‘विदेशी अनुसन्धानकर्ताहरुले अध्यापन तथा अनुसन्धानमा प्रविधिको प्रयोग, उनीहरुको निष्कर्षले नेपालको हकमा स्थानीयकरण गर्न मद्धत पुग्त सक्छ ।’ पाण्डे भन्छन् ‘अर्को अध्यापकहरुले शिक्षण सिकाई अनुसन्धानको निष्कर्ष सेयर गर्ने अवसर हो । यो हाम्रा नयाँ प्रवेशी शिक्षकलाई उपयोगी कुरा हो ।’

सानोठिमी क्याम्पसका शिक्षक भुवनबहादुर बोहरा सम्मेलनबाट विश्वको शिक्षण सिकाइ बहसबारे साक्षात्कार गराएको बताए । ‘विश्वको शिक्षण सिकाईबारे बहस कता गइरहेको छ भन्ने प्रत्यक्ष थाह पाइन्छ ।’ उनी भन्छन् ‘अर्को हामी शिक्षकले हरेक विद्यार्थीलाई समान रुपमा बुझाउन कसरी प्रयास गर्न सकिन्छ भन्ने सिक्न सकिन्छ ।’ आफ्ना चुनौती, अनुभवलाई अरुको चुनौती, अनुभवलाई जोड्न सके समाधान गर्न सहयोगी हुने भएकोले सम्मेलन शिक्षण पेशामा रहेकालाई धेरै उपयोगी भएको उनको भनाइ छ ।

अनुसन्धानका निष्कर्ष प्रस्तुतीकरणका लागि नेपालभित्रबाट मात्रै १६० वटा आवेदन परेका मध्ये प्रस्तुतीका लागि ६० वटा मात्रै छनोट गरिएको थियो ।

सम्मेलनमा अधिकांशले शिक्षण सिकाई प्रभावकारी हुनको लागि शिक्षक योग्य हुनुपर्ने, पाठ्यक्रम, पाठ्यपुस्तक समय सुहाउँदो र उपयोगी हुनुपर्ने, कक्षामा शिक्षण सिकाई रोचक हुनुपर्ने र परीक्षाशैली सिर्जनात्मक बनाउन सक्दा विद्यार्थीलाई कक्षामा टिकाउन सकिने कुरामा जोड दिएको विभाग प्रमुख पाण्डेले बताए ।

त्रिवि केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा सञ्चालन भएको सम्मेलनमा करिब ५ सय प्राध्यापक, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी सहभागी भएको सम्मेलनमा त्रिवि बाहेक काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयका अध्यापकहरुले आफ्ना अनुसन्धानका निष्कर्षहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?