
१९ पुस, काठमाडौं । हिसाबकिताब निकै राम्रोसँग राख्ने भनेर कहलिएका वाणिज्य बैंकहरूले सार्वजनिक गर्ने अपरिष्कृत वित्तीय विवरण र त्यसको वाह्य लेखा परीक्षणपछि तथ्यांकमा ठूलो अन्तर देखिने गरेको छ ।
नेपालका २० मध्ये १६ वाणिज्य बैंकले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण गरी साधारणसभा आह्वान गरिसकेका छन् । जसमध्ये १४ बैंकले वाह्य लेखा परीक्षणपछिको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
१४ वाणिज्य बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण र वाह्य लेखा परीक्षणपछिको वित्तीय विवरणमा खुद नाफा नै १३ प्रतिशतले फरक परेको छ ।
अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दा १४ वाणिज्य बैंकले ४७ अर्ब ३७ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको देखिएको थियो । वाह्य लेखा परीक्षणपछि उक्त नाफा १२.९५ प्रतिशतले घटेर ४१ अर्ब २३ करोड ७३ लाखमा सीमित भएको छ ।
बैंकहरूले वित्तीय विवरण प्रकाशित गर्दा सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त रकम व्यवस्था नगर्दा लेखा परीक्षणपछि कर्जा नोक्सानी व्यवस्थामा वृद्धि भएर नाफा घटेको देखिन्छ ।
विगतका वर्षमा नेपाल राष्ट्र बैंकले असार मसान्तमा पाकेको ब्याज आम्दानी १५ साउनसम्म असुल गरे सोही आर्थिक वर्षको वित्तीय विवरणमा देखाउन सक्ने व्यवस्था गरेको थियो । यसरी २१ साउनभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्ने व्यवस्था थियो ।
चालु आव भने अर्थतन्त्रमा देखिएको शिथिलताका कारण कर्जा असुलीमा समस्या देखिएको भन्दै असारमा उठ्नुपर्ने ब्याज साउन मसान्तमा असुल भए पनि अघिल्लै आवको वित्तीय विवरणमा देखाउन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।
२१ साउनमा वित्तीय विवरण प्रकाशित गर्नुपर्ने भए पनि साउन मसान्तको आम्दानी गत वर्षको वित्तीय विवरणमा देखाउन पाउने व्यवस्था भयो । २१ साउनमा वित्तीय विवरण प्रकाशित भएपछि गरेको असुली अपरिष्कृत भन्दा लेखा परीक्षणपछिको वित्तीय विवरण अझै सुधार हुनुपर्नेमा अधिकांश बैंकको भने कर्जा नोक्सानी व्यवस्था बढेर नाफा घटेको छ ।
अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दा १४ वाणिज्य बैंकले सम्भावित कर्जा नोक्सानीका लागि २१ अर्ब ५३ करोड ९२ लाख व्यवस्था गरेका थिए । वाह्य लेखा परीक्षणपछिको वित्तीय विवरणमा उक्त कर्जा नोक्सानी ३६.७० प्रतिशतले बढेर २९ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
अन्य विषयका कारण खुद नाफामा फरक पर्ने भए पनि नेपालका सन्दर्भमा अधिकांश बैंकको खुद नाफामा फरक पार्ने मूल कारण भने कर्जा नोक्सानी व्यवस्था रहेको देखिन्छ ।
कर्जा नोक्सानीमा वृद्धि हुँदा बैंकहरूको प्रारम्भिक वित्तीय विवरणको तुलनामा वाहय लेखा परीक्षणपछि कर्जा नोक्सानी व्यवस्था उल्लेख्य बढेको छ भने नाफा घटेको छ ।
कर्जा वर्गीकरण कसरी गर्ने र कुन वर्गका कर्जामा कति प्रतिशत नोक्सानी व्यवस्था गर्ने भन्ने निर्देशन राष्ट्र बैंकले जारी गरेको छ । कतिपय अवस्थामा सम्बन्धित बैंक र राष्ट्र बैंकको व्याख्या फरक पर्दा राष्ट्र बैंकको व्याख्या अनुसार गर्नुपर्ने हुनाले अन्तिम नोक्सानी व्यवस्था र वाह्य लेखा परीक्षणअघिको नोक्सानी व्यवस्थामा कर्जा परिणाम अनुसार केही करोड रुपैयाँ फरक पर्यो भने त्यसलाई अन्यथा नलिइने बैंकरहरू बताउँछन् ।
तर, धेरै रकम फरक पर्यो भने त्यो बैंकले कर्जाको वास्तविक अवस्था लुकाएर खुद नाफा बढाउन खोजेको आरोप झेल्नुपर्छ ।
गत आवको अपरिष्कृत वित्तीय विरण र लेखा परीक्षणपछि नाफामा धेरै अन्तर देखिने बैंकमा प्रभु अगाडि छ । प्रभुले अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दा ४ अर्ब ४८ करोड मुनाफा आर्जन गरेको उल्लेख गरेको थियो । लेखा परीक्षणपछि ५१ करोड मात्रै नाफा रहेको उल्लेख छ ।
बैंकले ५ करोड मात्रै कर्जा नोक्सानी व्यवस्था सहित अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेकोमा वाह्य लेखा परीक्षणपछि उक्त कर्जा नोक्सानी व्यवस्था ४ अर्ब ७२ करोड पुगेको छ । जसले बैंकको नाफामा उच्च गिरावट देखिएको हो ।
नबिल बैंकको पनि कर्जा नोक्सानी व्यवस्था ३ अर्ब २२ करोडमा ४४ प्रतिशतले वृद्धि भएर ४ अर्ब ६४ करोड पुग्दा नाफा १२.२२ प्रतिशतले घटेर ६ अर्ब २० करोडमा झरेको छ । बैंकले ७ अर्ब ६ करोड नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको थियो ।
कृषि विकास बैंकको पनि वाह्य लेखा परीक्षणअघिको भन्दा कर्जा नोक्सानी व्यवस्था ९८.७८ प्रतिशतले बढेर २ अर्ब ४५ करोड पुगेको छ । बैंकले वाह्य लेखा परीक्षणअघि १ अर्ब २३ करोड मात्रै कर्जा नोक्सानी व्यवस्था गरेको थियो । जसले गर्दा बैंकको नाफामा समेत २०.७४ प्रतिशतको अन्तर देखिएको छ ।
वाह्य लेखा परीक्षणअघि ३ अर्ब ६६ करोड नाफा देखाएको बैंकले वाह्य लेखा परीक्षणपछि भने २ अर्ब ९० करोड मात्रै नाफा रहेको छ ।
त्यस्तै प्राइम कमर्सियलको वाह्य लेखा परीक्षणअघिको भन्दा कर्जा नोक्सानी व्यवस्था ३१.५९ प्रतिशत र माछापुच्छ्रेको ३०.४० प्रतिशतले बढेको छ ।
प्राइम कमर्सियलको नाफामा ७.०६ प्रतिशत र माछापुच्छ्रेको नाफामा १६.४० प्रतिशतको अन्तर देखिएको छ । वाह्य लेखा परीक्षणपछि सिद्धार्थ र ग्लोबल आइएमई बैंकको भने नाफा २ प्रतिशतभन्दा धेरै बढेको छ । यस्तै एभरेस्ट, सानिमा र नेपाल एसबीआईको भने उक्त अन्तर १ प्रतिशतभन्दा कम छ ।
नेपाल बैंकर्स संघ अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला लेखा परीक्षणअघि र पछिको वित्तीय विवरणमा २०–२५ करोडसम्मको फरक तर्कसंगत भए पनि अर्बमाथिको फरक हो भने सोच्नुपर्ने अवस्था रहेको बताउँछन् ।
प्रतिक्रिया 4