+
+

नेपाली फिल्मका सर्वप्रिय गीत, जसले बनाउँछन् तिहारको माहोल

राजन घिमिरे राजन घिमिरे
२०८१ कात्तिक १४ गते १४:२२

तिहारै आयो लौ झिलिमिली

सुन हजुर भैलिनी आइन् आँगन

जब तिहार नजिकिन्छ, तब फिल्म ‘स्वर्ग’मा समावेश यो गीत गाउँसहरमा घन्किन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी गुञ्जिन थालेको २५ वर्षभन्दा बढी भइसक्यो । आज पनि यो गीतको लोकप्रियतामा रत्तिभर कमी आएको छैन ।

कम्तीमा पनि तीन पुस्ता यो गीतमा रमाइसकेका छन् । २०५० सालमा रिलिज भएको फिल्म ‘स्वर्ग’को यो गीत तिहारको ‘सिग्नेचर सङ’ नै बनेको छ । गीतमा यादव खरेल शब्द, शम्भुजीत बास्कोटाको संगीत, लोचन भट्टराई र नूतन प्रधानको स्वर छ ।

अभिनेत्री गौरी मल्ल २५ वर्षअघि यो गीतको छायांकन गर्दाको क्षण अझै पनि झल्झली आउने सुनाउँछिन् । ‘मैले जीवनमा धेरै राम्रा गीतहरुमा काम गर्ने अवसर पाएँ । ती गीतमध्ये यो गीत मलाई चिनाइरहने गीतमा पर्छ,’ उनी भन्छिन्, ‘हामीले यो गीत चाँगुनारायण क्षेत्रमा खिचेका थियौं । तीन रात निकै मेहनत गरेर खिचेको यो गीत मेरो कलाकारिताको उच्चतम् उपलब्धिभित्र पर्छ ।’ यो गीतको कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका थिए ।

दियो बाली साझको

फूल चढाई पूजाको

माता लक्ष्मी बसीदे आज

घर संसार सानो हाम्रो

फिल्म ‘चिनो’को यो गीत पनि तिहारको बेला धेरै गुञ्जिने गीतमध्ये पर्छ । कुसुम गजमेरको शब्द र रञ्जीत गजमेरको संगीत रहेको यो गीतमा आशा भोस्लेको गायन छ । फिल्म ‘चिनो’का निर्देशक तुलसी घिमिरे हुन् । यो गीतमा शुभद्रा अधिकारी र केशव भट्टराईले अभिनय गरेका छन् ।

फिल्म ‘अन्याय’को गीत ‘अधरमा आज’ पनि धेरै रुचाइएको तिहार गीत हो । २०४६ सालमा रिलिज भएको यो फिल्मको गीतमा रञ्जीत गजमेरको संगीछ छ भने मनिला सोताङले गाएकी छन् । विश्व बस्नेत र मीरा माधुरी अभिनित ‘अन्याय’लाई तुलसी घिमिरेले निर्देशन गरेका हुन् ।

‘फिल्ममा हामीले गीत मात्र होइन, टीका लगाएको र तिहारको थप परिवेशलाई पनि समेटेका छौं । यस्तै कारणले पनि त्यतिबेला यो फिल्म हेर्न पारिवारिक दर्शकहरूको भीड लागेको थियो,’ अभिनेता विश्व बस्नेत सम्झिन्छन् ।

फिल्म ‘विजय पराजय’मा समावेश गीतको भाइटीकाको परिवेश प्रस्तुत गरिएको छ ।

निधारमा लर्काएर सप्तरंगी टका

हिंडिरहु सधैं तिमी शिखरको बाटो

ओखरमा फोडिदिएँ बाधाहरू मैले

फिल्ममा बहिनी बनेकी रूपा रानाले दाजु बनेका दुई अभिनेता भुवन केसी र कृष्ण मल्ललाई भाइटीका लगाइदिएको दृश्य गीतमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

यो गीतमा दिनेश अधिकारीको शब्द र शम्भुजीत बास्कोटाको संगीत छ । गीतमा हेमलताको स्वर छ । २०४७ सालमा प्रदर्शनमा आएको ‘विजय पराजय’लाई राजेन्द्र शलभले निर्देशन गरेका हुन् ।

फिल्ममा तिहारको परिवेशलाई समेटेर गीत बनाइए पनि भाइटीकालाई नै मुख्य कथा बनाएर निर्माण गरिएको फिल्म ‘भाइटीका’ हो । १७ वर्षअघि रिलिज भएको यो फिल्मलाई लक्ष्मीनाथ शर्माले निर्देशन गरेका हुन् ।

फिल्म ‘बन्दी’मा पनि तिहारसम्बन्धी गीत समावेश गरिएको छ । सञ्चिता लुईंटेल अभिनित यो फिल्ममा ‘भैलो खेलौं है भैलिनी हो’ गीतलाई दयाराम पाण्डेले लेखेका हुन् । गीतमा अञ्जु पन्तको स्वर र महेश खड्काको संगीत छ ।

एक दशक भन्दा अघि रिलिज भएको श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का अभिनित फिल्म ‘कोहिनूर’को ‘यसपालिको तिहारै रमाइलो’ गीत पनि पछिल्लो समय तिहारमा धेरै गुञ्जिने गीतमा पर्छ । सुन्दर श्रेष्ठको शब्द र शम्भुजीत बास्कोटाको संगीत रहेको यो गीतमा अञ्जु पन्त र प्रमोद खरेलको स्वर छ ।

पहिलेका फिल्महरुमा नेपाली चाडबाड र रीतिरिवाजलाई प्राथमिकताका साथ राखिने गरिए पनि पछिल्लो समयमा यसमा कमी आउन थालेको धेरैको गुनासो छ ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?