+
+

नेपाली स्वास्थ्य स्वयंसेविका नोबेल शान्ति पुरस्कारका हकदार हुन्

नेपालको स्वास्थ्य क्षेत्र लगायत लैंगिक सशक्तीकरणमा महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको महत्त्वपूर्ण भूमिकालाई विश्वले पुरस्कृत गर्ने बेला आएको छ। यी स्वयंसेविकाहरूको कामले नोबेल शान्ति पुरस्कारको सम्मान पाउँदा नेपाल मात्र नभई विश्वभर नै समुदायस्तरमा काम गर्ने महिलाहरूलाई ठूलो प्रेरणा मिल्नेछ।

प्रेमराज अवस्थी प्रेमराज अवस्थी
२०८१ कात्तिक ९ गते ९:२७

मानव कल्याण लगायत विश्व शान्ति र न्यायका लागि असाधारण योगदान पुर्‍याउने व्यक्ति र संस्थालाई नोबेल शान्ति पुरस्कार दिइँदै आएको छ। यस वर्ष यो प्रतिष्ठित पुरस्कार हिरोसिमा र नागासाकीका आणविक बम आक्रमणमा बाँचेकाहरूको भुईं तहको अभियान ‘निहोन हिडान्क्यो’ ले पाएको छ। आणविक निशस्त्रीकरणको लागि वकालत गर्ने निहोन हिडान्क्योले पाएको नोबेल शान्ति पुरस्कारको चर्चासँगै नेपालको भुईं तहमा विना कुनै पारिश्रमिक दिन–रात खटिरहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकाको चर्चा समयसापेक्ष हुन्छ होला।

नेपालको राजधानी काठमाडौंदेखि दूर-दराज, कुनाकन्दराका समुदायमा ५० हजारभन्दा बढी (ग्रामीणमा ४६ हजार ८८ र शहरमा ५ हजार ३२८) महिला स्वास्थ्य स्वयंसेविकाहरूले निस्वार्थ सेवा गरिराखेका छन्। यी स्वयंसेविकाहरू समुदायस्तरमा परिवार नियोजन सामग्रीको वितरण, गर्भवती तथा सुत्केरी आमालाई आइरन चक्की वितरण, जीवनजल वितरण, स्वास्थ्य शिक्षा र स्थानीय स्वास्थ्य केन्द्र र समुदायबीचको सम्बन्ध स्थापित गर्ने कार्य र विशेषगरी मातृ र नवजात शिशु सेवाहरू र घरमै सुत्केरी भएको अवस्थामा प्रारम्भिक सहयोग गर्ने काम गर्दछन्।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले भुईं तहमा स्वास्थ्य सेवा लगायत सर-सफाइ आदिमा गरेको अहम् भूमिका विश्वव्यापी मान्यताको लागि योग्य छ। उनीहरूको कामले नेपालमा मातृ तथा बाल मृत्युदरमा निकै कमी ल्याएको र अनगिन्ती महिलाहरूलाई सशक्त बनाएको छ। विश्वजगत नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरूको प्रयासलाई नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत गर्ने समय आएको छ।

आजभन्दा लगभग ४६ वर्षअघि, २०४५ सालमा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम स्थापित भएको थियो। आज, विशेषगरी ग्रामीण र दुर्गम क्षेत्रहरूमा महिला स्वयंसेवकहरूको सञ्जाल स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड बनेको छ। स्वास्थ्य कार्यकर्ताको विरलै उपस्थिति हुने दुर्गम भेगमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्वास्थ्य सेवा र आपत्-विपद्मा पहिलो प्रतिकर्ताको भूमिका निर्वाह गरिराखेका छन्।

महिला स्वास्थ्य स्वयंसेविकाहरूको सबैभन्दा महत्त्वपूर्ण योगदान मातृ र बाल मृत्युदर कम गर्नमा छ। नेपालमा विशेषगरी ग्रामीण क्षेत्रहरू, गरिबी, पूर्वाधारको अभाव र कु-प्रथाले जरा गाडेको ठाउँमा दशकौं पहिले शिशु र मातृ मृत्युको स्थिति भयावह थियो। प्रसव पूर्व र प्रसवोत्तर हेरचाह, खोप, सुरक्षित सुत्केरी, परिवार नियोजन र पोषण प्रवर्धनका माध्यमबाट महिला स्वास्थ्य स्वयंसेविकाहरूले मातृ र बाल मृत्युदर उल्लेख्य रूपमा घटाउन प्रत्यक्ष रूपमा योगदान गरेका छन्। सन् १९९६ मा नेपालमा मातृ मृत्युदर प्रति १ लाख जीवित जन्ममा ५३९ बाट घटेर सन् २०२१ मा प्रति १ लाखमा १५१ मा झरेको छ। यो महत्त्वपूर्ण उपलब्धिको श्रेय महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक् परिश्रमलाई जान्छ।

बाल मृत्युदर घटाउनमा पनि महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान उत्तिकै उल्लेखनीय छ। नेपालमा पाँच वर्षमुनिको मृत्युदर सन् १९९० मा प्रति १ हजार जन्ममा १६२ जनाको मृत्युबाट घटेर सन् २०२४ मा प्रति १ हजारमा २२ हुने गरेको छ। यो उपलब्धि महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्तनपान, सरसफाइ साथै आमाहरूलाई शिक्षित गराउने निरन्तर प्रयासहरूबाट हासिल भएकोमा द्विविधा छैन। समुदायमा खोप कार्यक्रमलाई प्रबर्धन गर्ने र आधारभूत स्वास्थ्य सेवाहरू जस्तै जीवनजल बाँड्ने जस्ता कार्यहरूले बाल मृत्युदर घटाउन सहयोगसिद्ध भएको छ।

अप्रत्यक्ष रूपमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले हजारौं महिलालाई सहयोग गरेका छन् र महिला उत्थानमा सहयोग गरेका छन्। साथै आवाजविहीन महिलाहरूको आवाज पनि बनेका छन्।

चुनौतीपूर्ण भूगोल, दुर्गम ग्रामीण क्षेत्र, यातायात पूर्वाधारको कमी र मौसमी प्रकोप आदिका बावजुद विना पारिश्रमिक आफ्नो समुदायमा सेवा गरिराखेका कारणले नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरूको काम विशेष छ। यी महिला स्वास्थ्य स्वयंसेविकाहरू हाम्रो समाजका हिरो नै हुन्।

स्वयंसेविका गर्भवती महिला, नवजात शिशु र बिरामी बच्चाहरूको लागि सम्पर्कको पहिलो बिन्दु हुन्। न्यूनतम स्वास्थ्य सेवा- खोप कार्यक्रम, जीवन जोगाउने ज्ञान दिन, स्वास्थ्य शिक्षा दिन, बिरामीहरूलाई आवश्यक पर्दा स्वास्थ्य संस्थाहरूमा पठाउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरू दुर्गम गाउँहरूमा घण्टौं, कहिलेकाहीं बाढीपहिरोको पर्वाह नगरी हिंड्छन्।

महिला स्वास्थ्य स्वयंसेविकाहरूको काम स्वेच्छिक हो, कर्मचारी जस्तो निश्चित पारिश्रमिक हुँदैन। तर पनि कठिन चुनौतीका बावजुद आफ्नो स्वयंसेवामा प्रतिबद्ध छन्। प्रायजसो, स्वयंसेविकाहरू दुर्गम क्षेत्रहरूमा बस्ने मानिसहरूका लागि त डाक्टर नै हुन्। स्वास्थ्य क्षेत्रमा मात्र सीमित नभई स्वयंसेविकाहरूले अन्य समाजसेवा र महिलाहरूलाई सशक्त बनाउने काम पनि गरेका छन्।

स्वास्थ्य स्वयंसेविकाको भूमिकाको अलावा, महिला स्वास्थ्य स्वयंसेविकाहरू भुईं तहमा सामाजिक परिवर्तनमा पनि ठूलो भूमिका निर्वाह गरेका छन्। यी महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको सबैभन्दा ठूलो र सबैभन्दा सफल महिला सशक्तीकरणको हिस्सा हुन् भन्दा अतिशयोक्ति नहोला। महिलाहरूको पीरमर्का, लैगिक हिंसा विरुद्ध लड्ने लगायत स्थानीय रूपमा महिलाका आवाज उठाउने काममा संलग्न छन्। अप्रत्यक्ष रूपमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले हजारौं महिलालाई सहयोग गरेका छन् र महिला उत्थानमा सहयोग गरेका छन्। साथै आवाजविहीन महिलाहरूको आवाज पनि बनेका छन्।

स्वास्थ्य स्वयंसेविका कार्यक्रमले भुईं तहमा महिलाहरूको नेतृत्व विकासमा उल्लेखनीय भूमिका खेलेको छ। नेपालको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम महिला सशक्तीकरणको ज्वलन्त उदाहरण हो। नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरूको कामले लैङ्गिक समानता र महिला सशक्तीकरण प्रवर्धन गर्ने विश्वव्यापी लक्ष्यलाई महत्त्वपूर्ण योगदान गरेको छ। यी पौरखी महिलाहरूको योगदानलाई पुरस्कृत गर्दा सामुदायिक स्वास्थ्य, लैङ्गिक समानता, न्याय र सामुदायिक स्तरमा महिला सशक्तीकरण कार्यमा विश्वभर उत्साह बढ्ने नै छ।

नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरूको काम स्वास्थ्यको अवस्था सुधार्ने मात्र नभई स्वास्थ्यको माध्यमबाट भुईं तहमा महिला नेतृत्व स्थापित गर्नेसँग पनि जोडिएको छ । सीमान्तकृत र दुर्गम ठाउँमा स्वास्थ्य जस्तो मौलिक हक प्रत्याभूति गरेर, महिला स्वास्थ्य स्वयंसेविकाहरूले दिगो विकासका लक्ष्यहरू हासिल गर्न योगदान दिइरहेका छन्। नेपालमा सशस्त्र द्वन्द्वको बेलामा पनि द्वन्द्वको प्रभाव रहेको इलाकामा पनि स्वयंसेविकाहरूले सेवा गरेकै हुन्। आणविक हतियारको भयावहताको बारेमा चेतना जगाउने र निशस्त्रीकरण मार्फत शान्ति प्रवर्धन गर्ने निहोन हिडान्क्योको प्रयास जस्तै, नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरूले जीवन जोगाउने शिक्षा, खोपका कार्यक्रममा जनचेतना, महिला सशक्तीकरण गरेर समुदायस्तरमा शान्ति र न्यायको काममा पनि योगदान दिंदै लाखौंको जीवनमा परिवर्तन ल्याएका छन्।

त्यसैले, नेपालको स्वास्थ्य क्षेत्र लगायत लैंगिक सशक्तीकरणमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले खेलेको महत्त्वपूर्ण भूमिकालाई विश्वले पुरस्कृत गर्ने बेला आएको छ। यी स्वयंसेविकाहरूको कामले नोबेल शान्ति पुरस्कारको सम्मान पाउँदा नेपाल मात्र नभई विश्वभर नै समुदायस्तरमा काम गर्ने महिलाहरूलाई ठूलो प्रेरणा मिल्नेछ।

निहोन हिडान्क्योले नोबेल शान्ति पुरस्कार मार्फत विश्वव्यापी ध्यान खिचिरहेको बेला भुईं तहमा निस्वार्थ काम गरिराखेका नेपाली महिलाहरूको कामलाई अब विश्वले हेर्नुपर्छ।

अब, नेपाल सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय विकास साझेदारहरू सबैले नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नोबेल शान्ति पुरस्कारको लागि लबिङ गर्न सहयोग गर्नुपर्छ। महिला स्वयंसेविकाहरूले मातृ र बाल मृत्युदर घटाउन खेलेको भूमिका र स्थानीयस्तरमा महिला सशक्तीकरणमा गरेको योगदानलाई विश्वमा उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्दछ। सामूहिक प्रयास गर्ने हो भने महिला स्वास्थ्य स्वयंसेविकाहरूले नोबेल शान्ति पुरस्कार प्राप्त गरेको सुखद् खबर सुन्न धेरै कुर्नु नपर्ला।

नोबेल शान्ति पुरस्कार विगतका उपलब्धिहरूमा मात्र केन्द्रित नभई भावी पुस्ताका लागि आशा र प्रेरणाको प्रतीक पनि हो। नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेर विश्वले भुईं तहका क्रियाशील महिलाहरू थप सशक्त हुने बल दिनेछ।

(संयुक्त राष्ट्रसंघमा कार्यरत लेखकका यी निजी विचार हुन् )

लेखकको बारेमा
प्रेमराज अवस्थी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?