+
+

नेपालमा अवैध रूपमा खेलिरहेका छन् अफ्रिकी मुलुकका फुटबलर

नेपालको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा भोजपुरमा गोल्डकप खेलिरहेका एक अफ्रिकी खेलाडी अहिले हिरासतमा छन् । उनीसहित चितवन र अन्य जिल्लामा भइरहेका प्रतियोगितामा सहभागी थप विदेशी खेलाडीमाथि समेत अध्यागमन विभागले जाँच गरिरहेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ माघ १० गते २३:००
अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा भोजपुरबाट पक्राउ गरिएका अफ्रिकी खेलाडी (तल), माथि चितवनमा माडी गोल्डकप खेलिरहेको अफ्रिकी टोली । पृष्ठभूमिमा भोजपुरको खेलमैदान ।

१० माघ, काठमाडौं । १ देखि ९ माघसम्म भोजपुरमा चलेको पौवादुङ गोल्डकपमा गएको शनिबार तिवारी भन्ज्याङ फुटबल क्लबका विदेशी खेलाडी ‘ओलुवासोगो ग्लोरी ओदेह’ म्यान अफ द म्याच घोषित भए ।

टेम्केमैयुङ गाउँपालिकाको टोलीलाई ३–० अन्तरको जित दिलाउन योगदान गरेका ग्लोरीले पुरस्कार थापिरहँदा उनका टिमका अरु खेलाडीहरू पनि गद्‌गद् थिए । तर, त्यही बेला जिल्ला प्रहरी कार्यालय, भोजपुरबाट खटिएको एउटा टोलीले भने उनलाई निगरानी गरिरहेको थियो ।

भोजपुर प्रहरी स्रोतका अनुसार, अध्यागमन विभागले ३ माघमा उनको हुलिया पठाएर पौवादुम्मा गाउँपालिका–३ मा सञ्चालन भइरहेको गोल्डकपमा सहभागी ग्लोरीलाई पक्राउ गरेर पठाइदिन पत्राचार गरिसकेको थियो ।

‘पत्र आएपछि भेरिफाइ गर्ने, कागजातहरू हेर्नुपर्नेलगायतका कामहरू सक्नु पर्ने हुनाले सुरुमा निगरानी मात्र गरिरहेका थियौं’, भोजपुर प्रहरीका एक अधिकृत भन्छन्, ‘ग्लोरीले नै म्यान अफ द म्याचको उपाधि पाएपछि खोजी थप सहज बन्यो ।’

प्रहरीलाई आवश्यक केही कागजात जुटाउनु थियो । त्यसैले एकजना हवल्दारको नेतृत्वमा खेलमैदानमा निगरानी गरिरहेको प्रहरी टोलीले उनको हातमा हत्कडी लगाउन थप दुई दिन खर्चिनु पर्‍यो ।

७ माघमा कोलकाता फुटबल क्लब र राजगढ फुटबल क्लबबीच प्रतिष्पर्धा चलिरहेका बेला ग्लोरी दर्शक दीर्घामा बसेर अवलोकन गरिरहेका थिए । त्यतिञ्जेल नाइजेरियन नागरिक ग्लोरीको भिसामा रहेको कैफियतबारे प्रहरीले स्पष्ट जानकारी पाइसकेको थियो । र, त्यहीँबाट उनलाई पक्राउ गरेर को. १झ ६१६ नम्बरको गाडीमा भोजपुर प्रहरीले उनलाई काठमाडौंतर्फ ल्यायो ।

जिल्ला प्रहरी कार्यालय, भोजपुरका एक अधिकृतका अनुसार, फुटबल खेलाडी नाइजेरियन नागरिक ग्लोरीको कसुर भिसा अवधि सकिइसकेपछि पनि नेपालमा बसिरहनु मात्र थिएन । ‘उनको हकमा अरु कैफियतहरू पनि भेटिएपछि समातेर काठमाडौं पठाएका थियौं’, ती अधिकृत भन्छन् ।

आफ्नो कमजोरीबारे ग्लोरीलाई थाहा नहुने कुरै भएन । बाटोभरि उनी चुपचाप नै थिए । तर, जब मंगलबार बिहान ६ः१० बजेतिर उनी प्रहरी टोलीसँग सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७, अधेरीपुलनजिकै सुनकोशी बगरमा आइपुगे, त्यसबेला प्रहरीलाई नै छक्याएर अध्याँरोमा कान्लोतिर फाल हाने ।

प्रहरीहरूले उनलाई रोक्न खोजे, तर उल्टै मुक्का दिँदै ग्लोरी जंगलतिर पसे ।

अफ्रिकी खेलाडीहरू भएको एउटा क्लबलाई समावेश गरेर माडी गोल्डकपलाई ‘अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता’को नाम दिइएको छ । त्यो खेलमा सहभागी खेलाडीहरूमाथि समेत अध्यागमन विभागले जाँच गरिरहेको स्रोतको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार, उनी भागेको सूचना पाएलगत्तै आसपासको क्षेत्रमा हुलिया बताएर जोसुकैले देखे खबर गर्न भनिएको थियो । ‘झण्डै ६/७ घन्टापछि उनी जंगलबाट मुख्य सडकतिर आएर एउटा गाडी चढेको सूचना आयो’, काफ्लेले सुनाए, ‘त्यसपछि सडकमा खटिएको सबै प्रहरी टोलीहरू सतर्क भएर बसेका थिए ।’

२५ वर्षीय ग्लोरी सर्लाही जाने गाडीमा चढेका रहेछन्, प्रहरी चौकी, गढीको एम्बुसमा परिहाले । ‘यसपछि समातेर फेरि काठमाडौंतिरै पठाइदिएका छौं’, एसपी काफ्लेले भने ।

हाल अध्यागमन विभागको हिरासतमा रहेका ग्लोरीले काठमाडौंको संकटा फुटबल क्लबका लागि समेत स्ट्राइकरका रूपमा पाँच खेल खेलिसकेका छन् । शहीद मेमोरियल ‘ए’ डिभिजन लिगसहित उनले आहा रारा गोल्डकपमा समेत सहभागिता जनाइरहेका छन् ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, ग्लोरीको कसुर ओभरस्टे मात्र नभई अरु पनि हुनसक्ने आशंकामा उनलाई भोजपुरबाट समातेर ल्याइएको हो ।

‘काठमाडौंमा ल्याएर थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति लिइसकेका छौं’, रिजालले अनलाइनखबरसँग भने, ‘यो अवधिमा जे शंका र आधारमा उनलाई ल्याएका हौं, त्यसबारे विस्तृत अनुसन्धान गर्छौं ।’

जिल्लैपिच्छे गोल्डकप, अधिकांशमा अफ्रिकन

नेपालमा जिल्लैपिच्छे गोल्डकपका नाममा फुटबल प्रतियोगिता हुने गरेका छन् । पोखराको आहा रारा, पूर्वमा झापा गोल्डकप, धनगढीमा खप्तड गोल्डकप, बारामा सिमरा गोल्डकप, इलाममा माइभ्याली गोल्डकप, बुटवलमा तिलोत्तमा गोल्डकपलगायतले राष्ट्रिय स्तरमा राम्रै चर्चा बटुल्छन् ।

कहिलेकाहीँ जस्तोसुकै खेललाई पनि गोल्डकप भनिएको भन्दै आलोचना पनि हुने गर्छ । नेपाल फुटबल संघ (एन्फा) ले केही वर्ष पहिले मोफसलमा हुने गोल्डकपलाई वर्गीकरण गर्ने गरी मापदण्ड पनि बनाएको थियो ।

तर, त्यो वैज्ञानिक र प्रभावकारी नहुँदा जस्तोसुकै खेललाई पनि गोल्डकपको नाम दिइने गरेको खेल क्षेत्रका जानकारहरू बताउँछन् ।

यसरी विभिन्न जिल्लामा विनामापदण्ड आयोजना हुने अधिकांश गोल्डकपमा राष्ट्रिय लिग खेलेका टिमहरू नै सहभागी देखिन्छन् । विभागीय टिमबाहेक चर्च ब्वाइज, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, जावलाखेल युथ, संकटा, मच्छिन्द्र, च्यासल युथ क्लबलगायत गोल्डकपहरूमा सहभागी देखिन्छन् ।

जिल्लैपिच्छे आयोजना हुने गोल्डकपमा सहभागी टिमले कुनै न कुनै विदेशी खेलाडीलाई टिममा समावेश गर्ने गरेका छन् । विदेशी खेलाडीमध्ये पनि अधिकांश अफ्रिकन मुलुकहरूबाट आएका हुन्छन् । तर, उनीहरूमध्ये अधिकांशले नेपालको अध्यागमन कानुनलाई समेत उल्लंघन गर्ने गरेको भेटिएको छ ।

उदयपुरबाट पक्राउ परेका ग्लोरी अनुसन्धानको दायरा परेका एक खेलाडी मात्र हुन्, अफ्रिकी मुलुकहरूबाट नेपाल आएर खेलिरहेका अधिकांश खेलाडीले अध्यागमन सम्बन्धी केही न केही कानुन उल्लंघन गरेको सरकारी निकायले नै फेला पारेको छ ।

जस्तै, अध्यागमन विभागको प्रारम्भिक छानबिनमा ग्लोरीसँगै नाइजेरियाकै अर्का एक खेलाडी, आइभेरिकोस्ट र क्यामरुनका गरी ३ जना खेलाडीले अध्यागमन कानुनको उल्लंघन गरेको प्रारम्भिक जाँचबाट खुलिसकेको छ ।

चितवनमा जारी २४औं माडी गोल्डकप फुटबल प्रतियोगितामा अफ्रिकी खेलाडी मात्र रहेको माबोय एफसी नै सहभागी छ । जसलाई अफ्रिकाको बुर्किना फासोबाट आएको भनिएको छ ।

अफ्रिकी खेलाडीहरू भएको एउटा क्लबलाई समावेश गरेर माडी गोल्डकपलाई ‘अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता’को नाम दिइएको छ । त्यो खेलमा सहभागी खेलाडीहरूमाथि समेत अध्यागमन विभागले जाँच गरिरहेको स्रोतको भनाइ छ ।

चितवनमा जारी माडी गोल्डकपमा सहभागी माबोय फुटबल क्लबका अफ्रिकी खेलाडीहरु। तस्वीर : स्वदेश एफएमबाट ।

अध्यागमन विभागका एक अधिकारीका अनुसार, विदेशबाट आउने खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मार्फत प्रारम्भिक सिफारिस भएर राष्ट्रिय खेलकुद परिषद् हुँदै युवा मन्त्रालयबाट गृह मन्त्रालयसम्म भिसाका लागि सिफारिस आउने गर्छ । गृहबाट अध्यागमन विभागमा आउने पत्रका आधारमा उनीहरूका लागि भिसाको व्यवस्थापन गरिन्छ ।

‘एन्फाले त्यस्तो पत्र पठाउँदा स्पोन्सर गर्ने क्लबको नाम लेखेरै पठाएको हुन्छ, त्यो क्लबभन्दा बाहिर गएर उसले खेल्न पनि पाउँदैन’, अध्यागमनका ती अधिकारी भन्छन्, ‘एन्फाको सिफारिसमा तिनलाई वर्किङ भिसा दिएकाले नियमित रूपमा त्यसरी आएका खेलाडीमाथि अनुगमन गर्ने दायित्व एन्फा, राखेपलगायतका निकायको पनि हुन्छ ।’

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार, अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगितामा ६ जनासम्म विदेशी खेलाडीलाई खेलाउने गरिन्छ । ‘नेपालको सन्दर्भमा राष्ट्रिय लिगमा एउटा टिममा पाँच जनासम्म विदेशी खेलाडी समावेश गराइरहेका छौं’, उनले भने, ‘गोल्डकपहरूमा चाहिँ आयोजकहरूले काहीँ दुई, काहीँ चारजनासम्म राख्ने गरेका छन् ।’

केही सीमित गोल्डकपहरू एन्फासँग आबद्ध भएर सञ्चालन हुने गरेका छन् । तर, कतिपय प्रतियोगिता एन्फाको जानकारीमा समेत नहुने अधिकारीहरू बताउँछन् । प्रतियोगिताको एक्सपोजर, स्थानीय खेलाडीलाई अभ्याससँगै क्षमता विकासका लागि विदेशी खेलाडीलाई टिममा खेलाउन दिइएको हो ।

उनीहरू अवैध तरिकाले नेपालमा खेलिरहेकोबारे एन्फा र राखेपका अधिकारीहरू पनि बेखबर छैनन् ।

सुरेश शाह, प्रवक्ता, एन्फा

अध्यागमन विभागको रेकर्डमा कुनै गोल्डकप खेल्नका लागि भनेर आएका खेलाडीको सूची छैन । अर्थात्, राष्ट्रिय लिग खेल्न भनेर आएका खेलाडीहरू नै गोल्डकपमा सहभागी भइरहेका छन् । जबकि, मापदण्डअनुसार जुन क्लबका लागि भनेर उनीहरू खेल्न आएका हुन्, उनीहरूले त्यहीँ मात्र खेल्नुपर्ने हो ।

एन्फाका प्रवक्ता शाह ‘ए’ डिभिजन क्लबबाट खेल्न भनेर आएका खेलाडीहरू नै जिल्लामा गएर खेल्ने गरेको स्वीकार्छन् । ‘एन्फाको लिग भइरहँदा फिफा कनेक्ट भन्ने मेकानिज्म पनि छ, त्योमार्फत श्रम स्वीकृतिदेखि लिएर सबै कुरा जाँच गरिरहेका हुन्छौं’, उनी भन्छन्, ‘तर, जिल्लामा गएर गोल्डकप खेल्दा आयोजकहरूलाई उहाँहरूको भिसा छ/छैन, कसैको समय सकिएको छ कि भन्ने थाहै हुँदैन ।’

अध्यागमनका अधिकारीहरू भने क्लबभन्दा बाहिर गएर फ्रिलान्सिङ हिसाबले खेल्नु नै कानुनविपरीत भएको बताउँछन् । उनीहरूको भनाइमा, कतिपय गोल्डकपमा खेल्ने खेलाडीहरू पर्यटक भिसामा आएर खेलिरहेको समेत भेटिएको छ । जबकि, पर्यटक भिसामा आएकालाई श्रम गर्न प्रतिबन्ध छ ।

निरन्तर कानुन उल्लङ्घन, छैन अनुगमन

विदेशी नागरिकहरूले अध्यागमन कानुनको व्यापक उल्लङ्घन गर्न थालेपछि सरकारले २०७५ सालमा विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५ जारी गरेको थियो । यो निर्देशिका अनुसार, पर्यटक वा परिवारको सदस्यको हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिइ वा नलिइ कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न मिल्दैन ।

विदेशी नागरिक अनुगमन निर्देशिका

निर्देशिकाको दफा २० (२) मा ‘भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा प्राप्त गरेको हो, सोबाहेक अन्य काम गर्न पाइने छैन’ भनिएको छ । यद्यपि, कुनै पनि किसिमको भिसा लिएर आएको विदेशीले त्यस्तो भिसा प्राप्त गरेको समय सकिएपछि अर्को किमिसको भिसाका लागि आवेदन दिनसक्ने भनिएको छ ।

‘तर नेपालमा आएर खेल्ने विदेशी खेलाडीले न भिसा अध्यावधिक गर्ने गरेका छन्, न जुन भिसामा आएका हुन्, त्यही अनुसार काम गर्ने गरेका छन्’, विभागमा काम गरिसकेका एक पूर्वकर्मचारी भन्छन्, ‘यस्तोमा हाम्रो अनुगमन संयन्त्रले पनि प्रभावकारी काम गर्न सकेको छैन ।’

निर्देशिकामा १२० दिनभन्दा बढी नेपालमा बसेका कुनै विदेशीले नेपालको कुनै स्थानमा तीन दिनभन्दा बढी समय बिताउने गरी गए आफ्नो नाम, राहदानी नम्बर र ठेगाना समेत खुलेको विवरणसहित स्थानीय प्रहरी कार्यालयमा आफ्नो उपस्थिति दर्ता गराउनुपर्ने समेत भनिएको छ । तर, यसको कार्यान्वयन हुने गरेको छैन ।

निर्देशिकाले विदेशी नागरिकको गतिविधिबारे अनुगमन गर्न जिल्ला अनुगमन समिति रहने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने यो समितिमा प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान, पर्यटन कार्यालय, श्रम कार्यालयका प्रमुख सदस्य रहने व्यवस्था छ ।

यसमा अध्यागमन कार्याल्यका प्रमुख सदस्य सचिव रहने भनिएको छ । अध्यागमन कार्यालय नभएको जिल्लामा प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृतले सदस्य सचिवको काम गर्ने भनिएको छ ।

यो समितिले जिल्लामा हुने प्रतियोगिताहरूमा सहभागी विदेशी खेलाडीको पृष्ठभूमि जाँच गर्ने हो भने धेरै हदसम्म यो समस्या समाधान हुने अध्यागमनका अधिकृतहरूको बुझाइ छ ।

समितिलाई गैरकानुनी रूपमा बसेका, प्रयोजनविपरीत फरक किसिमले भिसाको प्रयोग गरेका, भिसा नियमित नगरी बसेका विदेशीहरूलाई नियन्त्रणमा लिनेदेखि विदेशी नागरिक रहेको जुनसुकै स्थानमा आवश्यकताअनुसार प्रवेश गर्ने, छापा मार्ने, सोधपुछ गर्ने अधिकार छ ।

तर, यसतर्फ प्रमुख जिल्ला अधिकारीहरूले पर्याप्त ध्यान नदिँदा नियन्त्रण हुन नसकेको अधिकृतहरू टिप्पणी गर्छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?