हाम्रा मन्त्री र सरकारी अधिकारीहरूलाई विमानस्थल निरीक्षण भ्रमणमा देख्न पाउँदा हामी सबैलाई खुसी र गर्व अनुभूति हुन्छ । उता पुगेर यो गर्नू, त्यो गर्नू अनि यो चाहिँ नगर्नू भन्ने उर्दी टीभी अनि सञ्जालहरूमा देख्दै आएको नि धेरै भयो । उनीहरूले सुविधाहरूको व्यक्तिगत अनुगमन गर्नु, यात्रुहरूसँग प्रत्यक्ष कुरा गर्नु र सरसफाइदेखि ट्रली उपलब्धतासम्म सबै पक्षलाई सन्तोषजनक बनाउन निर्देशन दिनु, यी सबैले हाम्रो विश्वास अझ बढाउँथ्यो । खासगरी मन्त्रीहरू उपस्थित हुँदा यात्रुहरूको उत्साह छुट्टै नै देखिन्थ्यो । यसरी, नेताहरू हाम्रो विमानस्थलको सेवामा प्रत्यक्ष रुचि राख्छन् भन्ने महसुस गर्नु सुखद अनुभव थियो ।
यति धेरै निरीक्षण अनि निर्देशन पछि विमानस्थलमा सुधार देखिन थालेको छ । सानो विमानस्थलमा सबै कुरा गर्न सकिन्न त्यो सत्य हो । मन्त्रीका भ्रमणमा सबै पदाधिकारी उपलब्ध हुने, जसरी हुन्छ काम भइरहेको भान पार्नु पनि यो सिलसिलाको अर्को पाटो हो । सफा एकपटक विस्मयकारी हुने अनि नियमित चाहिँ हुनपर्ने किसिमको पनि नहुने हाम्रो साझा रोग नै हो जुन सर्वव्यापी छ । आफूले निर्देशन दिएरमात्र सम्भव भएको भन्ने जस लिन खोज्ने प्रवृत्तिसँग पनि हामी चिरपरिचित नै छौं ।
यहाँ चर्चा गर्न लागेको विषय यस्तै परिवेश तर फरक कोणबारे हो । हालै लन्डनको हिथ्रो विमानस्थल उत्रिँदा, मैले विल्कुल फरक अनुभव गरेँ । लामो यात्रापछि जब यात्रु ओर्लन तयार थियौं । लामो यात्रापछि सायद बाहिर निस्किन धेरै उत्सुक, केही अधैर्य पनि थियौं । अलिक समय यसै कुरिसकेपछि जहाजको ढोका नखुल्दा एक यात्रुले परिचारिकालाई सोध्दा ‘प्राविधिक समस्या’ भएको र केही मिनेटमा नै जान पाइने जवाफ आयो ।
आधा घण्टापछि पुनः सोध्दा मिनेटको जवाफ पश्चात अर्को करिब आधा घण्टा नै व्यतित गरिसक्दा पनि यस विषयमा जहाजमा कुनै जानकारी गराइएन । लामबद्ध भएर यत्रो लामो समय बिताउँदा पनि कुनै अपशब्द प्रयोग भएन, बरु सेवाका लागि धन्यवाद दिएर नै सबै यात्रु झरे । कुनै गुनासो वा असन्तुष्टिको आवाज सुनिएन । यात्रुहरू शान्तपूर्वक पर्खिरहे, विना हल्लाखल्ला ।
अध्यागमनमा झन्डै एक घण्टा कुर्नुपर्यो, तर यहाँ पनि सबैजना शान्त र संयमित देखिन्थे । यस्ता विषयले सञ्जलहरूमा हल्लाखल्ला ल्याएको देखेको, अनि यस्तै परिवेशसँग अभ्यस्त हामीलाई यो ठूलो आश्चर्य लाग्दो कुरामात्र भएन, पछि सामाजिक सञ्जालमा यसबारे गुनासो पनि देखिएन ।
अब यो अवस्थालाई नेपालमा विमानस्थलको अवस्थासँग तुलना गर्दा जहाँ फ्लाइट ढिलाइ, टर्मिनलमा असुविधा जस्ता कुराले छिट्टै नै सामाजिक सञ्जालमा चर्चा पाउँछन् र समाचारमा समेटिन्छन् । ढिला भएको उडान वा टर्मिनलमा लामो पर्खाइले तुरुन्तै सामाजिक सञ्जालमा असन्तुष्टि र आक्रोशको लहर उत्पन्न गर्न सक्छ । यात्रुहरूको असन्तुष्टि, जो कहिलेकाहीँ साथी यात्रुहरूसँग सानो गुनासोमा सीमित रहन्थ्यो । सामाजिक सञ्जालका हरेक कुनामा प्रतिध्वनित हुन थालेको छ ।
यो समयको यथार्थ हो— हाम्रो संसार अब डिजिटल माध्यममा जोडिएको छ, जहाँ साना–ठूला सबै क्षण कैद, सेयर र कहिलेकाहीँ वास्तविकता भन्दा ठूलो बनाएर प्रस्तुत गरिन्छ । सामाजिक सञ्जालको तात्कालिकता र भाइरल हुनुपर्ने हतारोले हाम्रो मनोविज्ञान र भावनालाई पनि आकार दिएको छ ।
साना असुविधा ठूलो विषय बन्न समय लाग्दैन । हामी प्रतिक्रिया दिन र गुनासो व्यक्त गर्न पहिलो हुने होडमा मानसिक शान्ति गुमाउँदै त छैनौं ? सायद, हाम्रो समाजले शान्ति अनि धैर्यतालाई डिजिटल मान्यताका लागि साटेको छ । यस क्रममा हामीले सायद धैर्य वा सहज स्वीकृतिको तत्त्व गुमाएका छौं ।
शान्त रहनु, र साना असुविधाहरूलाई ठूलो विषय नबनाइ सम्बन्धितको जानकारीमा ल्याउनु र फलोअप गर्नुमा सौन्दर्य छ । हाम्रो डिजिटल युगको दिनचर्यामा यो सन्तुलन सम्झन योग्य कुरा हो— यहाँ सूचना अद्यावधिक हुँदै जाने छ, तर हाम्रो मनलाई शान्त राख्न सिक्नु सदा महत्त्वपूर्ण रहने छ ।
प्रतिक्रिया 4