+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

उपचुनावले बढायो एमालेको आत्मविश्वास

सिट संख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल ल्याउने छैन । तर उपचुनावबाट जाने सन्देशले अध्यक्ष केपी शर्मा ओली र एमाले पंक्तिलाई उत्साहित बनाएको बुझ्न गाह्रो पर्दैन ।

सइन्द्र राई सइन्द्र राई
२०८१ वैशाख १७ गते २२:१८
चुनावी अभियानका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उम्मेदवार सुहाङ नेम्वाङ

१७ वैशाख, काठमाडौं । संघीय संसदको दोस्रो ठूलो शक्ति नेकपा एमालेले उपचुनावको नतिजा आफ्नो पक्षमा पारेको छ । बझाङ (क) मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् भने इलाम–२ मा सुहाङ नेम्वाङ फराकिलो मतान्तर सहित जिततर्फ उन्मुख छन् ।

सोमबार रातिसम्मको मत प्रवृत्ति कायमै रहे एमालेका नेम्वाङ जित्ने निश्चित छ । ४५ हजार ९५३ मत गणना हुँदा १९ हजार ११४ मत सहित सुहाङले अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का निकै पछाडि (१२ हजार ६७५ मत) छन् ।

सुहाङको अग्रता जोगिए उपचुनाव भएका दुवै क्षेत्र एमालेको पोल्टामा जानेछ । अर्थात् प्रतिनिधिसभामा एमालेको सिट संख्या कायमै रहनेछ भने सुदूरपश्चिम प्रदेशसभामा एक सिट थप्न सफल भएको छ ।

२०७९ मंसिरको आमचुनावमा इलाम–२ बाट एमालेका सुवास नेम्वाङ र बझाङ (क) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । दुवैको निधन भएपछि सम्पन्न उपचुनावमा एमालेले इलामको आफ्नो सिट सुरक्षित गर्दै बझाङको नतिजा उल्ट्याएको छ ।

सिट संख्याका आधारमा उपचुनावको नतिजाले राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल ल्याउने छैन ।

तर उपचुनावबाट जाने सन्देशले अध्यक्ष केपी शर्मा ओली र एमाले पंक्तिलाई उत्साहित बनाएको बुझ्न गाह्रो पर्दैन ।

एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्की, जनादेश पार्टीको पक्षमा आउँदा उत्साहित हुनुलाई स्वभाविक मान्छन् । ‘उपचुनावले तत्कालको जनादेशलाई संकेत गर्छ र जनादेश एमालेसँग रहेको पुष्टि भएको छ’, उनी भन्छन् ।

हुन त इलाम र बझाङ दुवै क्षेत्रमा एमालेको बलियो राजनीतिक पृष्ठभूमि भएकाले जित स्वभाविक हो । तर जस्तो परिस्थिति र समीकरणमा जित निकाल्यो, त्यसले केही सन्देश पक्कै गएको छ ।

इलाम–२ एमालेले २०५६ देखि लगातार जितिरहेको क्षेत्र हो । संविधानसभाका अध्यक्ष एवं एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङले यो क्षेत्रबाट कहिल्यै हारेनन् । २०७९ मंसिरको चुनावमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा कांग्रेसका डम्बर खड्काले सुवास नेम्वाङसँग प्रतिस्पर्धा गरेका थिए ।

एमाले विभाजित भएको, राजनीतिक परिस्थिति प्रतिकुल रहेको अनि पाँचदलीय गठबन्धन हुँदा पनि नेम्वाङ ११४ मतको झिनो अन्तरले (३० हजार २० मत पाएर) विजयी भएका थिए । तर सुवास नेम्वाङको निधन भएपछि गरिएको उपचुनावमा उनकै कान्छा छोरा सुहाङ फराकिलो अन्तरले जित्ने संभावना बढेको छ ।

भलै सुहाङलाई माओवादीको समर्थन छ । तर सँगै प्रतिकुलताहरु पनि धेरै थिए । विशेषगरी प्रदेशको नाम कोशी राख्ने गत वर्ष १७ फागुनको निर्णयपछि पहिचान पक्षधरहरु एमालेविरुद्ध खनिएका थिए ।

एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई, प्रदेश संसदीय दलका नेता हिक्मत कार्की र उपनेता राम रानामाथि पहिचान पक्षधरले पटकपटक आक्रमणकै प्रयास गरे । इलाम–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रानामाथि कुटपिटकै प्रयास भयो । प्रदेशको नाम कोशी राख्ने प्रस्तावका प्रस्तावक बसेकाले रानामाथि पहिचान पक्षधरको चर्को आक्रोश थियो ।

कोशी नाम राख्ने प्रदेशसभाका सबै प्रदेशलाई निषेध गर्ने निर्णय भएपनि पहिचान पक्षधरहरुले एमाले बाहेकका दलप्रति तुलनात्मक नरम व्यवहार देखाएका थिए ।

तर एमालेलाई प्रदेशमा निषेध नै गर्ने योजना अन्तर्गत मध्यपहाडी संकल्पमा निस्किएको एमाले टोलीलाई ओखलढुंगाको टोक्सेलबाट अगाडि बढ्न नदिने प्रयास समेत गरिएको थियो ।

कोशी नाम राख्ने निर्णयविरुद्ध भएको आन्दोलनमा गत वर्ष ५ चैतमा एक जनाको ज्यान नै गएको थियो । नाम संशोधन नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिइरहेको पहिचान पक्षधरहरुले यो उपचुनावमा साझा उम्मेदवारका रुपमा डकेन्द्र थेगिमलाई उम्मेदवार बनाएका थिए । सरकारमै रहेका जसपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा सहित सबै जातीय तथा सामाजिक संस्थाहरुको समर्थन थेगिमले पाएका थिए ।

उनीहरुको उद्देश्य यो उपचुनावबाट जितेर आफ्नो एजेण्डालाई राष्ट्रिय बहसमा लैजानु थियो । त्यसका लागि बलियो जनमत भएको एमालेलाई हराउनुपर्ने थियो । अझ धरानका मेयर हर्क साम्पाङले थेगिमको उम्मेदवारीलाई प्रतिष्ठा बनाएका थिए ।

तर मुढा चिन्ह पाएका थेगिमले एमाले रोक्न सकेनन् । पूर्वमुख्यमन्त्री कार्की उपचुनावको सन्देशलाई पहिचान पक्षधरले आत्मसाथ गरेर जानुपर्ने बताउँछन् । ‘यो नतिजालाई कोशी नामको जनअनुमोदन पनि हो भन्ने बुझ्नुपर्छ’, उनी भन्छन् ।

पहिचान पक्षधर बाहेक एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पनि चुनौती थियो । गत वर्ष १० वैशाखको उपचुनावमा तनहुँ–१ मा कांग्रेसलाई हराएर उत्साहित बनेको रास्वपाले यसपटक इलामबाट एमाले हराउन चाहन्थ्यो । त्यसका लागि माओवादी पृष्ठभूमिका मिलन लिम्बुलाई उम्मेदवार बनाएर रास्वपाका सभापति रवि लामिछाने सहित सम्पूर्ण पार्टी पंक्ति परिचालित भएको थियो । तर रास्वपाले लज्जास्पद नतिजा ल्यायो ।

एमाले सचिव योगेश भट्टराई, उपचुनावले पपुलिज्म अस्थिर रहने सन्देश गएको बताउँछन् । ‘मुलुक हाँक्न राष्ट्रिय शक्ति चाहिन्छ । पपुलिज्म अस्थिर हुन्छ, यसको हाँगा त हुन्छ तर जरा हुँदैन भन्ने प्रष्ट भयो’ उनी भन्छन् ।

रास्वपाले भने यो उपचुनावलाई आगामी आमचुनाव–२०८४ सँग जोडेर प्रचार गरेको थियो । आगामी चुनावमा एकल बहुमत ल्याउन आधार उपचुनावको नतिजाबाट रास्वपाले तयार पार्न खोजेको थियो । त्यसैले रास्वपाले उपचुनावमा सम्पूर्ण शक्ति खर्च गरेको थियो ।

तर मिसन–०८४ कै लक्ष्य लिएको एमालेले रास्वपा रोकेर उत्साहित बातावरण बनाउन सफल भयो । ‘पूर्वको इलामदेखि पश्चिमको बझाङसम्मले दिएको सन्देश मिसन–०८४ सँग सम्बन्धित छ’ स्थायी कमिटी सदस्य कार्की भन्छन्, ‘कतिपयले पुराना दलहरुको सान्दर्भिकता माथि भ्रम छरेका थिए, तर एमाले र कांग्रेस नै हो मुल शक्ति भएको जनादेश आयो ।’

अर्का एक नेता भने इलाममा कांग्रेसभन्दा पनि रास्वपा र पहिचान पक्षधरको चुनौती एमालेका निम्ति अर्थपूर्ण थियो । ‘कांग्रेससँग हार्दा एमालेलाई केही फरक पर्दैन थियो । तर पहिचान पक्षधर र रास्वपाको जितले कोशी सहित देशभर एमाले रक्षात्मक बन्न सक्थ्यो’ ती नेता भन्छन् ।

यद्यपि जितसँगै संभावित खतरा टरेको छ । सँगै, एमालेले आगामी राजनीतिक कोर्सका निम्ति लिएको उद्देश्य समेत उपचुनावबाट पूरा भएको छ ।

आगामी आमचुनाव–०८४ मा एकल बहुमत घोषणासहित गतिविधि गरिरहेको एमाले नेताहरुले एक्लै राष्ट्रिय शक्ति बन्ने बताइरहेका छन् । गत वर्षको उपचुनावमा हारे बेहोर्दा पनि अन्य दलसँग गठबन्धन नगरेको एमालेले यसपटक पनि एकल उम्मेदवारी घोषणा गरेको थियो ।

गत २१ फागुनमा सत्ता समीकरण फेरिए पनि एमालेले सत्ता साझेदार दलहरुसँग छलफल नगरी दुवै क्षेत्रको उम्मेदवार टुंग्याएको थियो । गत ११ चैतमा इलाममा सुहाङ र बझाङमा दमनबहादुर भण्डारी उम्मेदवार बनाउने निर्णय लिदा सत्ता साझेदार दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा अप्ठयारोमा परेका थिए ।

आफूसँग सल्लाह नगरी उम्मेदवार घोषणा गरेको भन्दै एकीकृत समाजवादीले दुवै क्षेत्रमा अलग्गै उम्मेदवारी दियो । बझाङमा अलग्गै उम्मेदवार बनाएपनि इलाममा भने माओवादी केन्द्रले एमालेलाई नै समर्थन गर्यो । जसपाले त पहिचान पक्षधर उम्मेदवार थेगिमलाई सहयोग गरेको थियो ।

अर्थात् माओवादी केन्द्रले इलाममा सुहाङलाई समर्थन गर्नु बाहेक सत्ता साझेदारहरु यो उपचुनावमा एकठाउँ रहन सकेन । यस्तो परिस्थितिको चाहना र वकालत एमालेले नै गर्दै आएको थियो ।

तर सत्ता साझेदारहरुबीच नै प्रतिस्पर्धा हुँदा पनि कांग्रेसलाई हराउनसक्ने सन्देश बझाङबाट दिन एमाले सफल भयो । यो क्षेत्रमा माओवादीका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार ८३१ र एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार ५१४ मत ल्याउँदा पनि कांग्रेसले जित्न सकेन । कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत पाउँदा ११ हजार ६१३ मत ल्याएर एमालेका दमन भण्डारी निर्वाचित भए ।

जबकी सुदूरपश्चिम सरकार गठनमा प्रदेशसभाको गणितकै कारण माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु सत्ता साझेदारको एउटै उम्मेदवार बनाउनुपर्ने पक्षमा थिए । तर एक्लै निर्णय गरे अगाडि बढेको एमालेले कांग्रेसको जित उल्ट्याउन सफल भयो ।

एमाले सचिव भट्टराई, उपचुनावको नतिजा एमालेको पक्षमा आउनुमा चार कारण रहेको बताउँछन् । ‘राष्ट्रिय राजनीतिमा हामीले लिएको अडान, उम्मेदवार चयनमा अपनाइएको सुझबुझपन, संगठनात्मक शक्ति र पार्टीभित्रको एकताबद्ध प्रयासले सफलता मिल्यो’ भट्टराई भन्छन् ।

तर मिसन–०८४ सफल बनाउन पार्टीभित्रको कमजोरीलाई सच्याउन अझै बाँकी रहेको उनी बताउँछन् । ‘यो उपचुनावमा सफल भयौ भनेर हौसिन हुँदैन । किनकि हामीसँग अझै कमजोरी छन्, त्यसलाई सच्याएर अगाडि बढ्नु हाम्रो दायित्व हो’, सचिव भट्टराई भन्छन् ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?