+
+

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुँदा पनि किन घटेन टिकट भाउ ?

यात्रुले काठमाडौं वा भैरहवा जहाँबाट यात्रा गरे पनि भाडामा अन्तर छैन । वायुसेवा कम्पनीहरूको ‘सिस्टम’ भित्र नोभेम्बरका लागि टिकट उपलब्ध छैन । भए पनि ‘बिजनेस क्लास’ का महँगोमात्र पाइन्छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ कात्तिक २५ गते १९:३४

२५ कात्तिक, काठमाडौं । यात्रु अभावले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जान नमानेका वायुसेवा कम्पनीले क्रमशः त्यहीँबाट नियमित उडान गर्न थालेका छन् । तर, यात्रुले भने काठमाडौं वा भैरहवा जहाँबाट यात्रा गरे पनि भाडामा अन्तर छैन ।

अझ रोचक, वायुसेवा कम्पनीहरूको ‘सिस्टम’ भित्र नोभेम्बरका लागि टिकट उपलब्ध छैन । भए पनि ‘बिजनेस क्लास’ का महँगोमात्र पाइन्छ ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको पहलमा शनिबार भएको सरोकारवालाको बैठकले ‘टीबीए’ खारेज गर्ने निर्णय गरेको छ ।

वायुसेवा कम्पनीहरूले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्न सक्ने गरी एकमुष्ट टिकट बिक्रीको अधिकार दिएका हुन्छन् ।

यस्तो अधिकार दुरुपयोग गरी ठूला ट्राभल एजेन्सीले टिकट ‘होल्ड’ गर्दा एयरलाइन्सको सिस्टममा टिकट उपलब्ध भएको देखिँदैन ।

सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालका पूर्वअध्यक्ष यम खड्काका अनुसार शनिबारको निर्णय कार्यान्वयन भई टिकट फुकुवा भएमात्र भैरहवामा पनि टिकट उपलब्ध हुने र भाडा पनि प्रतिस्पर्धी हुने सम्भावना हुन्छ । नभए भैरहवामा भने तत्काल टिकट उपलब्ध हुने सम्भावना छैन ।

ट्राभल एजेन्सीले यसरी टिकट होल्ड गर्ने प्रथा एक प्रकारको जुवा जस्तै हो । आफूले होल्ड गरेको टिकट ट्राभल एजेन्सीले कम मूल्यमा वायुसेवा कम्पनीसँग किनेर महँगोमा यात्रुलाई बेच्छन् । सोहीकारण अहिले काठमाडौं होस् वा भैरहवा, दुवै गन्तव्यको टिकट महँगो परेको छ ।

उता, निजी कम्पनीको तुलनामा कम मूल्यमा टिकट बिक्री गरिरहेको सरकारी कम्पनी नेपाल एयरलाइन्सले समेत काठमाडौं र भैरहवा जहाँबाट उड्दा पनि मूल्य समान जस्तै राखेको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेल भैरहवामा पर्याप्त यात्रु पाउने र वायुसेवा कम्पनीबीच प्रतिस्पर्धा नभएसम्म टिकटको मूल्यमा धेरै अन्तर नहुने बताउँछन् ।

‘कि राष्ट्रिय ध्वजावाहकसँग पर्याप्त जहाज हुनुप¥यो, त्यसले निजी कम्पनीलाई भाडा घटाउन दबाब दिन्छ’, उनी भन्छन्, ‘नभए निजी कम्पनीबीच नै प्रतिस्पर्धा भएमात्र भाडा घट्छ, अहिलेकै अवस्थामा भाडामा त्यति अन्तर हुँदैन ।’

शनिबार प्राधिकरणले वायुसेवा सञ्चालकहरूसँग छलफल गरेको थियो । छलफलमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सिट उपलब्ध नभए ‘छैन’ भन्नू तर बढी मूल्यमा टिकट लिएर ठगी गर्न नपाइने भन्दै सचेत गराएका थिए ।

तर, वायुसेवा कम्पनी र ठूला ट्राभल एजेन्सीबीचको ‘मिलेमतो’ का कारण चलेका गन्तव्यमा टिकट पाउनै मुस्किल देखिएको छ । पाइहाले पनि मूल्य अत्यधिक चर्को छ ।

अहिले भैरहवाबाट उडान गर्ने कम्पनीमध्ये थाई एयर एसियाले मात्र सहज र कम मूल्यमा टिकट उपलब्ध गराइरहेको छ । यसो हुनुमा एक त उक्त कम्पनीले पर्याप्त बजारीकरण गर्न नपाई भैरहवामा बाध्यतावश जहाज लैजानु परेको हो । अर्कातर्फ, दशैंतिहार मान्न घर आएका वैदेशिक रोजगारी गर्ने नेपाली युवा खाडी मुलुुक फर्कने समयले टिकटको अधिक चाप छ ।

त्यस्तै पर्यटन सिजन भएका कारण ‘ट्रान्जिट प्यासेन्जर’ बैंककभन्दा अन्यत्रबाट जान रुचाउँछन् । टर्की, चीन, नयाँदिल्ली वा खाडी मुलुकबाट बढी ट्रान्जिट हुन्छ । सोहीकारण यी गन्तव्यमा वायुसेवा कम्पनीले भाडा घटाएका छन् ।

त्रिभुवन विमानस्थल स्तरोन्नतिका लागि विमानस्थल बन्द हुने समय बढाएर दैनिक १० घण्टा पुगेसँगै वायुसेवा कम्पनीले तेब्बरसम्म भाडा बढाएका हुन् । जसको मारमा वैदेशिक रोजगारीमा जाने नेपाली र पर्यटक परेका छन् ।

शुक्रबारबाट भैरहवामा वायुसेवा कम्पनीले उडान थालेका छन् । पछिल्लो तालिका अनुसार यस विमानस्थलबाट सातामा १७ उडान हुनेछ । जसमा आइतबार फ्लाई दुबई र नेपाल एयरलाइन्स, सोमबार थाई एयर एसिया, फ्लाई दुबई र नेपाल एयरलाइन्स, मंगलबार नेपाल एयरलाइन्स, जजिरा र फ्लाइ दुबई, बुधबार फ्लाई दुबई र नेपाल एयरलाइन्स, बिहीबार जजिरा, थाई एयर एसिया र फ्लाइ दुबई, शुक्रबार फ्लाइ दुबई र नेपाल एयरलाइन्स तथा शनिबार जजिरा र फ्लाइ दुबईको उडान तालिका छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?