+
+

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १७:१५

१७ वैशाख, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने बताएका छन् ।

नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए ।

नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग सोमबार भएको भेटमा श्रेष्ठले दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिए ।

नेपालमा लगानी सम्मेलन जारी रहेको सन्दर्भ उल्लेख गर्दै श्रेष्ठले भियतनामसँग नेपालले पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्य गर्न चाहेको बताए ।

सो अवसरमा राजदूत न्हुएन थान हाईले नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै लगानी सहजीकरणमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । दुई मुलुकबीच लगानी अभिवृद्धिमा सहकार्य गर्नुपर्ने उनको धारणा छ ।

भियतनामबाट सिधा हवाई उडानको सम्भाव्यताबारे आफूहरूले हेरिरहेको उल्लेख गर्दै राजदूत हाईले यसो हुन सकेमा पर्यटनमा ठूलो टेवा पुग्ने बताए ।

नेपाल बुद्ध जन्मस्थल भएकाले भियतनामबाट ठूलो संख्यामा पर्यटक नेपाल आइरहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पर्यटन लगायतका क्षेत्रमा सहकार्य गर्न आफ्नो मुलुक इच्छुक रहेको बताए ।

भारत र भुटानका लागि समेत भियतनामी राजदूत रहेका हाई काठमाडौंमा आयोजित लगानी सम्मेलनका लागि नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?