१ कात्तिक, काठमाडौं । आतिथ्य सेवा बलमा अर्थतन्त्र तङ्ग्रँदै गर्दा निर्माण क्षेत्र भने अझै संकुचनमा रहेको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक (अन्तिम त्रैमास) को कुल गार्हस्थ उत्पादन (जीडीपी) सार्वजनिक गरेको छ । जस अनुसार अन्तिम त्रैमासमा अर्थतन्त्र २.१ प्रतिशतले विस्तार भएको देखिएको छ ।
यो अघिल्लो आव २०७९/८० को सोही त्रैमासमा भएको अर्थतन्त्रको विस्तार हो । तेस्रो त्रैमासमा ३.१, दोस्रोमा ४.६ र पहिलो त्रैमासमा ४.५ प्रतिशतले अर्थतन्त्र विस्तार भएको कार्यालयको तथ्यांक छ ।
आँकडा अनुसार अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा भने चौथो त्रैमासमा अर्थतन्त्र विस्तार कम भएको देखिन्छ । हरेक चौमासिक समाप्त भएको ९० दिनभित्र त्रैमासिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्ने गरिन्छ ।
अघिल्लो आवको कुन त्रैमासमा कति आर्थिक वृद्धि ?
- पहिलो (साउन–असोज) : ४.५ प्रतिशत
- दोस्रो (कात्तिक–पुस) : ४.६ प्रतिशत
- तेस्रो (माघ–चैत) : ३.१ प्रतिशत
- चौथो (वैशाख–असार) : २.१ प्रतिशत
आतिथ्य सेवाको बल, व्यापार र यातायातको टेवा
अर्थतन्त्र वृद्धिमा यो त्रैमासमा ठूलो हात आतिथ्य सेवाको देखिन्छ । यससँगै कृषि, व्यापार, यातायात र सार्वजनिक प्रशासनमा भएको वृद्धिले समेत अर्थतन्त्र विस्तारमा भूमिका खेलेको देखिन्छ ।
कार्यालयका अनुसार आवास तथा भोजन सेवासम्बन्धी क्रियाकलाप वृद्धिदर सबैभन्दा धेरै १२.३ प्रतिशत भएको छ । यो अघिल्लो आव २०७९/८० को चौथो त्रैमासको तुलनामा गणना गरिएको हो ।
यातायात तथा गोदाम क्षेत्रको वृद्धिदर १०.९ प्रतिशत र सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर १०.८ प्रतिशत भएको अनुमान छ ।
निक्षेप तथा कर्जामा भएको वृद्धिले वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि दर ६.२ प्रतिशत र प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.८ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ ।
निर्माण, विद्युत्–ग्यास र सूचना प्रविधि क्षेत्रमा संकुचन
अर्थतन्त्रका कुल १८ औद्योगिक क्षेत्रमध्ये निर्माण क्षेत्र अझै पनि लयमा आउन नसकेको देखिएको छ ।
कार्यालयका अनुसार निर्माण क्षेत्रमा सबैभन्दा धेरै १३.४ प्रतिशतको संकुचन यस त्रैमासमा देखिन्छ । दोस्रो स्थानमा विद्युत्, ग्यास वितरण छ । जसमा ३.५ प्रतिशतको संकुचन आएको छ । सूचना प्रविधिमा १.६ प्रतिशतको संकुचन देखिन्छ ।
२०८०/८१ का त्रैमासहरूको मात्र तुलना गर्दा भने निर्माण क्षेत्रमा पहिलो र दोस्रो त्रैमासको तुलनामा अन्तिम त्रैमासमा केही सुधार भएको देखिन्छ । यसो हुनुमा आर्थिक वर्षको अन्तिम दुई त्रैमासमा पूँजीगत खर्च बढी हुनु मुख्य कारण हो ।
पहिलो त्रैमासमा १.४ र दोस्रो त्रैमासमा १६.३ प्रतिशतले संकुचनमा आएको निर्माण क्षेत्र तेस्रोमा १.६ र चौथोमा १.१ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ ।
अर्थतन्त्रका मुख्य क्षेत्रमा कस्तो छ विस्तार ?
अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा ओगट्ने कृषि तथा वन क्षेत्रको विस्तार भने ३.२ प्रतिशत छ । कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिमा हिउँदे बाली, तरकारी तथा पशुजन्य उत्पादनमा आएको वृद्धिको सकारात्मक प्रभाव देखिएको कार्यालयको विश्लेषण छ ।
अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापारमा चौथो त्रैमासमा २ प्रतिशतमात्र वृद्धि हुने अनुमान छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन र कृषि उत्पादनमा भएको सामान्य वृद्धिले व्यापार क्षेत्रको वृद्धिदर धनात्मक देखिएको कार्यालयको भनाइ छ ।
व्यापारजन्य वस्तु आयातमा भएको गिरावटले भने व्यापार क्षेत्रमा अपेक्षित वृद्धि नभएको कार्यालयले जनाएको छ । उता, उद्योग क्षेत्रमा समेत उत्साहजनक वृद्धि छैन । यसो हुनुमा औद्योगिक वस्तु उत्पादनमा खासै सुधार आउन नसकेको विश्लेषण कार्यालयले गरेको छ । कार्यालयले भनेको छ, ‘कहिले बढ्ने, कहिले घट्ने नेपालको अर्थतन्त्रको वृद्धिले एउटै दिशा तय गरिरहेको देखिँदैन ।’
प्रतिक्रिया 4