तेजाबबाट जलेको काकाको हातबाट सिराजले शुद्ध सुन बनाउन सिकिरहेका थिए । यो कराँचीस्थित शेरशाह मार्केटको इलाका हो, जहाँ खैबर पख्तुनख्वाको एउटा सानो गाउँबाट ठूला ठूला सपना बोकेर सिराज आएका थिए ।
सिराज आफ्नो गाउँबाट निस्किने बेलामा प्रण गरेका थिए कि उनी कराँची गएर जे काम गर्नेछन् त्यसमा महारथ हासिल गरेसँगै गाउँ फर्किएर आफ्ना साथीहरुलाई पनि सोही काम सिकाउनेछन् ।
करोडौँको भीडभाडयुक्त शहरमा सिराजले एउटा निम्नदर्जाको काम भेट्टाए पनि, जसका बारेमा उनले बालकै छँदा सुनेका थिए । एक जमानामा कराँचीको नेपा फ्लाइओभर पार गर्दैगर्दा बायाँतर्फ एउटा ठूलो मैदान देखिन्थ्यो ।
त्यसको ठीक बीचमा सुन तथा चाँदी रङका भवनहरु बनेका थिए । त्यसमा ठूला ठूला ब्यानर टाँगिएको थियो, जसमा लेखिएको थियो–फोहोर दिनुहोस्, सुन लैजानुहोस् ।
सो नारा गुल बहाव ट्रस्ट नामको एउटा गैर सरकारी संस्थाले राखेको थियो, जो त्यस जमानामा आफ्नो नयाँपनका कारण चर्चित थियो ।
फोहोर अर्थ थियो – दैनिक रुपमा घरमा जम्मा हुने कुडा कर्कट तथा कारखानाबाट उत्सर्जित फोहर अनि सुनको अर्थ थियो – त्यो निर्माण ढाँचा जुन गुल बहावले सो फोहोरको मद्दतबाट बनाएर दिने गर्दथ्यो ।
त्यसबेला पहिलोपटक कराँची आउँदा सिराज जम्मा ८ वर्षका थिए ।
एकदिन पहलमान गोठ जाँदै गर्दा गुलिस्तान कोचको झ्यालबाट उनले सो ब्यानर पढेका थिए । त्यो पढ्दा उनी तिनछक परेका थिए, आखिर फोहोर दिएर कसरी सुन पाउन सकिन्छ ?
त्यसबेला त सिराज गाउँ फर्किए तर केही वर्षपछि आफ्ना एकजना भतिज शाहिदसँग उनको फोनमा कुराकानी हुँदा शाहिदले भने कि आफू कराँचीमा फोहोरबाट सुन बनाउने काम गरिरहेको बताए ।
सिराज त्यो सुनेर झसंग भए । ‘फोहोर दिनुहोस्, सुन लिनुहोस्’ लेखिएको ब्यानर उनको आँखै अगाडि घुम्न थाल्यो । त्यसको केही दिनमै उनी कराँचीमा रहेको आफ्ना काका अली गुलको घरमा पुगे ।
सोझासाझा बालक सिराजको मनमा एउटै कुरा थियो कि उनले निकै धेरै फोहोर जम्मा गर्नेछन् र त्यसको बदलामा सुनका इँट्टा लिनेछन् अनि त्यो इँटालाई फोडेर त्यसका टुक्राहरु गाउँलेलाई बाड्नेछन् । तर त्यो कुरा त्यति सिधा थिएन ।
शेरशाह कबाडी बजार
सिराजसँग मेरो परिचय शेरशाह कबाडी बजारस्थित भुलभुलैयाको एउटा गोदाममा भयो । मैले पनि त्यही सुन खोजी गरिरहेको थिएँ, जसको सपना देख्दै सिराज कराँची पुगेका थिए ।
त्यहाँ सिराजसँगै उसको भतिज शाहिद र उसका पारंगत काकासँग मेरो कुराकानी भयो
ती काकाले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् तर उनी आफ्नो काममा निकै संवेदनशील थिए । उनले आफ्नो कामको तस्वीर सम्म खिच्न दिएनन् र नाम नबताउने शर्तमा मात्रै कुरा गर्न राजी भए ।
आखि शेरशाह बजारमा कम्प्युटरका फोहोरबाट कसरी सुन निकालिन्छ र त्यो काम कसरी हुन्छ ? भन्ने कुरा हामीलाई बुझ्नु थियो ।
त्यहाँसम्म पुग्न पनि सजिलो थिएन । धेरै कच्ची सडकहरु, गोदाम तथा टुटे फुटेका बाटाहरु पार गरेर अघि बढेपछि एउटा शटरवाला पसल थियो, जसभित्र एउटा गोदाम थियो ।
एउटा ठूलो चिम्नी छतबाट झुण्डिएको थियो जसको तलपट्टि माटो तथा ड्रमका चुल्हाहरु बनाइएको थियो । एकातर्फ धेरैवटा डिब्बाहरु राखिएको थियो र त्यसको छेउँमा दाउराको थुप्रो थियो ।
ती काठदाउरासँगै रंगीन प्लास्टिकका सयौँ टुक्राहरुको थुप्रो पनि थियो, जसमध्ये अधिकांश हरियो र निलो रंगका थिए । ती प्लास्टिकका टुक्राहरु वास्तवमा प्रयोग भइसकेका कम्प्युटर मदरबोर्ड हुन् ।
फोहोरबाट कसरी सुन निकालिन्छ भन्ने कुरा सिराजलाई पहिलोपटक त्यही नै थाहा भयो ।
वास्तवमा कराँचीको शेरशाह विकसित देशहरुबाट आयात गरिएका पुराना तथा बिग्रिएका कम्प्युटरहरुको डम्पिङ साइट नै हो । ती आयातित कम्प्युटरमध्ये चालु अवस्थामा रहेका केही पुराना तथा नयाँ कम्प्युटरहरुलाई छुट्याएर मर्मत तथा जोडजाड पारेर बिक्री गरिन्छ ।
तर बिग्रिएका तथा नचल्ने हालतका कम्प्युटरहरु चाहिँ शेरशाहको गोदाममा राखिन्छ । यस्तै गोदाममा कम्प्युटरलाई खोलेर त्यसका पाटपुर्जालाई छुट्टाइन्छ र तिनै पाटपुर्जालाई फोडेर त्यसबाट तामा, फलाम, सुन तथा अन्य धातुहरु निकालिन्छ ।
कम्प्युटरबाट सुन कसरी निकालिन्छ ?
शिराजले काम गर्ने गोदाममा आफ्नो नाम नबताउने ती पारंगत काकाले पनि काम गर्दछन् जो उक्त काममा पोख्त छन् ।
उनले कम्प्युटरका प्रयोग भइसकेका पूराना मदरबोर्डलाई लिएर आगोमा पोल्दछन् र त्यसमा जडित पिन तथा पाटपुर्जालाई खुकुलो पारी ज्यावलले बाहिर निकाल्छन् ।
त्यो काम कति धेरै पीडादायी छ भन्ने कुराको अनुमान काकाका हात देखेरै लगाउन सकिन्थ्यो । उनको हातमा ठाउँठाउँमा घाउ तथा जलेका दागहरु थिए ।
दुई घण्टाभित्रमा काकाले करिब डेढसय मदरबोर्ड जलाएर तथा कोतरेर सफा गरे र उनको एकातर्फ पिन, आइसी, ट्रान्जिस्टर तथा चिप्सहरुको थुप्रो लागेको थियो ।
काकाले फेरि त्यस थुप्रोबाट छाँटकाँट सुरु गरे। सुनौलो रङका पिन तथा पुर्जाहरुलाई छुट्टाएर उनले एकातर्फ राखे । केही पाटपुर्जाबाट उनले सुनौलो रौँ जस्ता निकै पातला तारहरु पनि छुट्टाउनु पथ्र्यो । त्यसरी सुनौला तार, पिन तथा पातोहरुको खात बन्थ्यो ।
त्यत्तिकैमा शाहिदले कपडाले छोपिएको एक विद्युतीय तराजु लिएर आए । तौलिँदा त्यसको वजन चार किलोभन्दा धेरै भयो ।
अब पालो थियो चुल्होमा आगो दन्काउने । काकाले अह्राएपछि सिराज र शाहिद दुबैजनाले काठका मोटा मोटा दाउरा लिएर आए । काठका ती टुक्राहरु चुल्हाको छेउँछाउँ राखियो । आगोलाई हावा दिनका लागि प्रेसर पंखा लगाउँदा दाउराहरु सेकेण्ड भरमै दन्किन लागे ।
त्यहीबेला काकाले भने, ‘छाड केटाहरु ।’
शाहिदका अनुसार काकाको हातमा सिक्का नामको धातु थियो जसलाई उनले तातो चुल्होमा पोख्न सुरु गरे र अत्यधिक तापक्रमले गर्दा त्यो सिक्का नामक धातु नै उम्लिन थाल्यो । काकालाई सोध्दा यत्तिमात्र थाहा भयो कि त्यो एउटा केमिकल हो, जसलाई सुन बनाउने तेल भनिन्छ ।
त्यो उम्लिरहेको तरल पदार्थमा काकाले दिनभर मेहेनत गरेर जम्मा गरेको सुनौलो फोहोर हालिदिए ।
करिब आधा घण्टासम्म त्यो रातो लाभा चम्किरह्यो । त्यसक्रममा एउटा अनौठो खालको धुवाँ निस्कियो । चुल्हाबाट निस्केको धुवाँले लगातार रङ बद्लिरहेको थियो ।
काकाले एउटा तरल पदार्थमा चिम्टा हालेर जे समाए त्यसपछि सुनौलो फोहोर चुल्हाको सतहको रंगमा परिवर्तन भएर एउटा पातलो प्लेट बनिसकेको थियो, जसमा खरानी पनि लागेको थियो ।
जब काकाले त्यो प्लेटलाई निकालेर नजिकै भाँडोमा रहेको पानीमा चोपे तब गडगड आवाजसहित बाफ उड्यो, मानौँ कि पानीमा भिजाएको प्याज तातो तेलमा खन्याइएको छ ।
बाहिर निकाल्दाचाहिँ त्यो प्लेटबाट खरानी हटेर सफा देखियो । काकाले भने, ‘सिराज हेर, चक्की तयार भयो ।’
शाहिदले एउटा कालो रङको बोतलजस्तो ड्रम दुबै हातले उठाएर त्यस नालीतिर लगे जुन चुल्हादेखि केही पर पानीको धारासँगै बनेको थियो ।
काकाले चक्कीलाई स्टिलको ट्रेमा राखे । सोधेपछि के कुरा थाहा भयो भने स्टिलको ट्रेमा चक्कीलाई तेजाबले यसकारण धुनुपर्छ किनकि स्टिललाई नुनको अलावा कुनैपनि अर्को केमिकलले असर पार्दैन ।
असली र शुद्ध सुन
जब उक्त चक्कीमा धुवाँ छाड्दै नाइट्रिक एसिड खस्यो, चक्की पग्लिएर तरल बन्न थाल्यो । ट्रेबाट उडेको धुवाँको रङ पनि बदलिरहेको थियो र यसपटक गन्ध पनि तिखो थियो ।
काकाले नजिकै बोलाएर देखाए कि कसरी अब सुनका कणहरु स्टिलको ट्रेको सतहमा जम्मा हुँदैछन् र अन्य धातुहरु चक्कीमै टाँसिइरहेका छन् । सिराजले आफ्नो आँखाकै अगाडि असली सुन चम्किएको देखेको त्यो नै पहिलो पटक थियो ।
त्यस पछाडिको कामचाहिँ शाहिदले सम्हाले । उनले पानीको माध्यमबाट तरल बनिसकेको एउटा हिस्सालाई नालीमा बगाइदिए र बाँकी टुक्रालाई एकातर्फ राखे । ती टुक्राहरुमध्ये जुन धातुहरु पछि छुट्याइनेछ त्यो मूल्यवान त हुनेछ तर सुन जत्तिको चाहिँ होइन ।
त्यतिबेला तल ट्रे मा सुनौला कण प्रष्ट देखिन थालेका थिए । त्यसपछि ती कणहरुलाई अरु थप दुई तीनथरी रंगीचंगी केमिकलहरुले धोइयो ।
त्यसपछि काकाले एउटा सानो प्यालाजस्तो भाँडो लिएर आए जुन सुन वा चाँदीजस्ता धातुहरु पगाल्न प्रयोग गरिन्थ्यो । सो भाँडो जनावरका खुर, हड्डीको खरानी वा नरम माटोबाट बनाइन्छ र उच्च तापक्रममा पनि पग्लिँदैन ।
शाहिदको हातबाट लिएर काकाले ती सुनका कणलाई निकै सावधानीपूर्वक उक्त भाँडोमा हाले र करिब २० मिनेट उच्च तापमा त्यसलाई तताए ।
त्यसक्रममा उनले चिम्टाको सहायताले उक्त भाँडो पटक पटक बाहिर निकालेर त्यसमा नुन हाल्ने गर्थे ताकि सुनका कणहरु त्यो भाँडोमा नटाँसियून् ।
आगो निकै तीव्र भइसकेको थियो । त्यसपछि काकाले त्यो भाँडोलाई चिम्टाले निकालेर गमलाजस्तो भाँडोमा पोखिदिए । उक्त भाँडोमा एउटा चम्किलो वस्तु खस्यो । उनले त्यही चम्चाले उक्त वस्तु उठाएर पानीमा हालेर चिस्याए ।
त्यो नै थियो सुन, शुद्ध सुन जुन फोहोरबाट निस्किएको थियो । सिराजको आँखाकै अगाडि निस्किएको थियो । सिराजलाई त्यो काम मन पर्यो ।
उनी काकासँगै हरेक दिन गोदाममा आएर त्यहीँ काम गर्न चाहन्छन् तर उनलाई थाहा छ कि त्यो काम गाउँमा हुन सक्दैन । गाउँमा सबै कुरा छ, तर कम्प्युटरका मदरबोर्ड छैनन् । सुन बनाउने फोहोर छैन ।
कराँचीमा विद्युतीय फोहोरबाट सुन निकाल्ने मानिसहरुको सुनका गहना बनाउनेहरुसँग गहिरो सम्बन्ध छ ।
सुन पसलेहरुले त्यसरी निकालिएको सुनमा कसी लगाएर त्यो कति क्यारेटको हो भन्ने पत्ता लगाउँछन् । अनि त्यसदिनको सुनको बजार भाउको हिसाबमा मूल्य निर्धारण गरिन्छ ।
उक्त किनबेचबाट प्राप्त हुने रकमबाट कारखानाका मालिक आफ्नो भाग निकालेर बाँकी रकम मजदुरको ज्यालामा बाँडिदिन्छन् अनि बाँकी हिस्सा कच्चा पदार्थ, केमिकल तथा दाउरा खरीद गर्नका लागि छुट्टाएर राख्दछन् ।
बीबीसीको सहयोगमा
प्रतिक्रिया 4