+
+
ब्लग :

फर्म्याटलाई अब फर्म्याटिङ गर्नुपर्छ

अस्पतालमा भएको अर्को घटनाले समाजमा रहेको फर्म्याटको गहिराइ झन् प्रष्ट्याउँछ । एकजना महिला डाक्टर सेतो पोसाकमा थिइन्, उनलाई बिरामीका आफन्तले ‘सिस्टर’ भनेर सम्बोधन गर्दा उनले ती आफन्तलाई ‘अन्धो’ भन्दै गाली गरिन् ।

सुधन सुवेदी सुधन सुवेदी
२०८१ मंसिर २३ गते १४:२०

समाजमा ‘फर्म्याट’ को प्रभाव यति गहिरो छ कि हाम्रो सोच, कार्यशैली र दृष्टिकोण त्यसैको सीमित घेराभित्र बन्धक बनेका छन् । अपाङ्‍गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउने प्रसंगबाट यो कुरा अझ स्पष्ट हुन्छ । दिवस मनाउन प्रभातफेरी र भाषणजस्ता औपचारिक गतिविधिमै ध्यान दिइयो । तर, कार्यक्रम स्थलमै ह्विलचेयर प्रयोगकर्ताका लागि सहज पहुँच अभाव थियो । यसले दिवशको वास्तविक उद्देश्यमा प्रश्न उठाउँछ ।

ह्विलचेयर प्रयोगकर्तालाई सहयोगीले उल्टो तानेर मञ्चसम्म पुर्‍याएपछि त्यही मञ्चबाट सार्वजनिक स्थलहरूमा अपाङ्‍गता भएका व्यक्तिहरूका लागि सहज पहुँच सुनिश्चित गर्नुपर्ने भाषण दिइयो । खर्च र झुटो तामझाम घटाएर यदि यो अवसरलाई स्थायी रूपमा अपाङ्‍गता भएका व्यक्तिहरूको पहुँच सुधार्ने काममा लगाइएको भए, दिवस सही अर्थमा सफल हुने थियो । भाषण र प्रभातफेरी जस्ता परम्परागत कार्यक्रमले मात्र यस्ता अवसरको उद्देश्य पूरा गर्न सक्दैन ।

अस्पतालमा भएको अर्को घटनाले समाजमा रहेको फर्म्याटको गहिराइ झन् प्रष्ट्याउँछ । एकजना महिला डाक्टर सेतो पोसाकमा थिइन्, उनलाई बिरामीका आफन्तले ‘सिस्टर’ भनेर सम्बोधन गर्दा उनले ती आफन्तलाई ‘अन्धो’ भन्दै गाली गरिन् ।

आपतमा रहेका बिरामीका आफन्तलाई नर्स र डाक्टर नचिन्ने भनेर सराप्ने स्वास्थ्यकर्मीको एकोहोरो रटाइले सम्मानको चोट अनुभूत गर्ने स्थापित फर्म्याट दर्शाउँछ भने बिरामी आफन्तको हेरचाह गर्ने महिला नर्स नै हुन् भन्ने फर्म्याट । जे गरेको छ र बिताएको छ, स्थापित मान्यताको फर्म्याट नै कारक तत्व हो ।

यो घटनाले दुइटा कुरा उजागर गर्छ । एउटा, स्वास्थ्य सेवाको भूमिकाप्रतिको जनमानसमा रहेको भ्रम र अर्को, ती डाक्टरकै असंवेदनशीलता । सामान्य मानिसले सेतो पोसाकमा काम गर्ने महिला स्वास्थ्यकर्मीलाई नर्स ठान्नु अस्वाभाविक होइन । तर, ती डाक्टरले संयमता र सहिष्णुसाथ स्थिति प्रष्ट्याउने प्रयास गर्नुको सट्टा अपमानजनक व्यवहार गरिन् ।

फर्म्याटको प्रभावले सिर्जनात्मकतालाई दबाउने र नवीन सोच पछाडि पार्ने काम गरिरहेको छ ।

यसले हाम्रो समाजमा रहेको ढर्रा सोचको गहिरो प्रभाव उजागर गर्छ । फर्म्याटले केवल कार्यक्रमहरूमा मात्र होइन, व्यवहार र दृष्टिकोणमा पनि जरा गाडेको छ । अस्पताल जस्तो संवेदनशील स्थान जहाँ बिरामीका आफन्त तनावमा हुन्छन्, त्यहाँ सहानुभूतिपूर्ण र शिक्षाप्रद दृष्टिकोण अपनाउनु स्वास्थ्यकर्मीहरूको कर्तव्य हो । यस घटनाले फर्म्याटको मानसिकता र यसको दुष्प्रभाव स्पष्ट देखाउँछ ।

सार्वजनिक सेवाका अन्य क्षेत्रमा पनि यस्तै अवस्था छ । कुनै विषयमा प्रस्तुति दिन ‘पावरप्वाइन्ट’ प्रयोगलाई अनिवार्य ठानिन्छ । सादा, झिल्के र बुट्टे स्लाइडहरूमा गुगल वा च्याटजीपीटीले दिएका विचार आफ्नो नाममा जोडेर प्रस्तुति गर्ने प्रवृत्ति मौलाएको छ । अनि, कार्यालयमा नवीन सोचसँगै धाराप्रवाह गरिने प्रस्तुतिभन्दा आयातित विचारलाई स्लाइडको झल्याकझुलुकमा देखाइने कुरा नै मिहिनेतको काम मानिन्छ । सिर्जनात्मकता र गहिरो सोचलाई प्राथमिकता दिनुको सट्टा झिल्के र बुट्टे ढर्रामा अड्किएर प्रस्तुति दिनु आफू कमजोर भएको प्रमाणित गर्नु हो ।

नेपालको नागरिकता आवेदन फारममा ‘कान स्पष्ट देखिने गरी खिचिएको फोटो’ अनिवार्य गरिएको छ । तर, धेरै पुरुषले नेपाली ढाका टोपी लगाएर फोटो खिच्नुलाई अनिवार्य मानेका छन् । नेपाली टोपी परम्परागत रूपमा राष्ट्रिय पहिचान र मर्यादासँग जोडिएको छ । यहाँ पनि नागरिकता भन्ने बित्तिकै टोपी लगाउनुपर्छ भन्ने फर्म्याटले गाँजेको अवस्था छ ।

समाजले फर्म्याटको प्रभावबाट बाहिर निस्किन र सिर्जनात्मकतालाई आत्मसात गर्नुपर्ने समय आएको छ । यस्ता दिवस वा कार्यक्रमहरूलाई औपचारिकतामा सीमित राख्नुभन्दा यसको वास्तविक उद्देश्यतर्फ ध्यान केन्द्रित गर्नुपर्छ ।

फर्म्याटको असर केवल अस्पताल वा सार्वजनिक कार्यालयहरूमा सीमित छैन । यो सोच, व्यवहार र दृष्टिकोणको हरेक क्षेत्रमा प्रकट हुन्छ । चाहे त्यो अपाङ्‍गता भएका व्यक्तिहरूको दिवस होस् वा अस्पतालमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीबीचको सम्बन्ध । फर्म्याटको प्रभावले सिर्जनात्मकतालाई दबाउने र नवीन सोच पछाडि पार्ने काम गरिरहेको छ ।

समाजले फर्म्याटको प्रभावबाट बाहिर निस्किन र सिर्जनात्मकतालाई आत्मसात गर्नुपर्ने समय आएको छ । यस्ता दिवस वा कार्यक्रमहरूलाई औपचारिकतामा सीमित राख्नुभन्दा यसको वास्तविक उद्देश्यतर्फ ध्यान केन्द्रित गर्नुपर्छ ।

अस्पतालमा भएको सानो प्रसंगले पनि समाजको सोचाइमा सुधार ल्याउन योगदान दिन सक्छ । ती महिला डाक्टरले आफ्नो भूमिका सहज र सम्मानजनक भाषामा स्पष्ट पार्न सक्थिन् । फर्म्याटको कठोर सोच तोड्न र दुवै पक्षलाई शिक्षित गर्ने अवसरका रूपमा उपयोग गर्न सकिने ठाउँमा नकारात्मक व्यवहारले समस्या झन् बल्झाउँछ ।

कार्यक्रमको झुटो तामझाम र ढर्रा सोचबाट माथि उठेर सिर्जनात्मकता र नवीन सोचको खोजीमा लाग्न अब ढिला गर्नु हुँदैन । फर्म्याटले सिर्जनशीलता दबाउँछ भने सिर्जनशीलताको प्रश्रयले समाजलाई नयाँ सोच र परिवर्तनको बाटोमा अघि बढाउँछ । फर्म्याटलाई अब फर्म्याटिङ गर्नुपर्छ ।

लेखकको बारेमा
सुधन सुवेदी

लेखक सुवेदी नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?