+
+

कछुवा गतिमा भौतिक पूर्वाधार, दिनको ३२५ मिटरमात्र सडक कालोपत्र

तथ्यांक अनुसार नेपालमा सडक कालोपत्र गर्ने गति प्रतिदिन ३ सय २५ मिटरमात्र हुन आउँछ । मन्त्रालय आफ्नो यही गतिमा रमाइरहेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ कात्तिक ८ गते १९:२६

८ कात्तिक, काठमाडौं । सरकारले पछिल्लो १ सय दिनमा ३२.५ किलोमिटर सडक कालोपत्र गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका अनुसार सय दिनमा २ लेनको सडक २७ किलोमिटर र चार लेनको ५.५ किलोमिटर कालोपत्र भएको छ ।

तथ्यांक अनुसार नेपालमा सडक कालोपत्र गर्ने गति प्रतिदिन ३ सय २५ मिटरमात्र हुन आउँछ । मन्त्रालय आफ्नो यही गतिमा रमाइरहेको छ । मन्त्री दाहाल भन्छन्, ‘सय दिनका लागि किटान गरिएका लक्ष्यका दृष्टिले यसलाई कम भन्न मिल्दैन ।’

यसबीच वर्षा र बाढीबाट सिर्जित व्यवस्थापनमा लाग्न नपरेको भए अझ बढी काम हुने उनको दाबी छ । नेपालमा सबैभन्दा धेरै विकास बजेट खर्च गर्ने निकाय भौतिक मन्त्रालय र यस मातहतको सडक विभाग हो ।

यो निकायले नै निकै सुस्त प्रगति गर्दा असर समग्र अर्थतन्त्रमा देखिन्छ । भौतिकमन्त्री दाहालले मन्त्रालयको यो रोग समाधानमा ठोस पहल गर्न सकेका छैनन् । किनकि, यसबीच कुनै पनि ठूला आयोजनाको समस्या समाधान गरी गति दिने प्रयास गरेको देखिँदैन । बरु खुद्रे आयोजना र कार्यक्रममै उनी रमाइरहेका छन् ।

बाढीले देखाइदियो मन्त्रालयको असली क्षमता

मन्त्री दाहालका अनुसार पछिल्लो महिना ४ हजार ३८ किलोमिटर सडक खाल्डाखुल्डी रहित बनाइएको छ । तर, १० असोजबाट दुई दिनसम्म आएको वर्षा र बाढीले यस मन्त्रालयको असली क्षमता उदाङ्गो पारिदियो ।

सोहीकारण उनले आफ्नो प्रगति विवरणमा लेखेका छन्, ‘बाढी–पहिरोबाट बिग्रे–भत्केका सडकको पुनः मर्मत गर्नुपर्ने परिस्थिति सिर्जना भई त्यसै अनुसार मर्मत कार्य भइरहेको छ ।’

मन्त्रालयका अनुसार बाढी–पहिरोपछि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन दुई दिन लागेको छ । कान्ति राजपथ सञ्चालनमा ल्याउन १० दिनभन्दा धेरै समय लागेको छ । बर्दीवास–काठमाडौं सडक सञ्चालनमा चार दिन लागेको थियो । बीपी राजमार्गमा यातायात खुलाउन भने झन्डै १३ दिन लागेको छ ।

मेची राजमार्ग पुनः सुरु गर्नसमेत सोही समय लागेको छ । अरनिको राजमार्गमा यातायात सुरु गर्न एक साताभन्दा लामो समय लागेको छ । यो सडकको लिपिङ खोलाको पुल भत्किएपछि अझै पनि चिनियाँ नाकासम्म जोड्न सकिएको छैन ।

त्यस्तै सुनकोसी नदीका खुर्कोटमा यसै सातामात्र बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । मध्यपहाडी राजमार्गका विभिन्न स्थानको अवरोध हटाउन समेत एक साताभन्दा धेरै समय लागेको छ ।

यसबीच सिद्धबाबा सुरुङ ३ सय ९७ मिटर खनिएको तथ्यांक उनले राखेका छन् । नागढुंगा सुरुङमा लाइनिङ गर्ने काम लक्ष्य अनुसार भएको भन्दै उनले सन्तुष्टि व्यक्ति गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक बढी प्राथमिकता दिने रेलमार्ग र जलमार्गतर्फ मन्त्रालयको शून्य उपलब्धि स्वयं मन्त्रालयको प्रगति विवरणले देखाउँछ ।

मन्त्री दाहालका अनुसार बर्दीवास–चोचा रेलमार्ग खण्डमा तीन वटा रेल पुल बन्नुबाहेक रणनीतिक रेल्वेतर्फ कुनै काम अगाडि बढेको छैन ।

जल यातायाततर्फ विभिन्न देशमा पानीजहाजमा काम गर्ने नेपालीको तथ्यांक संकलन गर्न वेब एप्लिकेसन तयार पार्न परामर्शदाता छनोट प्रक्रियामा रहेको देखिएको छ ।

सहजै लाइसेन्स वितरणमा असफल

भौतिक मन्त्रालयको असफलता लाइसेन्स वितरणमा छ । प्रदेश स्तरबाट क्यूआर कोडसहित सवारी चालक अनुमतिपत्र छपाइमा सहजीकरण हुने गरी सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन अगाडि बढ्नु बाहेक यस क्षेत्रमा अरू प्रगति हुन नसकेको मन्त्री दाहालले स्वीकारे । सय दिनमा ३४ हजार ७ सय ४ थानमात्र लाइसेन्स छपाइ गरी वितरण गरिएको छ ।

उनले मन्त्रालय र सडक विभाग अन्तर्गत रहेका रुग्ण ठेक्काको ठेक्कागत अध्ययन गरी समाधान सिफारिस गर्न समिति गठन गरेका थिए । उनका अनुसार समितिले प्रतिवेदन समेत दिएको छ ।

ठूला पूर्वाधारतर्फ के भयो काम ?

भौतिकमन्त्री दाहालले फास्ट ट्रयाकको एक सुरुङ ब्रेक थ्रुलाई यस अवधिको एक उपलब्धि मानेका छन् । यस अवधिमा कमला–बागमती खण्ड र बुटवल–गोरुसिंगे खण्डको ठेक्का लागेको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत माडीचौर–घर्तीगाउँ–पातीहाल्ने–बागेचौर खण्ड र बड्डीचौर–गुटु कर्णाली खण्ड निर्माणको समेत ठेक्का लागेको उनले जानकारी दिए ।

काठमाडौं चक्रपथ विस्तार अन्तर्गत कलंकीदेखि महाराजगञ्जसम्मको सडकको ८.२ किलोमिटर सडक स्तरोन्नति गर्न ‘लेटर अफ एक्सचेन्ज’ आदान–प्रदान समेत भएको मन्त्रालयले उल्लेख गरेको छ । काठमाडौं उपत्यकाको यातायात संरचना सुधार गर्न आवश्यक योजना जापान सरकारको सहयोगमा भइरहेको मन्त्रालयले जनाएको छ ।

लामो समयदेखि जनताले कष्ट भोगिरहेको सूर्यविनायक–धुलिखेल, नागढुंगा–नौबिसे, नौबिसे–मुग्लिन, आँबुखैरेनी–पोखरा, काँकडभिट्टा–इटहरी, कञ्चनपुर–कमला, बुटवल–नारायणगढ, गल्छी–रसुवागढी, कालिगण्डकी करिडोर लगायत कतिपय खण्ड निर्माणाधीन रहेको भन्दै यस आवागमनमा केही असुविधा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?