काठमाडौं । विमानस्थलमा आफ्ना प्रियजनलाई स्वागत तथा बिदाइ गर्दा अँगालो हाल्ने अर्थात् हग गर्ने गर्छौं हामी । यस्तो अंकमाल कति लामो समयसम्म गर्ने भन्ने कुरामा कुनै समयसीमा तोकियो भने के होला ? यस्तो कुरा सायद तपाईंले कल्पना पनि गर्नुहुन्न ।
तर न्युजिल्याण्डको एक विमानस्थलमा भने एकअर्कासँग अंकमाल गर्नका लागि अधिकतम ३ मिनेटको समयसीमा तोकिएको छ । यदि त्यसभन्दा लामो समयसम्म अंकमाल गरेमा सजायँको भागीदार बन्नु पर्दछ ।
त्यहाँको डुनेडिन विमानस्थलमा रहेको अन्तराष्ट्रिय विमानस्थलमा त्यस्तो नियम लागू भएको हो । त्यहाँको यात्रु प्रस्थान तथा आगमन कक्षमा अंकमालका लागि अधिकतम ३ मिनेटको समयसीमा तोकिएको छ ।
विमानस्थलमा भिड कम गर्न तथा सुरक्षा व्यवस्थालाई बलियो बनाउनका लािग त्यस्तो नियम लागू गरिएको बताइएको छ । विमानस्थल व्यवस्थापनका अनुसार एयरपोर्टको ड्रपअफ क्षेत्रमा आमरुपमा त्यसका लागि चेतावनी सन्देश लेखिएको हुन्छ र त्यो उल्लंघन गरेमा जरिवानाको प्रावधान समेत रहेको छ ।
ड्रप अफ जोनमा धेरै भिड नलागोस् र मानिसहरु सुरक्षाका कारणले पनि व्यर्थमा धेरै लामो समयसम्म नरोकिउन् भन्नका लागि अंकमाल गर्ने समयको अधिकतम सीमा राखिएको हो । त्यसबाट विमानस्थल तथा यात्रु र आगन्तुकको सुरक्षामा कुनै प्रकारको समस्या सिर्जना नहुने दाबी विमानस्थलका अधिकारीहरुको छ ।
विमानस्थल व्यवस्थापनको तर्क के छ भने २० सेकेण्डको आलिंगन व्यक्तिको शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जन गर्नका लागि पर्याप्त छ । त्यसभन्दा लामो अंकमाल वास्तवमै दिक्कलाग्दो हुन्छ । त्यसैले आफ्ना परिवार तथा प्रियजनलाई विमानस्थलमा बिदाइ गर्न आएको समयमा भावनात्मक रुपमा अनावश्यक लामो समय लिनु लाभदायक हुँदैन ।
यो नियम लागू भएपछि सबै यात्रुका आफन्तलाई अंकमाल गर्ने पर्याप्त समय र ठाउँ उपलब्ध हुने र अनावश्यक रुपमा लामो समयसम्म त्यहाँ बस्ने मानिसहरुको संख्या कम हुने आशा गरिएको छ ।
एजेन्सी
प्रतिक्रिया 4