+
+

नेपाली घिउले पाएन बजार, डीडीसीमा थन्कियो ५ सय टन मखन

नेपालबाट पहिलो पटक सरकारी संस्थानमा उत्पादन भएको घिउ २०७७ सालमा जापान निर्यात सुरु भएपछि यसले नेपाली घिउ व्यापारमा ‘ब्रेक थ्रु’ गरेको थियो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ माघ २१ गते १७:३०

२१ माघ, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले पहिलो पटक घिउ निर्यात गरेको पाँच वर्ष पुग्दा पनि अझै नयाँ ठूलो बजार पाउन सकेको छैन ।

आर्थिक वर्ष २०७७/७८ देखि नेपालले ४७ लाख ४ हजार २२ रुपैयाँ बराबरको घिउ जापान निर्यात गरेको थियो ।

डीडीसीले उत्पादन गरेको घिउ एक निजी कम्पनीले खरिद गरेर जापान निर्यात थालेको थियो । नेपालबाट पहिलो पटक सरकारी संस्थानमा उत्पादन भएको घिउ जापान निर्यात सुरु भएपछि यसले नेपाली घिउ व्यापारमा ‘ब्रेक थ्रु’ गरेको थियो ।

त्यसपछि नेपाली डेरी उद्योगहरूकै पहलमा उद्योगीले अन्य देशमा समेत घिउ निर्यात थालिसकेका छन् । तर, डीडीसीले जापान बाहेक अन्य देशमा अहिलेसम्म बजार विस्तार गर्न सकेको छैन । यद्यपि, नेपाली डेरी उद्योगले पनि ठूलो बजार भने पाउन सकेका छैनन् ।

चालु आर्थिक वर्ष २०८१/८२ पहिलो ६ महिनामा ५ करोड ६८ लाख ८१ हजार रुपैयाँ बराबरको मात्र दुग्धजन्य पदार्थ निर्यात भएको छ । यो भनेको १ लाख २२ हजार ३ सय ४८ किलो दुग्धजन्य पदार्थ हो ।

बजार नहुँदा अहिले डीडीसीको देशभरिका गोदाममा ५ सय टनभन्दा बढी मखन थन्किएको छ । घिउ उत्पादन हुने मखनबाट हो, तर डीडीसीले पर्याप्त दूध बिक्री गर्न नसक्दा प्रशोधन गरेर मखन बनाउँदै गोदाममा राखेको छ ।

जापानमा मात्रै २ हजार ७ सय किलो घिउ निर्यात भएको छ, जुन निजी र सरकारी दुवै क्षेत्रको कुल परिमाण हो । यस्तै निजी क्षेत्रबाट ३८ लाख ४० हजार रुपैयाँ बराबर घिउ भारत निर्यात भएको छ । डीडीसीले अहिले घिउबाहेक अन्य उत्पादन केही पनि निर्यात गर्न सकेको छैन ।

गोदाममा ५ सय टन

बजार नहुँदा अहिले डीडीसीको देशभरिका गोदाममा ५ सय टनभन्दा बढी मखन थन्किएको छ । घिउ उत्पादन हुने मखनबाट हो, तर डीडीसीले पर्याप्त दूध बिक्री गर्न नसक्दा प्रशोधन गरेर मखन बनाउँदै गोदाममा राखेको छ ।

‘दुध उत्पादन हाम्रो धेरै नै छ, त्यही भएर अहिले मखन बनाउँदै गोदाममा थुपारिरहेका छौं,’ डीडीसीका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने, ‘केही परिमाण मखन त बिग्रिन पनि थालिसक्यो ।’

ती अधिकारीका अनुसार नेपालले घिउ निर्यात गर्ने बजार खोज्न नसक्दा डीडीसीलाई दोहोरो घाटा भइरहेको छ । नेपाली दूध किसानले समयमा पाउनुपर्ने पैसा पाउन अहिले पनि समस्या भइरहेको छ ।

‘किनभने, डीडीसीले प्रशोधन गरेर राखेको मखनका कारण चालु पूँजी रोकिएको छ । अर्को स्टक भएको मख्खन बिक्री नहुँदा बिग्रिने सम्भावना बढिरहेको छ,’ उनले भने, ‘हामीले घिउ बेच्न सके धेरै सुधार हुन्थ्यो ।’

उनका अनुसार जापानमा पनि घिउ निर्यात बढाउन सकिएको छैन । ‘डीडीसीले एउटा मात्रै उत्पादन निर्यात गर्छ, त्यो घिउ नै हो तर त्यसमा पनि सुधार गर्न सकिएको छैन,’ उनले भने, ‘निजी क्षेत्रले नै आफ्नो ढंगले गरिरहे पनि डीडीसीले थप निर्यातको काम गर्न सकेको छैन । यसका लागि कूटनीतिक स्तरबाट पनि पहल भएको छैन ।’

कुन वर्ष घिउ कति निर्यात ?

आर्थिक वर्ष २०७७/७८ मा नेपालले ४७ लाख ४ हजार २२ रुपैयाँ बराबरको घिउ जापान नियार्त गरेको थियो । २०७८/७९ मा डीडीसी सहित निजी उद्योगले १ करोड ९३ लाख ५२ हजार १ सय ६ रुपैयाँको घिउ जापान, क्यानडा, भारत र हङकङ निर्यात गरेका थिए । जसमा १ करोड ८७ लाख रुपैयाँको घिउ जापान पठाइएको थियो ।

त्यस वर्ष क्यानडामा १ लाख ९० हजार रुपैयाँको घिउ निर्यात भयो भने भारतमा ३ लाख ९१ हजार रुपैयाँको घिउ निर्यात भएको थियो ।

यस्तै २०७९/८० मा १ करोड ८६ लाख १९ हजार ९ सय ४६ रुपैयाँको १६ हजार ६ सय ७० किलो घिउ जापान र अस्ट्रेलिया निर्यात भएको छ । वर्षभरि जापानमा १ करोड ६० लाख ४८ हजार ६ सयि ७२ को घिउ निर्यात हुँदा अस्ट्रेलियामा नेपालबाट २५ लाख ७१ हजार २ सय ७४ रुपैयाँको निर्यात भएको केन्द्रले जनाएको छ ।

गत आव २०८०/८१ मा अस्ट्रेलियातर्फ १७ लाख ९८ हजार, जापान ९२ लाख १७ हजार, भारत ५५ लाख ७४ हजार र अमेरिकातर्फ ३० लाख १२ हजार गरी १ करोड ९६ लाख १ हजार रुपैयाँको निर्यात भएको भन्सार विभागको वार्षिक तथ्यांकमा छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?