+
+
यात्रा :

तिमीलाई कसरी भुल्न सकुँला बाकु !

बाकुवासीको व्यवहार र बाकुको सुन्दरताले होला बाकु बस्ने रहर नै पुगेको थिएन । बाकुको सम्झना र त्यहाँकोे बयान अक्षरका पानामा उतार्ने निधो गर्दै स्वदेश फर्किएँ । समयले जुराएछ भने फेरि बाकु घुम्न जाने रहर बाँकी नै छ मनमा । मनले मनसँगै भनिरहेको हुन्छः “समय मिलेमा फेरि भेटौंला, बाकु !”

प्रगति ढकाल प्रगति ढकाल
२०८१ पुष १७ गते ९:१७

अजरबैजानको बाकुस्थित मे ट्वान्टीएट मलको चौथो तलामा केएफसी रेस्टुरेन्ट रहेछ । रेस्टुरेन्टको एकछेउको टेबलमा बसेर म आफ्नै धुनमा मोबाइल चलाइरहेकी थिएँ ।

“हाई, एक्सक्यूज मि ! क्यान आई सिट हियर ?” कुनै महिलाको मिठो र सुरिलो आवाजले म झस्किएछु । जवाफ दिएँ : “भैहाल्छ नि !”

दुई जना युवती रहेछन् । हेर्दा भर्खर २२–२३ वर्ष जस्ता देखिने ।

त्यही दिन अर्थात् गत नोभेम्बर १६ मा बाकु पुगेकी हुँ । लगेज पनि साथमै थियो । होटल भने पुग्न बाँकी थियो । त्यो दिनका लागि बस्ने ठाउँ सुनिश्चित भए पनि भोलिपल्टदेखिका लागि भने होटल खोज्न बाँकी थियो । त्यहीं बसेर बुकिङ डटकमबाट होटलहरू सर्च गर्दै थिएँ ।

हामी तीनै जना एउटै टेबलमा थियौं । तर म पुनः मोबाइलमै व्यस्त भएँ । उनीहरू आफ्नै भाषामा के के कुरा गर्दै थिए कुन्नि ? खासै ध्यान दिइनँ । खै के सोचेछन् कुन्नि ! “तिम्रा लागि हामी खाना अर्डर गर्छौं । के लिन चाहन्छौ ?” खानाको मेन्यू मेरो हातमा थमाउँदै उनीहरूले थपें– “यहाँ मेन्यू छ । के मन पर्छ तिमी रोज्न सक्छ्यौ ।”

एकैछिन त चकित बनायो । राम्रोसँग चिनजान त हुनै बाँकी थियो । उनीहरू को हुन् ? घर कहाँ हो ? केही थाहा त थिएन । अनि फेरि मेरा लागि खानेकुरा किन मगाउन खोज्दैछन् ? मनले नै प्रश्न पनि गर्‍यो । प्रस्ताव अस्वीकार गरें ।

फेरि उनीहरूले मलाई सम्झाउन खोजे : हामी तिम्रो नयाँ साथी । आज सँगै खाउँ हुँदैन ?

मैले फेरि उनीहरूलाई प्रष्ट्याएँ : “म यहाँ मेरा साथीहरू कुरिरहेकी हुँ । उनीहरू आएपछि लिनेछु । तपाईंहरू लिन्स् !”

उनीहरूले जिद्दी गर्न छाडेकै थिएनन् । मैले भने कुरा अन्यत्रै मोड्नका लागि उनीहरूलाई प्रश्न तेस्र्याएँ : “ह्वेयर आर यू फ्रम ?”

अनि मात्रै हामी बीच परिचय सुरु भएको थियो ।

उनीहरूको जवाफ आयो : “हामी बाकुवासी नै हौं । पेशाले पत्रकार ।

उनीहरूको कुरा सकिन नपाउँदै मैले प्रतिक्रिया जनाइहालें : “म पनि पत्रकार नै हुँ नि !”

हामी तीनै जना एकै फिल्डका परेछौं । त्यसैले पनि होला छिटो नै सामीप्य महसुस गरायो । त्यो बिरानो ठाउँ । कोही आफ्नै भेटे झैं भयो । कति छिटो आफ्नोपन पाएछु उनीहरूमा । जसले केही समय अगाडिको एउटा अनुभव याद गरायो । केही वर्षअघि भारतले गरेको अघोषित नाकाबन्दीमा पेट्रोल तथा डिजलको अभाव थियो । सार्वजनिक बसहरू निकै कम चल्थे । त्यसबेला बाटोमा भेट्नेहरूलाई जो–कोहीले लिफ्ट दिने गर्थे । एक दिन, म आफ्नो ड्यूटी सकेर बुद्धनगरदेखि लैनचौर हिंडेर जान लाग्दै थिएँ । एउटा कार नजिक आएर हर्न बजायो ।

अनि सोधियो, “कहाँ पुग्ने होला सिस्टर ? मेरो बाटो पर्छ भने छोड्दिउँला नि !”

“सरी, म आफैं जान्छु !” जवाफ दिएँ ।

नचिनेको मान्छेको कारमा चढिहाल्नु पनि त भएन नि !

फेरि जवाफ आयो, “किन डराउनुभएको ? म पत्रकार हुँ । यता हेर्नुस् त मेरो परिचयपत्र ।”

यत्तिकैमा मेरो मुखबाट फ्याट्टै जवाफ आएको थियो, “ए… हो र ? दाइ म पनि पत्रकार । म लैनचौर । हजुर नि ?”

उहाँ पनि लाजिम्पाट जाँदै हुनुहुँदोरहेछ । उहाँकै गाडीमा गएकी थिएँ । पत्रकार भन्ने बित्तिकै मलाई अलि छिटो आफ्नोपनको आभास गराउँछ ।

बाकुमा भेटिएका यी दुई युवतीसँग पनि म यसैगरी छिटै नजिक भइछु ।

एकैछिनमा उनीहरूले अर्डर गरेको केएफसी पनि टेबलको छेवैमा आइपुग्यो । उनीहरूले नखाई धरै दिएनन् । खानेकुरा मात्रै होइन, एक घण्टा जतिको बसाइमा धेरै कुरा शेयर भयो ।
“कहाँ बस्न लागेकी छौ ?”, उनीहरूले फेरि प्रश्न गरे ।

आजको लागि यहाँबाट नजिकै छ । भोलिदेखि कहाँ हुन्छ थाहा छैन । खोजिरहेकी छु ।

मेरो कुरा ध्यानपूर्वक सुन्दै गरेका उनीहरूले मलाई ढाडस दिंदै फेरि भने, “तिमी चिन्ता नगर । हाम्रै घरमा सँगै बस्न सक्छ्यौ ।”

उनीहरूको कुराले फेरि चकित बनायो । भर्खर त चिनजान भएको छ । अनि सँगै बस्न सक्छ्यौ भन्छन् । कैयौं वर्षदेखि चिनेकाहरू त सहयोग गर्नुपर्ला भनेर तर्किन्छन् । तर भर्खर चिनेका बाकुवासी भने कति उदार ?

कता–कता मनमा शंका यथावत् नै थियो । राम्रोसँग चिनजान नभई धेरै सामीप्यता हुनु उचित हो या होइन ? फेरि अर्को मनले भन्थ्यो ः “होटल नै भेटिएन भने ठीकै छ त । उनीहरू पनि त जर्नालिष्ट रहेछन् । के फरक पर्ला र ?”

मनले नै प्रश्न गर्थ्यो । मनले नै उत्तर दिन्थ्यो । मन आफैं आत्तिन्थ्यो । फेरि मनले मनलाई नै सम्झाउँथ्यो । मनले नै घरी शंका त घरी विश्वास दिलाउँथ्यो । मन पनि कस्तो ? एउटै कुरामा अडिग हुनै नसक्ने !

उनीहरूले बाकु बस्दा केही पर्ला भनेर फोन नम्बर भने छाडेर गए । जाँदा–जाँदै सम्झना हुन्छ भनेर फोटो खिच्न मैले नै आग्रह गर्दै फेसबुकमा पोस्ट्याइहालें– “बाकुमा पत्रकारहरूसँग छोटो भेट ।”
धेरैले “पुरानै चिनजान हो ?” भनेर सोध्नुभयो ।

भोलिपल्टदेखि अलिकति पर ‘नेशनल फ्ल्याग स्क्वायर’ नजिकै रेड रुफ सि भ्यू होटलमा बस्ने गरी वासस्थानको सुनिश्चित भयो । म २९औं विश्व जलवायु शिखर सम्मेलन (कोप–२९) मा भाग लिन बाकु पुगेकी थिएँ ।

भोलिपल्ट अर्थात् १७ नोभेम्बर, आइतबारको दिन । कोप बिदा थियो । होटलको बन्दोबस्त भएपछि ढुक्क भएर घुम्नका लागि बाहिर निस्किएँ । चिसो दिन, वातावरण नै धुम्म थियो । घुम्दाघुम्दै रात परेको पत्तो नै भएन । कहिलेकाहीं एक्लै डुल्नुको मज्जा पनि बेग्लै लाग्यो ।

मैले उताको फोनको सिम लिएकी थिइनँ । फोन नभएपछि इन्टरनेट पनि जतासुकै चल्ने कुरै भएन । रातको ८ बज्नै लागेको थियो । अब त होटल पनि फर्कनुपर्‍यो । ‘बोल्ट’ एपबाट ट्याक्सी बुक गर्न सहज रहेछ, नेपालमा पठाओ र इन्ड्राभ जस्तै । त्यहाँ ट्याक्सी खासै महँगो पनि लागेन । तर इन्टरनेट नभएकाले बाकुस्थित साहिल भन्ने ठाउँ नजिकैको एउटा कस्मेटिक पसलभित्र छिरें ।

पसलकै एक जना महिलालाई सोधें, “क्यान यू स्पिकिङ इङ्लिस ?”

अंग्रेजीमै जवाफ आयो, “माफ गर्नुहोला म अंग्रेजी बोल्न सक्दिनँ !”

गुगल ट्रान्स्लेटको माध्यमबाट कुराकानी भयो ।

उनले मेरा लागि ‘बोल्ट’ बाटै ट्याक्सी बुक गरिदिइन् । साथै अनलाइनबाटै पैसा तिर्न लागेको देखेपछि मैले भनें, “अनलाइनबाट पैसा तिर्नुपर्दैन । मसँगै पैसा छ ।”

उनले बुझिनन् । उनले तिरेको ३ अजरबैजानी मनत (करिब नेपाली २३८ रुपैयाँ) मैले फिर्ता दिन खोजें । तर लिन मानिनन् ।

तिमी हाम्रो पाहुना हौ । तिम्रा लागि सहयोग गर्नु हाम्रो कर्तव्य हो । उनले ट्रान्सलेटकै माध्यमबाट मलाई बुझाइन् । धेरै कुरा गर्न नपाउँदै ट्याक्सी अगाडि आइहाल्यो । बाई भनेर म ट्याक्सी चढें । बाकु पुगेको दोस्रो दिन भेटिएकी ती महिलाको व्यवहारले फेरि चकित भएँ ।

भोलिपल्ट, अर्थात् १८ नोभेम्बरमा कोप भेन्यूमा जानुपर्ने भएकाले ७ बजे नै होटलबाट निस्किएँ । होटलकै रिसेप्सनिष्टले कोपमा जान बताएको रुट अनुसार हिंड्दै थिएँ । इन्टरनेट नभएकाले अलि गाह्रो भने हुन्थ्यो । तर त्यही अनुभव पनि सम्झनलायक बन्यो ।

हिंड्दा हिंड्दै बाटो नै पो बिर्सिएछु, बस स्टेसन कहाँबाट जाने भनेर । एकबिहानैको चिसो । त्यसमाथि सिमसिम परेको पानीले झनै चिसो महसुस गरायो । कठ्याङ्ग्रिएको हातलाई राहत दिन जाकेटको दुवै गोजीमा हात लुकाएर लुखुर–लुखुर हिंडिरहेकी थिएँ ।

त्यत्तिकैमा एक जना महिला देखें । बाटो सोधें, तर बुझिनन् । उनैले फोन झिकेर ट्रान्सलेट गर्दै कुरा गर्न थालिन् । चिसोले कठ्याङ्ग्रिएका हातहरू झिकेर बल्ल–बल्ल टाइप गर्न सकें ।

त्यसपछि उनले मेरो दाइने पाखुरा च्याप्प समातेर आफूसँगै हिंड्न आग्रह गरिन् । उनको भाषामा के के भन्न खोजिन्, बुझिनँ ।

फेरि एउटा डिपार्टमेन्ट स्टोरमा छिराइन् । म भएतिर जुस देखाएर के पो भनिन् उनकै भाषामा, बुझिनँ । तर अनुमान लगाएँ : मलाई यो जुस किनिदेऊ भन्न खोजेको हो कि ?

सोचेंः बाटो देखाएबापत जुस खान खोजेको होला । मुन्टो हल्लाएर सहमति जनाउँदै काउन्टरमा गएर पैसा तिर्न खोजें । उनी रिसाए झैं गरी उनकै भाषामा केही भनिन् । पैसा तिर्न दिइनन् । शायद किन तिर्न खोजेको भनेकी रहिछन् ।

उनले मेरा लागि जुस र उनको गोजीमा भएको चकलेट झिकेर दिइन् । यति मात्रै होइन, गाडी स्टेसनमै लगेर गाडी कुरेर पठाइन् । गाडी चढ्ने बेलामा पनि उनको कार्ड नै प्रयोग गरेर भाडा तिरिदिन समेत खोज्दै थिइन् ।

मैले भनेः कोपमा सहभागीहरूलाई बस तथा ट्रेन निःशुल्क हुन्छ । त्यसपछि हामी छुट्टियौं ।

उनको माया र सद्भावले त्यो बिरानो ठाउँमा आफ्नै अभिभावक भेटे झैं महसुस गरायो । उनले किनिदिएको जुस हातमै लिएर खिचेको फोटो फेसबुकमा राखेर लेखिदिए स्टाटसः भाषा बुझ्ने भए पेटभरी गफ गर्न मन थियो !

साँझ होटल फर्कने बेला भयो । ट्रेनबाट साहिल भन्ने स्थान हुँदै गए पनि होटल पत्ता लगाउँछु भन्ने भयो । नयाँ रुट परिवर्तन गरेर होला फेरि अल्मलिएँ । घुम्दै डुल्दै फर्किएकाले साँझ छिप्पिइरहेको थियो ।

ट्रेनबाट ओर्लिएपछि फेरि गाडी चढ्नुपथ्र्यो । त्यसपछि १० देखि १५ मिनेट पैदल हिंडेपछि मात्रै होटल पुगिन्थ्यो । घडीको सुईले रातको १० बजाउनै लागेको रहेछ । गाडीबाट झरेर पैदल हिंड्दै थिएँ । फेरि बाटो अल्मलिएँ ।

नजिकै पार्किङ गरेर फोनमा कुरा गरिरहेको एक जनालाई देखें । नजिक गएर आफ्नो होटलको लोकेशन देखाएर बाटो सोधें ।

उनले बाटो मात्रै देखाएर सहयोग गरेनन्, आफ्नो गाडीमा बस्न समेत अनुरोध गरे । भाषा नबुझे पनि हाउभाउले कति कुरा बुझें ।

उनी मेरै होटलको ढोका नजिक ओरालेर फर्किन खोजे ।

मैले पैसा झिकेर दिन खोज्दै थिएँ तर उनले अस्वीकार गरेर फर्किए । यी व्यक्ति पनि धेरै सहयोगी रहेछन् ।

मैले यी कुरा होटल रिसेप्सनिष्टलाई बताएँ । बाकुवासी सबैलाई मद्दत गर्ने स्वभावका हुन्छन् भन्ने प्रतिक्रिया पाएपछि कति राम्रो संस्कार भन्ने लाग्यो । जो भेटिन्छन् उही असल लाग्ने । सरल अनि सहयोगी पनि ।

मैले प्रस्तुत गरेका यी केही पात्रहरू त केही प्रतिनिधि उदाहरण मात्रै हुन् । यी र यस्ता अनेक पात्रहरू मेरा स्मरणमा आइरहेका छन् । कोपमा भेटिएका नेपालीदेखि विदेशी प्रतिनिधिहरूले पनि बाकुवासीहरूको उदार र सहयोगी व्यवहारको खुला मनले प्रशंसा गरेको सुनें ।

बाकुमा केही असहज भोगाइ थिए नै । तर तीभन्दा धेरै सहज र सुखद् भोगाइ अनि मिठा अनुभव बटुल्ने अवसर पाएँ ।

फ्रान्सको २१औं कोपदेखि बाकुमा सम्पन्न २९ कोपसम्म विभिन्न देशको यात्राको क्रममा मैले बाकुबाट भने धेरै कुरा सिक्न पाएँ । बाकु यात्रा अझै धेरै स्मरणीय बन्यो ।

यसो त बाकुसम्म जाँदा भोगिएका कैयौं कठिनाइ पनि थिए । ती पनि सम्झनायोग्य र जीवनको सिकाइ बनेका छन् ।

सस्तो टिकटको खोजीमा नयाँदिल्लीबाट बाकु जाने निर्णय भयो । काठमाडौंबाट प्लेनमा भैरहवा हुँदै त्यसपछि भने गाडीमा नयाँदिल्ली पुगियो । इन्डियासम्म जाने हवाई टिकटको मूल्यले आकाश छोइसकेको थियो । सबैले इन्डियाबाट जाँदा असहज हुन्छ, किन त्यस रुटबाटै जान लागेको ? भन्दै प्रश्न समेत गरेका थिए । जे पर्ला उही टर्ला भनेर आफूले आफैंलाई विश्वास गरेर इन्डियाबाटै बाकु जाने निर्णय गरेकी हुँ ।

१ बजे भैरहवा उड्नुपर्ने प्लेन तुवाँलोको कारण साँझ ६ बजे मात्रै उड्यो । उडिसकेपछि पनि केही समय ल्याण्ड हुनै सकेन । भोलिपल्ट साँझ जसरी पनि दिल्ली पुग्नुपर्ने नै थियो । मनमा कता कता अत्यास पनि लाग्न थालेको थियो । प्लेन ल्याण्ड हुँदा भने ठूलै जित हात पारे झैं निकै खुसी भएँ ।

त्यसपछि यात्रा नयाँदिल्लीका लागि तय भएको थियो । बोर्डरमा भने दुःख दिन्छ रे भन्ने सुनेको थिएँ । तर मलाई भने त्यस्तो अनुभव गर्नु परेन ।

भोलिपल्ट दिउँसोको ३ बज्नै लागिसक्यो । तर नयाँदिल्लीमा पनि धेरै जाम हुने रहेछ । कम्तीमा २ घण्टाअघि जसरी एअरपोर्ट छिरिसक्नुपर्ने थियो । समय जम्मा साढे २ घण्टा बाँकी थियो । यो पालिको यात्रा सकसपूर्ण पो हो कि भन्ने कुराले अत्यायो एकैछिन त । तर जे हुन्छ भइहाल्छ भनेर आफूले आफैंलाई सान्त्वना दिएँ र यात्रा अगाडि बढिरह्यो ।

धन्न दुई घण्टा बाँकी छँदाकै समयमा म इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एअरपोर्ट पुगें । मुटु हल्का कापिरहेको झैं भयो । डरसँगै अनगिन्ती कुराहरू खेल्न थाले । तर मनले मनलाई नै सम्झायो– “जे हुन्छ त भइहाल्छ नि” भनेर । अनि हल्का कन्फिडेन्ट बढ्यो ।

जब अध्यागमनमा पुगें त्यहाँका कर्मचारीको व्यवहार राम्रो लाग्यो । मेरा लागि भने असहज भएन । यसरी शारजाहमा ट्रान्जिट हुँदै बाकुसम्मको यात्रा सम्पन्न भएको थियो ।

सुरुवाती दिनहरूमा केही असहज भएकै हो । तर यो जीवनको सिकाइ पनि त हो नि ! यिनै कठिनाइहरू पनि त यात्रा संस्मरण बन्दो रहेछ । अहिले तिनै कुरा मिठो सम्झनलायक क्षण बन्दो रहेछ ।

बाकु गएपछि त्यहाँको सुन्दरताले सबै भुलाइदियो । अझै त्यहाँका मानिसहरूको व्यवहारको त जति बयान गरेर पनि सकिंदैन । भाषा भने नबुझे पनि धेरै सहयोगी बाकुवासी । फेरि आफ्नो मनले आफैंलाई प्रश्न गरिरह्यो ः “बाकुवासी जस्तै सहयोगी कहिले बन्ने ?”

बाकु अजरबैजानको राजधानी र सबैभन्दा ठूलो शहर । विश्वमै चर्चित क्यास्पियन समुद्रको किनार घुम्दै खिचिएका फोटा र बनाइएका टिकटक भिडियोहरूले सम्झना गराइरहनेछ सदासदा ।

बाकु राजनीतिक, आर्थिक र सांस्कृतिक हिसाबले अजरबैजानको सबैभन्दा महत्वपूर्ण केन्द्रको रूपमा मानिने रहेछ । आफ्नो ऐतिहासिक, सांस्कृतिक र वास्तुकलाको लागि प्रसिद्ध शहरको रूपमा चिनिने बाकुको पुरानो शहर (इचरीशहर), शिविरगाह मिनार र शिर्वान्साह दरबार युनेस्को विश्व सम्पदा सूचीमा समावेश गरिएका रहेछन् । अनि आधुनिकता र परम्पराको सुन्दर मिश्रण समेतका भवनहरू देखियो त्यहाँ । जहाँ एकातिर ऐतिहासिक अनि अर्कोतिर आधुनिक गगनचुम्बी भवनहरू थिए ।

प्रसिद्ध फ्लेम टावर्सको टुप्पैसम्म एकनासले हेर्दा त मुन्टो नै दुखाउने । कति अग्लो रहेछ । सुन्दर पनि त्यस्तै । बाकु तेल उद्योगको केन्द्र भएकाले यसलाई ‘तेलको शहर’ पनि भनिन्छ । पर्यटकहरूका लागि आकर्षणको केन्द्र रहेछ बाकु ।

बाकुको छोटो बसाइ सकेर नोभेम्बर २२ मा नेपाल फर्किएँ । बाकुवासीको व्यवहार र बाकुको सुन्दरताले होला बाकु बस्ने रहर नै पुगेको थिएन । बाकुको सम्झना र बाकुकोे बयान अक्षरका पानामा उतार्ने निधो गर्दै स्वदेश फर्किएँ । समयले जुराएछ भने फेरि बाकु घुम्न जाने रहर बाँकी नै छ मनमा । मनले मनसँगै भनिरहेको हुन्छः “समय मिलेमा फेरि भेटौंला, बाकु !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?