+
+
फिल्म समीक्षा :

राई माइलाले गाउँ छाड्यो रे !

गाउँलाई केले खाँदै छ ? बाटो कि बाटोसँगै भित्रिएको बजारले ? सरकार कसको प्रतिनिधि हो ? गाउँ कि बहुराष्ट्रिय कम्पनीको ? गाउँको विकास सडक पुर्याएर मात्रै हुन्छ कि मौलिक नेपाली ज्ञान, सीप र अभ्यासहरूलाई साथ दिएर ? यो गम्भीर वैचारिक बहस छेडेको छ चलचित्रले । हाम्रो विकास प्रणालीमाथि चर्को धावा बोलेको छ ‘गाउँ आएको बाटो’ ले ।

भोगीराज चाम्लिङ भोगीराज चाम्लिङ
२०८१ जेठ २९ गते २०:४५

नेपाली समाजको कथालाई नेपाली शैलीमा भन्नुपर्छ भनेर नथाक्ने निर्देशक नवीन सुब्बा र नेपाली समाजलाई अभिनयमा सर्लक्कै उतार्ने अभिनेता दयाहाङ राईको सहकार्यमा बनेको चलचित्र हेर्ने धोको थियो । ‘गाउँ आएको बाटो’ ले संतृप्त हुने गरी पूरा गरिदिएको छ ।

नवीन सुब्बा यसै पनि ढिलो चलचित्र बनाउने निर्देशकमा पर्छन् । नेपाली पाराको चलचित्रको पैरवीकर्ताको चलचित्र कस्तो हुँदो रहेछ, हेरौं न त भन्ने व्यग्र प्रतीक्षा लामो थियो एकातिर ।

अर्कोतिर आफ्नै ‘माइलस्टोन’ चलचित्र ‘नुमाफुङ’ को इज्जत धान्नुपर्ने दबाब पनि थियो भन्न सकिएला । यसमा नवीन सुब्बा खरो उत्रिएछन् । चलचित्र हेरिसकेपछि यति चाहिँ निर्धक्क भन्न सकिने रहेछ- ‘नुमाफुङ’ बाट सुरू गरेको यात्रालाई नवीन सुब्बाले ‘गाउँ आएको बाटो’ सम्म आइपुग्दा अर्को उचाइमा पुर्‍याएका छन् ।

‘गाउँ आएको बाटो’ पहिलो दिन पहिलो ‘सो’ मै हेर्ने विशाल उत्कण्ठा थियो । नभन्दै त्यो अवसर जुर्यो पनि । चलचित्रले गम्भीर सवालहरूलाई बडो सुन्दर शैलीमा प्रस्तुत गरेको देखेपछि केही बोल्नैपर्ने हुटहुटी पनि पैदा भयो ।

भोगीराज चाम्लिङ

चलचित्र आधा हेर्दासम्म हामी बडो प्रफुल्ल हुन्छौं- आहा, गाउँमा छँदा सानो छँदा हामी पनि त त्यस्तै गथ्र्यौं, दुरूस्तै त्यस्तै त थियो गाउँ भनेर नोस्टाल्जिक हुन्छौं । ठ्याक्कै गाउँले पाराका ससाना हास्यले चलचित्रलाई खानामा अचारजस्तै मिठो बनाइदिन्छ । यी सप्पै कुराले हामी प्रफुल्ल ‘मुड’ मा ‘रेस्टरूम’ तिर जान्छौं र अझ उत्सुकतासहित हलमा फर्किन्छौं ।

जब बाँकी आधा चलचित्र सुरू हुन्छ, हलभरि सन्नाटा छाउन थाल्छ । हामी समकालीन गाउँको कथामा प्रवेश गर्छौं र चकमन्न हुन्छौं । अन्तिममा नि:शब्द भएर बाहिरिन्छौं । चलचित्र यस्तोखालको बनेको रहेछ ।

चलचित्रमा हामीलाई नि:शब्द बनाउने केही सामाजिक-सांस्कृतिक कुराहरू छन्, केही पारिवारिक कुराहरू छन्, केही अर्थराजनीतिका कुराहरू छन् । गम्भीर मुद्दाहरूलाई यस्तरी मसिनो गरी पेश गरिएको रहेछ कि चलचित्र हेरिसक्दासम्म आत्मसात् गरिसक्दो रहेछौं ।

के भनिँदो रहेछ भने राज्यले प्रतीकहरूमार्फत् शासन गर्छ । राष्ट्रिय रङ, राष्ट्रिय चरा, राष्ट्रिय जनावर जस्ता प्रतीकहरूको संहारमा राज्यले हामीलाई ‘अनुशासन’, ‘शासन’ सिकाउँदो रहेछ भने जस्तै ‘गाउँ आएको बाटो’ मा पनि गाउँका मसिना प्रतीक र क्रियाकलापहरूलाई यति मिहीन रूपमा प्रस्तुत गरिएको छ कि ती एकदम स्वभाविक लाग्दो रहेछ ।

खासगरीकन गाउँको परिवेश र चरित्रलाई राई माइला, माइली र छोरा बिन्द्रेले यति मज्जाले उतारेको छ कि चलचित्र हेर्दासम्म उनीहरूका हरेक अभिनयमा हामीले आफूलाई पाउँदो रहेछौं । अभिनयमा त्यो हदसम्मको जीवन्त स्वभाविक रहेछ ।

‘गाउँ आएको बाटो’ मा दुईथरि गाउँ छ- आम नेपाली गाउँ र गाउँभित्रको अर्को गाउँ । दुइटै गाउँलाई एकसाथ देखाउनु चलचित्रको खास खुबी हो । पहिलाको गाउँ सम्झिँदै अहिलेको गाउँलाई महसुस गर्न ‘गाउँ आएको बाटो’ मा यात्रा गर्नुपर्छ ।

अहिलेको गाउँमा धुलाम्मे सडकहरूको सञ्जालै पुगेको छ, बस र ट्याक्टरहरू चढेर बजार पुगेको छ, मोबाइल र टिभीहरूमार्फत् ‘भर्चुअल’ संसार पनि गाउँ पुगेको छ । फेरि गाउँका मान्छेहरू चाहिँ बसाइँ सरेर सहर र अन्तर्राष्ट्रिय श्रमबजारमा पुगेको छ । यस्तैयस्तै चक्र चलिरहेको छ समकालीन गाउँहरूमा । यो अहिलेको आम नेपाली गाउँको चित्र हो ।

फेरि यो आम गाउँभित्र राई माइलाको अर्कै गाउँ पनि छ जो प्रथाजन्य अभ्यासहरूमा टिकेको छ । राई माइला चित्रा बुनेर दुईचार पैसा जोहो गर्थ्यो । बजार मार्फत् त्रिपाल पुगेपछि त्यो सिप पनि उसको हातबाट खोसिएको छ ।

प्रथाजन्य जाँड र रक्सी उत्पादनबाट राई माइलाको परिवारले आजीविका सहज बनाउन सक्थ्यो । त्यो पनि सरकार (पुलिस) लागेर बिथोलिदिएको छ । बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू बियर र कोकाकोलाहरूलाई चाहिँ बजारमा खुल्लमखुल्ला बिक्री छाडिराखेर सरकार किसानको आजीविका खोसिरहेको छ ।

यति सप्पै हुँदाहुँदै पनि सुप्तुलुङ (चुला), पितृहरू र माटोको मायाले राई माइलाको परिवार गाउँमै थामिएर बसेको थियो । छोराको माया थियो जसले राई माइलाको परिवारलाई गाउँमा टिकाएको थियो, त्यो पनि नभएपछि विरक्तिएर त्यही ‘गाउँ आएको बाटो’ बाट सहरतिर हिँड्न बाध्य भएको छ ।

गाउँलाई केले खाँदै छ ? बाटो कि बाटोसँगै भित्रिएको बजारले ? सरकार कसको प्रतिनिधि हो ? गाउँ कि बहुराष्ट्रिय कम्पनीको ? गाउँको विकास सडक पुर्याएर मात्रै हुन्छ कि मौलिक नेपाली ज्ञान, सीप र अभ्यासहरूलाई साथ दिएर ? यो गम्भीर वैचारिक बहस छेडेको छ चलचित्रले । हाम्रो विकास प्रणालीमाथि चर्को धावा बोलेको छ ‘गाउँ आएको बाटो’ ले ।

जस्तो कि राई माइलाले बुन्ने गाउँको चित्रालाई त्रिपालले खाइदियो, राई माइलीको जाँड छान्ने छपनीलाई बियर र कोकाकोलाले खाइदियो, गाउँको फिफीलाई बजारको प्लास्टिकले खाइदियो । आर्थिक, सामाजिक, सांस्कृतिक पर्यावरण नै भत्किएपछि गाउँले कसरी जीविका चलाउनु त ?

लगभग पाँच दशकयता उठिरहेको सवाल के हो भने अमेरिकी ढाँचाको पाश्चात्य शैलीमा आधारित विकासले संसारलाई कज्याउने कार्य रोकिनुपर्छ । अमेरिकाको विकासले जहिल्यै प्रतिव्यक्ति आम्दानीमा जोड दियो । त्यो उसको आवश्यकता थियो किनभने उसलाई विश्वको शक्तिशाली राष्ट्र बन्नु थियो ।

शक्तिराष्ट्रको दौडमा हुँदै नभएको हाम्रो जस्तो मुलुकका लागि त्यस्तो ढाँचाको विकास किन चाहियो ? हो, यही कुराको मारमा परिरहेको छ गाउँ । के हाम्रो विकास प्रणाली ठीक छ ? मुखर रूपमा प्रश्न उठाएको छ ‘गाउँ आएको बाटो’ ले ।

संस्कृतिलाई विकासको एउटा खम्बा मान्नुपर्छ भन्ने बहस उठेको पनि लगभग पाँच दशक भइसकेको छ । यद्यपि सुध्रिने छाँटकाँट अझै देखिएको छैन । यस सन्दर्भमा यहाँ एउटा अध्ययनको पनि विषय उठान गर्दा राम्रै हुन्छ ।

तीन दशकभन्दा पहिले सोलुखुम्बु र सङ्खुवासभाका सरकारी विकास योजनाहरूको अध्ययन गरिएको थियो । त्यस क्रममा थाहा भयो कि गाउँका ५२ प्रतिशत योजनाहरू संस्कृतिमैत्री नहुँदा असफल भएका थिए । यो एउटा गम्भीर शिक्षा हो तर हाम्रो विकास मोडेल अझै सच्चिने दिशामा उन्मुख भइराखेको छैन ।

हामीले ‘विकास’ ठान्ने गरेका आधारभूत सूचकहरू पुग्दा पनि गाउँहरूबाट ‘सरकारहरू’ ले स्यावासी पाइरहेका छैनन् । किन ? किनभने, ती विकासहरूले रैथाने संस्कृति, ज्ञान, सिप र अभ्यासप्रति मित्रवत् व्यवहार गरिरहेका छैनन् । विकास गाउँमैत्री हुन सकिरहेका छैनन् ।

सायद, हामीलाई सीमित सङ्ख्याका अमूक उद्योगपतिहरूले कमाएको नाफा पनि गाउँलेहरूको नाफामा गणना हुने तर हात लागी चाहिँ शुन्य हुने प्रति व्यक्तिवाला आय पाराको विकास मोडेलभन्दा गाउँलेकै ज्ञान, सिप र संस्कृतिमा आधारित भएर आनासुकी नै भए पनि गोजीमा भरिदिने गाउँमैत्री विकास चाहिएको छ । मेरो हिसाबमा चलचित्र ‘गाउँ आएको बाटो’ ले उठान गरेको मुख्य सवाल हो यो ।

गाउँलेहरू ! बधाई छ– तपाईं-हाम्रो कथा सहरका मान्छेहरूसम्म पुगेको छ । ढुक्क नहुनुस्, सरकारसम्म पुर्याउन चाहिँ तपाईं-हामी नै जाग्नुपर्छ ।

चाम्लिङ किरात इतिहासकार तथा अध्येता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?