काठमाडौं । विजय बराल समकालीन घरेलु फिल्मका उम्दा कलाकार हुन् । नाटक हुँदै उनको यात्रा यतिबेला ठूलो पर्दामा जमेको देखिन्छ । ‘कबड्डी’को बिके होस् या ‘पूर्णबहादुरको सारंगी’को पूर्णबहादुर चरित्र । चरित्रमा प्राण भर्न सक्ने र दर्शकलाई चरित्रभित्रै तान्न सक्ने खुबी भएका विजय दर्शकमाझ लोकप्रिय छन् । दशक लामो फिल्म करिअरमा उनी पहिलोपटक ‘पूर्णबहादुरको सारंगी’मा शीर्ष पात्रमा प्रस्तुत हुँदैछन् ।
अहिलेसम्म साइड-रोलमा देखिएका उनले यसमा सिंगो फिल्मको भार बोक्दैछन् । चरित्रप्रधान फिल्मको दबदबा सुरु हुँदा के निर्माताले अब साइड–रोलको अवधारणा बदल्नुपर्ने भएको हो ? कात्तिक १५ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को आयाममा रहेर अभिनेता बरालसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानी :
फिल्मको रुपमा ‘पूर्णबहादुरको सारंगी’ के हो ?
चरित्रको हिसाबमा बसेर हेर्दा पुस्तान्तरणसहितको रुपान्तरण सोच्ने एउटा बाउको कथा हो । प्रेमदेखि अन्तिम अवस्थालाई यसमा चित्रण गरिएको छ । बाउ भइसकेपछि जहिले पनि सपना देख्छ । मेरो छोरा जन्मियो, अब मैले उसको लागि सपना देख्छु । फिल्मले शिक्षा प्रणालीलाई थोरै जोड्छ । त्यो बेलाको समय र अहिलेको समयलाई रिलेट गर्छ । बीचको पुस्ता र अघिल्लो पुस्ताको बीचमा बसेर यसले कथा भनेको छ । फिल्ममा गन्धर्व समुदाय नै उठान गरिएको छ ।
शीर्ष कलाकार भएर तपाईंले यसमा पहिलोपटक काम गर्नुभएको छ । लिड एक्टर भएर काम गर्नुको दबाब र गुरुत्वको अनुभव कस्तो हुने रहेछ ?
प्रायः मैले दया दाइ (दयाहाङ राई)सँग सपोर्टिङ एक्टर भएर हिंड्ने मान्छे अलिकति भार महसुस हुने रहेछ । साइड एक्टर भएर काम गर्दा मेरो काम भनेको बाटो मात्र डोर्याउने ठाउँमा पिच सफा गरेर हिंड्नुपर्छ भन्ने लाग्थ्यो । पहिलोचोटि भार महसुस भयो । थिएटरमा लिड गर्छु भन्दा अलिकति डर महसुस हुन्थ्यो । यहाँ सुरुमै डर महसुस भयो । मेरो चरित्र हिरो त हैन, चरित्रप्रधान हो ।
क्यारेक्टर त गरिरहने मेरा लागि यो सहज कुरा हो । पछि शान्त भएर आफूलाई सहज बनाइहालें मैले । अहिले पनि मलाई सिनेमाले कति व्यापार गर्छ, त्यो टेन्सन छैन । मैले गरेको अभिनयबारे दर्शकले के सोच्नुहुन्छ भन्ने हो । एक्टरको हिसाबमा एउटा फिल्म गरेपछि अर्को फिल्म गर्दा प्रोग्रेसिभ होस् भन्ने चाहना हो । फरक देखियोस्, राम्रो होस् भन्ने टाइपको अभिनय यसमा गर्न पाएको छु । अलिकति भार त महसुस हुनेरहेछ ।
फिल्मको नबन्दै निर्माता र निर्देशक यो कलाकारलाई लिडमा लिने र अर्कोलाई सहायक कलाकारको रुपमा मनस्थितिमा भेटिन्छन् । के यतिबेला यो सोचाइलाई परिवर्तन गर्नुपर्ने बेला भइसकेको हो ?
निर्माता र वितरकलाई देखिएको इमेजलाई लिड कलाकारको रुपमा लिंदा अलिकति धेरै मास आउँछ भन्ने सोच हुन्छ । तर हामीले सिनेमाको शैली पनि त निर्माण गर्नुपर्यो । शैली निर्माण गर्दा चरित्रप्रधान भइहाल्छ । चरित्रप्रधान भएर पनि सिनेमा बन्छन् होला भन्ने मानक त बन्छ होला । यो सोच पनि बदल्नु जरुरी छ । चरित्रले गर्ने बानी-व्यवहार र त्यो कुराले देखिने कुराले त हिरो देखिने हो । एउटा हिरो वा स्टार भनेको फरक चीज हो । चरित्र भएर काम गर्नु फरक चीज हो । उहाँहरुले यसरी सोचिदिनु मेरो लागि फाइदाको कुरा हो । उहाँहरु त बिजनेसको हिसाबले सोच्ने मान्छे झनै । उहाँहरुले यो सोचेर मलाई लिइदिनुभएको छ ।
के अब कन्टेन्ट र चरित्रप्रधान फिल्म बन्नुपर्छ भन्न खोज्नुभएको हो ?
पछिल्लो समय ‘खुस्मा’देखि जुन जुन फिल्म फेस्टिभलमा चले, हेराइ नै फरक रहेछ । मलाई हेर्दा ठीकै लाग्छ, तर कसरी चलिराखेको छ भन्ने पनि भएन । यहाँ तपाईंले हेर्ने पर्सपेक्टिभ र मैले हेर्ने पर्सपेक्टिभ नै फरक भयो । तपाईं कलात्मक कोण र डिटेलिङ शैलीबाट हेर्नुहुन्छ होला, म अभिनयको कोणबाट हेर्छु । दर्शक र मास यो कारणले हेर्न जान्छन् भन्ने बुझाइ नै फरक भयो । कोही यो व्यक्ति आयो, कोहीले यो कथाले छोयो यही कारण म हेर्न जान्छु भन्छन् । सबैको दृष्टिकोण चेन्ज छ । हामीले सोचाइको तह चेन्ज गर्नुपर्छ ।
यी सन्दर्भमा ‘पूर्णबहादुरको सारंगी’ले बक्स अफिसमा के गर्ला ? कस्तो छ अपेक्षा ?
मनबाट म ५०-५० प्रतिशतमा केन्द्रमा छु । दर्शकलाई तान्ने अपिलिङको हिसाबमा यसमा संवेदना छ । नेपाली दर्शक जति छन्, सबैको रुट गाउँमा हुन्छ । हामी जतिजना काठमाडौंमा आएपनि हामी सबैको बेसलाइन गाउँ नै हुन्छ । भोगाइको हिसाबले फिल्म हेर्ने एउटा कुरा होला । अहिले एक किसिमको सिनेमा बहाव आइरहँदा शान्तपनको पनि सिनेमा चाहिन्छ । हतार छ भने शान्त ठाउँमा बसौं न, घाम भएको छ भने एक्लै गफ गरौं न । त्यस्तो टाइपको भाव यो सिनेमाले बोक्छ । मुड आएर हेर्दिऔं भन्ने कुरा हाम्रो लागि प्लस प्वाइन्ट हो । शुक्रबार नै हाउसफुल होला भन्ने म सोच्दिन तर हेरिसकेपछि दर्शकको संख्या बढ्दै जान्छ भन्ने मेरो आशा छ । यसको प्यार्टन हेर्दा विस्तारै ग्रोथ हुन्छ कि जस्तो लाग्छ ।
आगामी फिल्ममा शीर्ष भूमिका निर्वाह गर्ने उत्साह यो फिल्मले कति प्रदान गरेको छ ?
अहिले चाहिं तपार्इंले भनेपछि हो जस्तो लागेको छ । आजसम्म मैले यसरी सोचेकै छैन । यो फिल्म शुक्रबार जसरी रिलिज हुन्छ, शनिबार र आइतबार यसको रेस्पोन्स जसरी आउला, यसबाट मेरो दिमागमा यो कुरा सेट होला । अहिलेको अवस्थामा चरित्र मैले गर्ने हो । मलाई दिइएको क्यारेक्टरलाई फरक ढंगबाट मात्र गर्ने हो । यसपछि मलाई भयंकर लिडै लिड आउँछ भन्ने कल्पना पनि गर्दिनँ । एक्टरको रुपमा यसले गर्छ भन्ने निर्माताको बुझाइ मप्रति भयो भने चाहिं यसले जुनसुकै कुरा गर्ने आँट आउँछ भन्ने सकारात्मकता मलाई आउँछ । यही हुन्छ भन्ने चाहिं मैले सोचेको छैन ।
यो फिल्मले तपाईंको आगामी मार्गचित्र कता जाला भन्ने एक किसिमले निर्क्योल पनि गर्ने भयो, हैन ?
मेरो सिनेमा करिअर १२ वर्ष पुग्यो । बाह्र वर्षमा खोलो फर्किएजस्तै भएको छ यो फिल्म मेरो लागि । म यस्तो बिन्दुमा छु कि यसले निर्धारण गर्छ अघि वा पछि भन्ने कुरा । मेरो लाइनलाई एक किसिमले यसले निर्धारण गर्ला ।
तपाईंले ‘कबड्डी’ श्रृंखलामा बिकेजस्तो सुपरहिट क्यारेक्टर पनि गर्नुभयो । पूर्णबहादुर जस्तो अपेक्षित राम्रो क्यारेक्टर पनि गर्नुभएको छ । तपाईंको फिल्मी करिअरमा पूर्णबहादुर पात्रको स्थान कहाँनेर हुन्छ ?
यो सिनेमा गरेपछि मेरो लागि यो क्यारेक्टरको स्थान पहिलो नम्बरमा भइसकेको छ । दर्शकको लागि बिके नै हो पहिलो त । मेरो लागि पूर्णबहादुर नै हो । यसमा मैले तीन रेन्जमा काम गरेको छु । एउटा आफूभन्दामुनिको रेञ्ज, एउटा आफ्नो उमेरको र अर्को पूरै बूढाको रेन्ज । एउटै सिनेमामा तीनखाले रेन्ज देखाएको छु । अभिनयका तीन रेन्ज, तीन भेरिएन्स र तीनवटा मनोविज्ञान छ । यसले तत्कालै बिकेको इमेज मेटाइहाल्दैन । बिकेको इमेज अर्कै छ । बिके चाहिं साथीभाइ जस्तै भइसक्या छ, चिया खान बोलाए आउने । बिकेको त्यो चरित्रलाई धुमिल बनाउन नसक्ला, बिकेपछिको बुलन्द चरित्र पूर्णबहादुर हुन्छ कि भन्ने कल्पना छ मेरो लागि । तर मासको लागि बिके भनेको बिके नै हुन्छ भन्ने मेरो कल्पना हुन्छ ।
पूर्णबहादुर र विजय बरालको निजी जीवनबीच कस्तो प्रकारको सम्बन्ध देखिन्छ ?
ब्याकस्टोरी सिर्जना गर्दा मेरो र पूर्णबहादुरको भोगाइ छुट्याउँछौं । के–के कुराले छुन्छ ? जस्तै, म बाँचेको भौगोलिक अवस्था, मेरो जन्म २०४५ सालतिर भएपनि त्यो सालको अवस्था त आँखाले देखेको छु । त्यो बेला गुच्चा खेल्थ्यौं होला, साथीभाइ खेल्ने अनेक उपाय हुन्थे होला । पूर्णबहादुरको चरित्रसँग निकट हुन मैले के के गरें त भन्ने कुरा जोडिने रहेछ । यसको प्रमुख तत्व हजुरबुबासँगको सम्बन्ध हो । अहिलेको पुस्तामा नाति र हजुरबुबाको सम्बन्ध कम छ । अहिले बढी हजुरबा नातिसँग बस्ने अवस्था गइसक्यो, जति हाम्रो बेलासम्म थियो ।
मेरो हजुरबा हजुरआमासँग राम्रो सम्बन्ध थियो । यी सबै कुरा फिल्ममा राख्ने प्रयास गरेको छु । मेरो हजुरबासँगको कनेक्सन यसमा हालेको छु । छोरा भइसकेपछिको भावनात्मक संस्मरण पनि यसमा छिराएको छु । किनभने म सुटिङमा ४० दिन हुँदा पनि ऊ मनमा हुन्छ । फिल्ममा जुन कमल भन्ने भाइको चरित्र छ, त्योसँग छोराको जस्तै सम्बन्धको विकास भएको छ ।
पूर्णबहादुरको सारंगी जस्ता फिल्म अहिलेको समय र सन्दर्भमा किन बन्न जरुरी छ ?
अहिलेको पुस्ताले त्यो समय देखेको छैन, त्यो समय देखाउनलाई पनि यो फिल्म बन्नु जरुरी भयो । ‘जारी’जस्तो स्लो–प्यार्टनको कथालाई पनि त धेरैले मनपराउनुभयो । अहिले युट्युबमा पनि एक करोड भन्दा धेरै भ्युज गइसक्यो भनेपछि दर्शकले यस्तो शैलीको फिल्म हेर्न मन पराउनुभएको छ । जारीमा त्यो बेलाको समय, भौगोलिक अवस्था र सन्दर्भ त हेर्नुभएको होला । गन्धर्व संस्कार पूर्णरुपमा नदेखिएपनि फिल्मले यसमा देखाउने प्रयास गरेको छ । परिवर्तन विस्तारै आउने हो नि त । त्यसकारण यस्ता खालका फिल्म बन्न जरुरी छ । शैली त निर्देशकले आफ्नो तरिकाले बनाउने होला । नेपाली शैली र विधि कस्तो हुन्छ त ? यो शैली पनि यो फिल्मले केही हदसम्म देखाउन मद्दत गरेको छ ।
यो फिल्मको केन्द्रमा सारंगी बाजा छ । यसले बाजा संरक्षणतर्फ केही सन्देश दिन्छ कि ?
सारंगीलाई पुस्तान्तरण पनि गर्नुपर्छ । साथै, यसलाई उत्पादनशील पनि बनाउन जरुरी छ । पहिले हामीले कथा सारंगीबाटै सुन्ने हो । यो भनेको कथावाचन शैली हो । सारंगीले कथावाचन शैलीको निर्माण गर्यो । यसरी निर्माण गरिएको कथावाचन शैलीलाई व्यवसायीकरण गर्नुपर्यो । हिजो हामी पोखरामा सारंगी उत्सवमा थियौं । धेरै बच्चाले बजाइरहनुभएको थियो । गन्धर्व समुदायको धेरैजना हुनुहुन्थ्यो । हामी पनि त्यहाँ छिर्यौं । यी परम्परागत बाजालाई उत्पादनशीलतामा जोड्न सक्नुपर्छ । म अरु पेशा गर्छ, यो पनि छाड्दिन । म प्रोफेसर हुन्छु तर सारंगी बजाउन पनि छाड्दिनँ । संगीत, संस्कृति बाँचिरहने कुरा हुन् । सहर भनेको त बिल्डिङ मात्र हैन नि त, संस्कृति पनि हो ।
प्रतिक्रिया 4