२ मंसिर, काठमाडौं। कीर्तिपुर नगरपालिकाको प्रमुख र वडाध्यक्ष पदका लागि ४२ जनाको उम्मेदवारी परेको छ । दलका अतिरिक्त स्वतन्त्रबाट उम्मेवारी परेको छ ।
कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालले प्रमुख पदका लागि दलबाट ९ र स्वतन्त्रबाट ११ जनाको उम्मेदवारी परेको जानकारी गराए । दलगत रुपमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, जनमत, जनता समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल समाजवादी पार्टीले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
कीर्तिपुरको वडा नम्बर १ मा दलगत ६ र स्वतन्त्रमा ३ जना उम्मेदवार बनेका छन् । वडा नम्बर ४ म दलगत ८ र स्वतन्त्रबाट ५ जनाले नाम दर्ता गरे । नेता कार्यकर्ताको दलबल, बाजागाजा, सांस्कृतिक पहिरन सहित दर्ता केन्द्र पुगेर उम्मेदवारले नाम लेखाए ।
ठूला दलको ठूलै हुल
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारी दर्ता गर्दा नेताहरुको शक्ति प्रदर्शनका रुपमा उपयोग गरे । निर्वाचन अधिकृतको कार्यालयले छुट्याएको समय अनुसार फरक फरक समयमा ती दलका उम्मेदवारले नाम दर्ता गराए ।
एमालेका लागि ११ः ३० बजे, माओवादी केन्द्रका लागि १ः३० बजे र कांग्रेसका लागि ३ः३० बजेका लागि निर्वाचन अधिकृतको कार्यालयले समय छुट्याएको थियो । पार्टीका शीर्ष नेता, केन्द्रीय सदस्य, पार्टी कार्यकर्ता बाजागाजासहित पुगेका तीन दलका उम्मेदवारले नाम दर्ता गराए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा दलबल सहित उम्मेदवारी दर्ता स्थल पुगेका थिए । कांग्रेसबाट सहभागी अन्य नेताहरुमा राजन केसी, नानु बाँस्तोला, जितजंग बस्नेतलगायत थिए ।
कांग्रेस उम्मेदवार कृष्णमान डंगोलले लालकिल्लालाई कांग्रेस किल्ला बनाएको उल्लेख गर्दै जित्ने दाबी गरे । डंगोलले अनलाइनखबरसँग भने,‘लाल किल्लामा चारकिल्ला गाड्न सफल भएका छौं । कांग्रेसले नै विकास गर्ने विश्वास भएकाले यो नै मेरो जित्ने आधार हो ।’
गत निर्वाचनमा कांग्रेस मेयरसहित ९ वडामा अध्यक्ष जितेको थियो । कांग्रेसले वडा–१ मा इच्छा महर्जन र ४ मा राजेन्द्र बानियाँ उम्मेदवार बनाएको छ ।
नेता कार्यकर्ताको हुल सहित एमालेका उम्मेदवार दर्ता गर्न पुगे । नेता कृष्णगोपाल श्रेष्ठ, बागमतीका अध्यक्ष कैलाश ढुंगेल सहित एमालेका उम्मेदवार दर्ता स्थल पुगेका थिए । गत निर्वाचनमा यस पालिकामा पराजय भोगेको एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले आशालाई व्यवहारमा परिणत गर्ने प्रतिबद्दता गरे ।
एमालेका मेयर उम्मेदवार मानन्धरले भने,‘जनताले एमालेलाई माया र सद्भाव देखाएका छन् । विज्ञ र ज्ञाताहरूलाई नगर निर्माणमा लागि पर्नेछौँ ।’ एमालेबाट वडा नम्बर १ मा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीको उम्मेदवारी परेको छ ।
माओवादी केन्द्रले कीर्तिपुरमा तीन दलसँग चुनावी तालमेल गरेको छ । चुनावी दर्ताका क्रममा भने तालमेल अशोक राइको जसपासँग मात्रै व्यवहारमा देखिएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच कीर्तिपुर चुनावी तालमेल गरेको निर्णय शनिबार सार्वजनिक भएको थियो । यद्यपी, एकीकृत समाजवादीले पनि उम्मेदवारी दर्ता गरेको छ । भानु रिजालले प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । दुई दलमा तालमेल गर्ने औपचारिक जानकारी पार्टीले नगराएको हुँदा उम्मेदवारी दर्ता गरिएको समाजवादीका कार्यकर्ताले बताए ।
माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका शिवशरण महर्जनले सुशासन कायम, भ्रष्टचार विरोधी एजेन्डा नै आफ्नो चुनावी नारा रहेको सुनाए । माओवादी केन्द्रका उम्मेदवार महर्जनले कीर्तिपुरको विकास निर्माणका कार्यमा लामो समयदेखि उल्लेखनीय भूमिका खेलेको महर्जनको दाबी छ । प्रचण्ड प्रधानमन्त्री रहेको बेला गरेका सुशासनका कार्यले माओवादीलाई चुनावमा लाभ पुग्ने उनले बताए ।
कम थिएन स्वतन्त्रको तामझाम
स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गर्न पुगेकाहरु आफ्ना समर्थकको ठूलै भिड लिएर दर्ता स्थल पुगेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका दिनेशकुमार अधिकारीको तामझाम अन्यको स्वतन्त्र उम्मेदवारको भन्दा बढी थियो । आफ्ना समर्थक सहित नाम दर्ता गर्न पुगेका स्वतन्त्र उम्मेदवारमा कतिपय बाजागाजा सहित पुगे ।
सरसफाई अभियन्ता राजमान मानवले स्वतन्त्र उम्मेदवारी दर्ता गरे । राजमान समर्थक सहित कूचो बोकेर उम्मेदवार दर्ता गर्न पुगेका थिए । चुनावी प्रचारका क्रममा सरसफाईलाई मूख्य मुद्धा बनाएर मत माग्ने उनले बताए । दुई महिनाभित्र कीर्तिपुर नगरपालिकालाई सफाईको माध्यमबाट नमूना नगर बनाउने आफ्नो योजना रहेको सुनाए । आफ्नो प्रतिस्पर्धी उम्मेदवारी दर्ता गरेका कोही पनि नभएको उनको दाबी थियो । ‘जनताको घर घरमा म गएँ । कसैले पार्टीको नाम लिएको छैन । मसँग प्रतिस्पर्धा गर्ने कुनै पनि हुँदैन होला,’ राजमानले अनलाइनखबरसँग भने ।
अर्का स्वतन्त्र उम्मेदवार दिनेश कुुमार अधिकारीले पनि आफ्नो प्रतिस्पर्धी नगरमा अरु उम्मेदवार हुन नसक्ने दाबी गरे । नातामा भाइ पर्ने श्यामकुमार अधिकारीले गत निर्वाचनमा यसै पालिकाको वडा नम्बर–४ मा जिते पछि उनकै प्रेरणाले स्वतन्त्र उम्मेदवारी दिने आँट गरेको उनले सुनाए ।
वडा नम्बर–४ अध्यक्ष श्यामकुमारको निधन भएको छ । पुराना दलहरुसँग विकासको सोंच र ज्ञान नभएको उनले आरोप लगाए । ‘कीर्तिपुरलाई पर्यटकीय क्षेत्र बनाइयो भने यहाँका आधा मान्छेले रोजगारी पाउँछन् । मेरो मूल एजेण्डा यही हो,’ उम्मेदवार अधिकारीले भने ।
जर्मनीमा वातावरण विज्ञानमा पिएचडी गरेका डा. नवरथकुमार वानियाँले पनि मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलीय उम्मेदवारले निराशा र बेथिति बढाएको उनको जिकिर थियो । बेथिति हटाउन, स्वच्छ र व्यवस्थित नगरपालिका बनाउने आफ्नो चुनावी एजेण्डा रहेको सुनाए ।
अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठ उम्मेदवारी दर्ता गर्न जाँदा तुलनात्मक रुपमा समर्थक कम थिए । कानुन व्यवसाय पृष्ठभूमिका श्रेष्ठले निर्णय प्रक्रियामा सामूहिकता, विकास निर्माणमा सामुदायिक आफ्नो एजेण्डा भएको सुनाए । एक चरण क्षेत्रमा प्रचार प्रसार सकिसकेको श्रेष्ठले जानकारी गराए । उनले भने, ‘राजनीतिक दलले गर्दै आएको शासन प्रणालीको अन्त्य गरी सामूहिक शासन प्रणालीबाट जानुपर्दछ । र, विकासको लाभ समुदायले पाउनु पर्दछ ।’
माओवादी उम्मेदवारको वीच बाटोमै टिकट खोसियो
माओवादी केन्द्रबाट मेयरमा शिवशरण महर्जन, वडा नम्बर १ मा अष्टमान महर्जन र वडा नम्बर ४ मा नारायण विष्ट उम्मेदवार तय भएका थिए ।
पार्टी निर्णय अनुसार तीन जना उम्मेदवार दर्ता गर्न जाने क्रममा वीच बाटोमै थपिए अर्का उम्मेदवार– सरल गोपाल महर्जन । उम्मेदवार दर्ता गर्न जाँदै गर्दा तालमेलको निर्णय भएपछि सरल गोपाल महर्जन माओवादी केन्द्रको र्यालीमा थपिएका थिए ।
अशोक राई नेतृत्वमा रहेको जसपासँग तालमेल गर्ने निर्णय अकस्मात् गरिएको थियो । सरल गोपाललाई वडा नम्बर १ को उम्मेदवार बनाएपछि माओवादी केन्द्रका अष्टमान महर्जन स्थान पाएनन् ।
पार्टीको निर्णय स्विकार्ने बताउँदै उम्मेदवार हुन नपाएका अष्टमानले भने,‘गठबन्धन गर्ने पार्टीले निर्णय गर्यो । पार्टीको निर्णय स्विकारेर बागी बन्दिन ।’ दुई दल वीचमा तालमेलको सहमति भएको जानकारी उम्मेदवार दर्ता पछि विज्ञप्ति निकालेर गराइएको छ । जसपाका उम्मेदवारले माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने निर्णय भएको छ ।
रास्वपाले दिएन उम्मेदवारी
संसदको चौथो दलले कीर्तिपुरमा हुने निर्वाचनमा दलको उम्मेदवार बनाएन । नगर सभापति जयराम कार्कीको एकल नाम सिफारिस भए पनि रास्वपाले उम्मेदवारी दर्ता गरेन । संगठन बलशाली नभएकाले उम्मेदवारी नदिने निर्णय लिएको बागमतीका रास्वपामा महामन्त्री सुरेन्द्र भट्टले जानकारी गराए । ‘उम्मेदवार हुनुपर्छ भन्ने साथीहरु पनि हुनुहन्थ्यो । अहिलेको परिस्थितिमा नदिने निर्णय गर्यौं,’ भट्टले भने ।
रास्वपाले स्वतन्त्रलाई समर्थन गर्ने जनाएको छ । स्वतन्त्र मध्ये कुन उम्मेदवारलाई समर्थन जनाउने बारेमा भने औपचारिक निर्णय गरिएको छैन ।
प्रतिक्रिया 4