+
+
सम्झना :

जिम्मी कार्टरलाई दलितका आँखाबाट हेर्दा

कार्टर अहिले संसारमा बाँच्ने औसत उमेर भन्दा धेरै बाँचे, आफ्नो राष्ट्रपतिको चारवर्षे कार्यकालपछि पनि मानवताको हितमा उनले जे काम गरे त्यो संसारका अन्य राजनेताहरूको लागि पनि अनुकरणीय छ ।

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८१ पुष २३ गते १०:१४

असीको दशकमा म अमेरिकी संस्था सेभ द चिल्ड्रेनमा काम गर्दा यसका स्पोन्सरहरू नेपालको भ्रमणमा आउँथे । मैले पनि धेरैजसो त्यस्ता स्पोन्सरहरूलाई गोरखाका विभिन्न ठाउँमा भ्रमणमा लैजानुपथ्र्यो । सोही क्रममा एक जना महिला स्पोन्सरले जिम्मी कार्टर हार्नु र रोनाल्ड रेगनले जित्नुको कारण बारेको विश्लेषण अहिले पनि सम्झन्छु ।

उनका अनुसार तत्कालीन सोभियत संघसँग शीतयुद्ध चरम उत्कर्षमा थियो र अमेरिकीहरू सोभियत संघसँग तल परेको हेर्न चाहँदैनथे, राष्ट्रपति जिम्मी कार्टर उनीहरूसँग खरो रूपमा प्रस्तुत हुन सकिरहेका थिएनन्, र आम अमेरिकीहरूमा उनी कमजोर राष्ट्रपति भएको बुझाइ रहेछ ।

यस्तोमा रोनाल्ड रेगन चलचित्रको पृष्ठभूमिबाट आएका थिए र धेरै चलचित्रमा उनले काउब्वायको भूमिका निर्वाह गरेका थिए । काउब्वाय भन्ने बित्तिकै छालाको ह्याट, त्यस्तै पाइन्टको कम्मरमा दुवैपट्टि पेस्तोल भिरेका र घोडामा सवार हुने व्यक्तिको छवि आउँछ, त्यस्तो भूमिकामा विरोधी वा अपराधीहरूलाई नायकले आफ्नो पेस्तोलको चर्तिकलाले परास्त गरेको देखाइन्छ ।

राजनीतिमा पनि रोनाल्ड रेगन एउटा कडा काउब्वाय जस्तो राजनीतिज्ञको रूपमा आफूलाई प्रस्तुत गरे र अमेरिकी जनताले उनलाई पत्याए । अमेरिकामा धेरैजसो राष्ट्रपतिहरूले दोस्रो कार्यकाल पनि सजिलै जितेको इतिहास छ, केही अपवाद बाहेक । तर किन कार्टर एउटा शालीन र शान्तिप्रिय व्यक्ति हुँदाहुँदै पनि दोस्रो कार्यकालको लागि उनी सफल भएनन् भनेर भन्दा रोनाल्ड रेगनको काउब्वाय छविले पनि फरक पार्‍यो । ती अमेरिकी महिलाको यो विश्लेषण अहिले पनि मलाई रोचक लागिरहेको छ ।

कार्टर दोस्रो कार्यकालका लागि भएको चुनावमा परास्त भएता पनि उनले आफ्नो सत्कर्मबाट हामीलाई समेत सम्झिनुपर्ने बनाएका छन् । मलाई सम्झना भए अनुसार उनले नेपालको तीन पटक भ्रमण गरे र खासगरी लोकतन्त्र र मानवअधिकारको क्षेत्रमा अभूतपूर्व काम गरे भन्दा फरक पर्दैन ।

माओवादी दशवर्षे सशस्त्र युद्धबाट भर्खरै शान्ति प्रक्रियामा आएको थियो र नेपालको संविधानसभाको चुनावको पर्यवेक्षण साथै मानवअधिकारको अवस्था बुझ्न सन् २००७ को जूनमा नेपाल आएका थिए, कार्टर ।

त्यतिबेला उनले यहाँका सामाजिक आन्दोलनका विभिन्न पक्ष तथा प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट र कुराकानी गरेका थिए । यसरी भेट्ने क्रममा दलित गैरसरकारी संस्था महासंघ (जसको म प्राविधिक सल्लाहकार समेत थिएँ) को प्रतिनिधिमण्डलसँग भेट्ने क्रममा यो पंक्तिकारसँग भेट्ने अवसर जुरेको थियो ।

अमेरिकाका बहालवाला राष्ट्रपतिलाई हामीले भेट्न पाउने भन्ने कल्पनाभन्दा बाहिरको कुरा भएतापनि पूर्व राष्ट्रपतिलाई भेट्न पाउनु हाम्रा लागि जीवनमा पाइने विरलै अवसरहरूमध्ये एक थियो ।

कुरा हो १५ जून २००७ को । नेपालका विभिन्न सामाजिक आन्दोलनका विभिन्न समूहलाई पालैपालो सोल्टी होटलको एउटा सुईट रुममा व्यवस्था मिलाइएको थियो । खासै ठूलो सुरक्षाको व्यवस्था केही थिएन, सामान्य सुरक्षा जाँचपछि हामीलाई उनी बसेको कक्षमा पुर्‍याइयो । अमेरिकाका पूर्व राष्ट्रपति हाम्रा लागि विशेष भएतापनि उनी अत्यन्त सामान्य रूपमा प्रस्तुत भएका थिए । उनी र हामी बीचमा खासै कुनै फरक भए जस्तो हामीलाई महसुस भएन ।

हामीलाई दोभाषेको आवश्यकता त थिएन, तर संयोग र भाग्यवश दलित अभियन्ता तथा नेता डा. मित्र परियार त्यतिबेला बेलायती दूतावासमा राजनैतिक अफिसरको रूपमा कार्यरत थिए, उनी कार्टरका दोभाषे नियुक्त भएका रहेछन् । उनको समेत उपस्थितिमा हामी चार जना म आफैं, डीएनएफका महासचिव बोमबहादुर विश्वकर्मा, यसका सचिव तेज सुनार र निर्देशक तीर्थ बर्माले उनलाई भेटेका थियौं ।

हाम्रो भेट करीब ४० मिनेटको थियो । हामी दलित अभियन्ता तथा प्रतिनिधिको रूपमा उपस्थित भएको हुँदा स्वाभाविक रूपमा हाम्रो संवादको विषय दलित नै हुनेभयो । त्यति वेला शान्ति तथा पुनर्निर्माण मन्त्री वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल थिए र हामीसँग भेट्नुभन्दा पहिले उनले मन्त्रीसँग भेटेको प्रसंग पनि निकाले । भूतपूर्व भए पनि विश्वको शक्तिशाली देशका राष्ट्रपतिलाई भेट्न पाउने भएपछि हामीले पनि राम्रै तयारी गरेका थियौं ।

उनीसँगको हाम्रो भेट हाम्रा लागि अविस्मरणीय रह्यो । उनको सम्पूर्ण भ्रमणको चाँजोपाँजो कार्टर सेन्टर तथा अमेरिकी दूतावासले गरेको थियो, सायद त्यसकै प्रभावका कारणले हुन सक्छ त्यसपछिका वर्षहरूमा अमेरिकी सहयोगमा दलितहरूले पनि प्राथमिकता पाउन थाले ।

त्यतिवेला पहिलो संविधानसभाको माहोल थियो । अतः त्यसकै सेरोफेरोमा हामीले ८ बुँदे ज्ञापनपत्र बनाएका थियौं । त्यसको साथै तथ्य तथ्यांकमा दलितको वास्तविक अवस्थाको पनि एउटा पाना उपलब्ध गरायौं । उनले हाम्रो कुरा मात्रै सुनेनन्, बीच बीचमा प्रश्न तथा जिज्ञासा दुवै राखे ।

उनले नेतृत्व गरेको कार्टर सेन्टरले चुनावको बढी पर्यवेक्षण गर्ने भएको हुँदा उनले दलित मतदाता तथा उनीहरूको नागरिकताको बारेमा जिज्ञासा राखे र भने दलितले नागरिकता प्राप्त गर्न समस्या छ ? दलितले मतदाता सूचीमा नाम लेखाउँदा समस्या भोग्छन् ?

उनले दलितको जनसंख्याको वितरण तथा पूरा जनसंख्यामा दलितको हिस्साको बारे सोधे । त्यसको जवाफमा हामीले भन्यौं, समूहगत हिसाबमा दलितको जनसंख्या जनजाति तथा क्षेत्री पछि १३ प्रतिशत सहित तेस्रो स्थानमा पर्ने बतायौं । वितरणको सन्दर्भमा देशभरि छरिएर रहेको हुँदा जनजातिहरूले जस्तो सजिलै चुनाव जित्न सक्ने स्थिति नरहेको बताउँदा उनी मुस्कुराए मात्रै ।

उनले दलितका राजनैतिक भ्रातृ संगठन र दलित नागरिक समाज बीचको अन्तरसम्बन्धको बारेमा सोधे र त्यसमा दलित गैरसरकारी संस्था महासंघलाई पनि जोड्दै भने तिमीहरू कहाँ पर्छौ ? के तिमीहरू एकअर्का बीच प्रतिस्पर्धी हौ ? जवाफमा हामीले भन्यौं, उनीहरूको कार्यक्षेत्र र हाम्रो बीचमा धेरै फरक छ, हामी एकअर्काका पूरक हौं प्रतिस्पर्धी होइनौं ।

उनले दलितले गर्ने पेशा जसलाई अन्य गैरदलितले लिन चाहँदैनन्को बारेमा पनि जिज्ञासा राखे, यो जिज्ञासा राख्नुको पछाडि उनको भारतका सफाइ मजदुर जो दलित समुदायका छन् उनीहरूको बारेमा विशेष जानकारी राखेका रहेछन्, त्यसकै आडमा हामीलाई पनि प्रश्न सोधे, हामीले भारतमा जस्तो सफाइको काम गर्ने दलितहरूको त्यस्तो विकराल समस्या छैन, काठमाडौंमा त सफाइ गर्नेहरूले एकदिनमै हजारौं रुपैयाँ कमाउने भएको हुँदा यसमा सबै जातका मान्छेहरू लागेको बतायौं ।

उनले दलित र गैरदलित बीचको आम्दानीको बारेमा पनि सोधे, त्यतिबेला उपलब्ध तथ्यांक अनुसार नेपालीको सरदर आम्दानी २० हजार रुपैयाँ प्रति वर्ष थियो भने दलितको जम्मा १३ हजार मात्रै । उनले त्यसलाई डलरमा कति हुन्छ भन्ने पनि जिज्ञासा राखे, त्यो भनेको प्रति महिना १५ डलर मात्रै हो । यति सुनेपछि उनी अलि खिन्न देखिए र भने यति थोरै आम्दानीमा उनीहरूको गुजारा कसरी हुन्छ ? उनले के राजनैतिक पार्टीहरूले दलितका लागि गर्नुपर्ने काम गरिरहेका छन् ? जवाफमा हामीले भन्यौं प्रायः सबै ठूला राजनैतिक पार्टीहरूले आफ्ना भ्रातृ संगठनहरू खोलेका छन् तर हामीले अपेक्षा गरे जति केही पनि गरेका छैनन् ।

अन्त्यमा उनले नेपालका दलितका सवाल र खासगरी हामीसँगको भेटलाई नबिर्सने र आवश्यक परेको ठाउँ तथा अवस्थामा दलितका सवालहरू उठाउने वचन दिए । हामीसँगको भेटलगत्तै अहिलेकी सर्वोच्च अदालतकी न्यायाधीश तथा तत्कालीन महिला अधिकार अभियन्ता सपना मल्ल प्रधान तथा दुर्गा सोव लगायतका समूहसँग भेट्ने कार्यक्रम भएकोले हामी छुट्टियौं ।

हामीले भेट्दा कार्टरको नेपालको दोस्रो भ्रमण थियो भने उनी दोस्रो संविधानसभाको चुनावमा पनि पर्यवेक्षणका लागि आए तर सामाजिक आन्दोलनका अगुवाहरूसँग भने भेटेनन् । जे होस् उनीसँगको हाम्रो भेट हाम्रा लागि अविस्मरणीय रह्यो । उनको सम्पूर्ण भ्रमणको चाँजोपाँजो कार्टर सेन्टर तथा अमेरिकी दूतावासले गरेको थियो, सायद त्यसकै प्रभावका कारणले हुन सक्छ त्यसपछिका वर्षहरूमा अमेरिकी सहयोगमा दलितहरूले पनि प्राथमिकता पाउन थाले ।

कार्टर अहिले संसारमा बाँच्ने औसत उमेर भन्दा धेरै बाँचे, आफ्नो राष्ट्रपतिको चारवर्षे कार्यकाल पछि पनि मानवताको हितमा उनले जे काम गरे त्यो संसारका अन्य राजनेताहरूको लागि पनि अनुकरणीय छ । भावपूर्ण श्रद्धाञ्जली !

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?