+
+
उच्च अदालतको फैसला :

व्यासमा १ महिनाभित्र पुनः मतगणना : कांग्रेसमा आशंका, जोशी उत्साहित

अमृत सुवेदी अमृत सुवेदी
२०८१ जेठ २ गते २०:०२
व्यास नगरपालिकाको मेयर बैकुण्ड न्यौपाने र उनको निकटतम प्रतिस्पर्धी दीपकराज नोशी ।

२ जेठ, पोखरा । ३० वैशाख २०७९ को स्थानीय तहको निर्वाचन भएको २ वर्षपछि उच्च अदालत पोखराले व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना गर्न आदेश दिएपछि तनहुँमा तरंग पैदा भएको छ ।

नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले धाँधली भएको भन्दै मतपरिणाम रद्द गरेर पुनःमतगणना गर्न माग गर्दै १२ जेठ २०७९ मा उच्च अदालतमा रिट दिएका थिए ।

मंगलबार न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले मतपरिणाम रद्द गर्दै १ महिनाभित्र मेयर पदको पुनः मतगणना गर्न उच्च अदालतका रजिस्ट्रारलाई आदेश दिएको छ ।

उक्त आदेश अनुसार अब उच्च अदालतका रजिस्ट्रारले मेयर पदको मतपेटिका झिकाएर एक महिनाभित्र उच्च अदलतमा वा पोखराकै अन्य ठाउँ तोकेर मतगणना गर्नुपर्ने सहरजिस्ट्रार रामबहादुर थापाले जानकारी दिए । अब उच्च अदालत पोखराकै रोहबरमा मतगणना हुने छ ।

मतपरिणाम घोषणा गरेपछि मतपत्रहरु जिल्ला निर्वाचन कार्यालय तनहुँमा राखिएको थियो । निर्वाचन कार्यालयकी निमित्त प्रमुख दुर्गामाया आलेले भनिन्, ‘मतगणना गर्दाखेरि मुठा पारेर राखिएको पतपत्र लाहाछाप लगाएर सुरक्षित राखिएको छ ।’

स्थानीय तह निर्वाचनमा एमाले समर्थन पाएका स्वतन्त्र उम्मेदवार जोशी नेपाली कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए । न्यौपानेले १२ हजार ७८ मत ल्याउँदा जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।

उच्च अदालतले १ महिनाभित्र पुनःमतगणना गर्न भनेपछि जोशीले अब आफू मेयरमा निर्वाचित हुने दाबी गरेका छन् भने कांग्रेसभित्र संशय देखिएको छ । मेयर वैकुण्ठ न्यौपानेले उच्च अदालतको आदेशबारे आफूले सुनेको भन्दै आदेश पाएपछि मात्र प्रतिक्रिया दिने बताए ।

स्थानीय चुनावमा जोशीलाई समर्थन गरेको एमाले अहिले उच्च अदालतको आदेशप्रति भने मौन छ । ‘अदालतको आदेशअनुसार पुनःमतगणना होला तर एमालेका निम्ति यो ठूलो खुसीको विषय होइन,’ एमाले तनहुँका निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने ।

तर, सधैंभरि कांग्रेसले जितेको व्यासको विरासत भत्किइहाल्यो भने त्यसको फाइदा एमालेलाई पुग्ने नेताहरुको विश्लेषण छ ।

के थियो घटना ?

२०७९ वैशाखको स्थानीय तहको चुनावमा कांग्रेसबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशी समूह र एमालेबीच तालमेल भएको थियो ।

जोशी समूहले व्यासको वडा नं १ र २ को वडाध्यक्ष र मेयर पद लिने र तनहुँको बन्दीपुर, भानु लगायत अन्य स्थानीय तहमा जोशी समूहले एमाले उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको थियो ।

मतदानका बेला र व्यास नगरपालिका–८ मा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएको थियो । उनी घाइते भएपछि उपचारका लागि भारतको मेदान्त अस्पताल पुगेका थिए । वडा नम्बर ८ मा पुनः मतदान नै भएको थियो र मतगणना हुँदा कांग्रेसले जितेको थियो ।

वडा नम्बर १ देखि ८ सम्म गणना हुँदा दीपकले अग्रता लिएका थिए भने वडा नम्बर ९ देखि १४ सम्मको मतका आधारमा कांग्रेस उम्मेदवार न्यौपाने निर्वाचित भएका थिए ।

व्यासका वडा नम्बर ४, ५ र ७ मा एमालेले वडाध्यक्ष पद जितेको छ भने बाँकी ११ वटा वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
आफूले जित्ने चुनावमा षड्यन्त्र गरेर हराइएको भन्दै मतपरिणाम रद्ध गरेर पुनःमतगणना गर्न माग गर्दै जोशी उच्च अदालत पोखरा गएका थिए र मंगलबार उनकै पक्षमा आदेश आएको हो ।

सर्वोच्चमा जाने मुडमा कांग्रेस

उच्च अदालत पोखराले पुनः मतगणना गर्न आदेश दिएपछि मेयर वैकुण्ठ न्यौपाने पुनरावेदन निवेदन लिएर सर्वोच्च अदालत जाने तयारीमा छन् ।

यसअघि उच्च अदालतले पोखरा महानगरपालिका वडा नं १८ मा पनि फेरि मतगणना गर्न गत साल वैशाखमा आदेश गरेको थियो ।

उच्चको आदेशका विरुद्ध पोखरा–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना सर्वोच्च गएका थिए । स्थानीय तहको निर्वाचनको मतगणनामा एमाले उम्मेदवार पुष्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो ।

तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनः मतगणनाको माग राखेर उच्च अदालतमा निवेदन दिएका थिए । उनको पक्षमा उच्च अदालतले आदेश गरे पनि वडाध्यक्ष सर्वोच्च गएपछि अहिलेसम्म यो मुद्धाको फैसला भएको छैन ।

व्यासका मेयर न्यौपाने पनि सर्वोच्चमा जानेबारे छलफल गरिरहेका छन् । ‘अदालतले फेरि मतगणना गर्न आदेश गरेको सुनें, दुई वर्षपछि पुनःमतगणना गर्न पनि हामीलाई कुनै समस्या छैन’, व्यासको मेयरमा दोस्रो पटक निर्वाचित न्यौपानेले भने, ‘आदेश हेरेपछि सर्वोच्चमा पुनरावेदन गर्न जान पनि सकिन्छ ।’

नेपाली कांग्रेसका जिल्ला सभापति जीतप्रकाश आलेले अदालतले ढिला गरी आदेश गर्दा केही अप्ठेरो पर्ने भए पनि स्वीकार्नुको विकल्प नभएको बताए । आदेशका विषयमा पार्टीले आधिकारिक निर्णय गरेर कदम चाल्ने उनको भनाइ छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?