
२३ पुस, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाउने गरी कार्यविधि बनाएको भन्दै डाक्टरहरू विरोधमा उत्रिएका छन् ।
उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनु पर्ने भनिएको छ । तर, यो प्रावधानमा आफूहरू नसमेटिने डाक्टरहरूको तर्क छ ।
‘मेडिकलमा सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस हो । हामीलाई डिमोरलाइज हुने गरी कार्यविधि बनाइएको छ । योग्यतामा थप प्रष्ट पार्न भनेका हौँ,’ काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिलका अध्यक्ष प्राडा सुवीन्द्र कार्कीले भने ।
मेडिकलबाट आवेदन नै दिन नपाउने गरी कार्यविधि बनाइएको उनले गुनासो गरे । ‘मेडिकलमा पीएचडी नै छैन । केही विषयमा छ । हामीलाई ह्युमिलेट गरियो,’ उनले भने, ‘मेडिकलबाट भीसी हुनुपर्छ भनेको होइन, आवेदन दिन पाउनुपर्यो भनेका हौँ ।’
छनोट समितिका संयोजक केयूका पूर्वउपकुलपति सुरेशराज शर्मालाई दुईपटक भेटेर ध्यानाकर्षण गराए पनि सोम्बोधन नभएको डाक्टरहरूको गुनासो छ ।
‘हाम्रो अभिभावक सुरेश सर हो । पढ्न पायौं । प्राध्यापक पनि भयौं । तर, आफ्नै सन्तानलाई अयोग्य र सी–ग्रेडको प्राध्यपकजस्तो गरियो,’ प्राडा कार्कीले भने, ‘सबैभन्दा ठूलो पद नै प्राध्यापक हो । तर डाक्टरको प्राध्यापक मान्यता भएन भनेको जस्तो भयो । निरुत्साहित गर्न खोजियो भनेका छौँ ।’
कुनै एउटा सानो विषयमा गरेको रिसर्चलाई मात्र मान्यता दिएर आफूहरूलाई अवमूल्यन गरिएको डाक्टरहरूको गुनासो छ ।
मेडिकलबाट त्रिविमा धर्मकान्त बास्कोटा र केयूमा रामकण्ठ मकाजु उपकुलपति बनिसकेको नजिर छ । तर, नन मेडिकललाई उपकुलपति बनाउने चलखेल भएको निष्कर्ष डाक्टरहरूको छ ।
‘कतै नभएको मापदण्ड बनाइयो । मेडिकल फ्याकल्टीलाई प्रतिस्पर्धाबाट बाहिर राख्ने र विश्वविद्यालयको उच्च पदमा पुग्ने सम्भावना नामेट गरेको देखिन्छ,’ प्राडा कार्कीले भने ।
विश्वविद्यालय अनुदाल आयोगले डाक्टर अफ साइन्स (डीएससी), डाक्टर अफ मेडिसिन (डीएम), डाक्टर अफ इन्जिनियरिङ (डीइएनजी, र एमसीएच गरेकालाई पीएचडीसरह परिभाषित गरेको छ । तर, एमडी, एमएस र एमडीएसबारे केही भनिएको छैन । त्यसैले केयूका डाक्टरहरूले कार्यविधिमा थप स्पष्ट पार्न माग गरेका हुन् ।
छनोट समितिका संयोजक पूर्वउपकुलपति शर्मा डाक्टरहरूको गुनासो आएकाले थप छलफल गरिरहेको बताउँछन् । ‘कार्यविधिमा सबै विषयमा पीएचडी गरेको हुनुपर्छ भनेका थियौं । मेडिकलमा सबै ठाउँमा पीएचडी गर्ने चलन थिएन । त्यसैले पीएचडी नगरेका पनि भीसी भएका थिए । अहिले एमसीएचलगायतमा पीएचडी गर्न थालिएको छ । विश्वविद्यालय अनुदान आयोगले पनि मान्यता दिएको छ,’ संयोजक शर्माले भने, ‘डाक्टरहरूको गुनासो आएपछि के गर्ने भनेर छलफल गरिरहेका छौँ ।’
असन्तुष्ट पक्षलाई समेट्न विषयमा छनोट समितिमा छलफल गर्ने शर्माले बताए । ‘एक दुई दिनमै टुंगो लगाउँछौं,’ उनले भने । योग्यताको विषयमा थप स्पष्ट नपारे अदालत जाने तयारीमा डाक्टरहरू छन् ।
छनोट समितिले गत १८ पुसमा १० दिनको समय दिएर उपकुलपतिका लागि खुला आह्वान गरेको थियो । आवेदन दिने समय अब ५ दिन बाँकी छ । तर, योग्यताको विषयमा के गर्ने भनेर अन्योल कायमै छ ।
६ माघदेखि उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो । छनोट समितिमा प्राडा अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।
प्रतिक्रिया 4