+
+

बालबालिकाले कसरी सिक्छन् ?

मणिकुमार लिम्बू मणिकुमार लिम्बू
२०८१ माघ १४ गते १७:२८

भर्खरै मात्र डा. विद्यानाथ कोइरालाले सामाजिक सञ्जालमा भन्नुभएछ-अब विद्यार्थी धेरै जान्ने भइसक्यो शिक्षक भन्दा पनि । उहाँको यो भनाइ पढिसकेपछि मेरो मनमा धेरै कुराहरु आइरह्यो-के साँच्चै विद्यार्थीहरू उनले भनेजस्तै त्यही स्तरका भइसके त ? कि उनले कुनै एउटा विद्यालयका बच्चाहरूको अवस्था हेरेर भनेका हुन्? के नेपालभरिका सबै विद्यालयका विद्यार्थीहरूको स्तर यस्तै छ त ? यदि त्यस्तो भयो भने कसरी भयो त ? पक्कै पनि उत्तर सहज छ-यस्तो अवस्था छैन ।

प्राय अहिले पनि सामुदायिक विद्यालयमा भौतिक पूर्वधारदेखि शैक्षिक गुणस्तर, पाठयक्रम सम्बन्धि बुझाइ, जनशक्ति व्यवस्थापन, शिक्षकका तालिमलगायत स्थानीय तहहरुले शिक्षामा विनियोजन गर्ने बजेट, आम मानिसले शिक्षकलाई हेर्ने दृष्टिकोण सबैमा कहीँ न कहीँ समस्या रहेको छ । शिक्षाको त्रिकोणात्मक सम्बन्ध परिवार, विद्यालय र समाज अहिले पनि सन्तुलनको अवस्था रहेको छैन । यी तीनवटा मुख्य पक्षहरू एक आपसमा जति अन्तर सम्बन्धित भएर काम हुनुपर्ने हो त्यो भएको छैन ।

हाम्रा बालबालिकाहरु कस्तो परिवारमा हुर्किरहेको छ ? समाजको अवस्था कस्तो छ ? विद्यालयको अवस्था कस्तो छ ? यी तीनवटा खुट्टाहरू एउटा मात्र कमजोर भएमा बाँकलाई निकै गाह्रो हुन्छ ।

बाँकी बालबालिकाहरुले विद्यालयमा सिकेका कुरालाई उसले आफ्नो घरमा कत्तिको भन्न पाउँछन्, उसले विद्यालयमा गरेका, सिकेका कुरा अभिभावले कत्तिको ध्यानपूर्वक सुन्ने गर्दछन् भन्नेले पनि उसको सिकाइ र सोच्ने क्षमतामा फरक पार्छ ।कतिपय अभिभावहरू विचार नै नपुर्‍याइ आफ्ना नानीहरुले केही कुरा शेयर गर्न खोज्यो भने भन्ने गर्छन्-भैगो भन्नु पर्दैन मलाई सबै थाहा छ, अहिले म भर्खरै कामबाट आएको गलेको छु, मलाई नभन भन्ने गरेको पाइन्छ ।जसका कारण बालबालिकाहरुले आफूले सिकेका कुराहरु भन्न नपाउँदा उनीहरुमा एक प्रकारको नकारात्मकता आउँछ ।

त्यसकारण बालबालिकालाई बोल्नका लागि प्रोत्साहन गर्न जरुरी छ । उनीहरुले भनेका कुरा सुन्न जरुरी छ । अभिभावकले बेलुका कम्तिमा आधा घण्टा विद्यालयमा भएका घटनाहरु साथै पढाइकै बारेमा उनीहरुलाई बताउन लगाउँदा उनीहरुमा आत्मविश्वास पलाउँछ । उनीहरुमा सञ्चारको सीपको विकास हुन्छ । उनीहरुमा प्रोत्साहन थपिन्छ र अझ सिर्जनशिलता पलाउँदै जान्छ ।

तर बालबालिकाले सबै जानेको छ, सबैकुरा विद्यालयमा सिक्छ भनेर अभिभावले नसिकाउने हो भने उनीहरुले केही सिक्न सक्दैन । विद्यालयमा पनि विद्यार्थीले सबै जानेकै छ भन्ने हो भने फेरि के का लागि विद्यालय गइरहनु भन्ने प्रश्न उठ्छ । हो सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो । शिक्षक होस वा अन्य जुनसुकै क्षेत्रको होस आफूलाई अपडेट गर्न नसक्ने हो भने त्यो वर्तमान तथा भविष्य हुन सक्दैन त्यो त केवल विगत भएर जान्छ ।
विद्यालयमा बालबालिकाले केबल शिक्षकबाट मात्र सिक् छभन्ने कुरा सरासर गलतन हो। विद्यालयमा धेरैजसो उनीहरुले आफ्ना सथीहरुबाट सिकिरहेका हुन्छन् । घर परिवारमा थोरै मानिसबाट त्यति धेरै बालबालिका भएका ठाउँमा जाँदा पक्कै पनि विद्यार्थीहरुले सर्वप्रथम कसरी अरुसँग मिलेर बस्ने, समूहमा बस्ने क्षमताको विकास गर्दछ । त्यसपछि उनीहरुले नयाँ साथी कसरी बनाउने त्यो क्षमता आर्जन गर्छन् । साथीहरुसँग कसरी बोल्ने त्यो पनि त्यहाँ सिक्छन् । शिक्षकले बोलेका, लेखेका कुराहरुबाट पनि केही न केही उनीहरुले हरपल सिकिरहेका हुन्छन् ।

त्यस्तै शिक्षकले बालबालिकाबाट धेरै कुरा सिक्न अवसर प्राप्त गर्दछन् । आज विज्ञान-प्रविधिमा भएको विकासले पनि धेरै कुराहरु किताबबाट भन्दापनि घरमै बसेर मोबाइल, ल्यापटपबाट सिकिरहेका हुन्छन् । त्यो कुरा बालबालिकाबाट शिक्षकहरुले सिक्न सक्दछन् ।

जीवनको आशा, निश्वार्थ, दयालु पन, सहयोगको भावना वयस्क मानिसमा भन्दा पनि बालबालिकामा बढी हुने हुँदा ती कुरा शिक्षक वा वयस्क मानिसले सिक्न सक्दछ । विभिन्न प्रकारका मोबाइल एप्सको बारेमा पनि बालबालिकाहरू पोख्त हुन सक्छन् । त्यसका बारेमा पनि उनीहरुबाट सजिलैसँग सिक्न सकिन्छ । यसका लागि कुनै लाज सरम मान्न जरुरी छैन । नजानेको कुरा जानेको छु भन्नु मुर्खताबाहेक केही पनि होइन । त्यसकारण नयाँ कुरा जोसुकैले गरे पनि कान ठाडो बनाएर सिक्दा सबैलाई फाइदा नै हुन्छ ।

पक्कै पनि समय बदलिएको छ । हिजोको जस्तो एकतर्फी सिकाइ अहिले छैन । अहिले बिस्तारै किताब पढ्ने बानी पनि हराउँदै गएको छ । मोबाइलमा हेरेको कुनै भिडियोलाई मात्र रिफरेन्स गरेर अगाडि बढ्दा त्यस्ले गन्तव्यमा पुर्‍याँउन सकिँदैन, यो कुरा बुझ्न जरुरी छ । त्यसका लागि आफैँले निरन्तर अध्ययन गर्न जरुरी छ ।

बालबालिकालाई विद्यालयमा केवल पाठ्यपुस्तक मात्र पढाउँदा एक प्रकारको मोनोटोनस हुन्छ । त्यसकारण हप्तामा एक दिन भएपनि अन्य कुनै लेख, कथा, कविताको बारेमा कुरा गर्दा त्यसले उनीहरुमा चाख बढाउँछ । अध्ययन गर्ने बानीको विकास गराउँछ । यसका लागि सर्वप्रथम शिक्षकले पढन जरुरी छ ।

पक्कै पनि एकजना शिक्षक जो पढेर मात्र आफ्नो कक्षामा जान्छ भने उसले विद्यार्थीलाई उत्प्रेरित गर्न सक्छ । शिक्षक नपढ्ने अनि विद्यार्थीलाई मात्र पढ भन्दा त्यो न्यायोचित हुँदैन। कतिपय विद्यालयमा देख्ने गरिन्छ विद्यार्थीहरुलाई ‘गुट्खा खानु हुँदैन, जङ्क फुड खानु हुँदैन भनेर शिक्षकले भनिरहेको हुन्छ अनि एकछिनमा शिक्षक आफैँ ती सबैकुराहरु सेवन गरिरहको हुन्छन यस्तो अवस्थामा विद्यार्थीले त्यसबाट के सिक्छ यो सबैले बुझेकै कुरा हो । जे कुरा बालबालिकालाई हामी सिकाउन गइरहेका छौँ त्यसबारे सर्वप्रथम मैले के गरिरहेको छु भनेर आफैँलाई प्रश्न गर्ने हो भने समस्या केही हदसम्म भए पनि हल भएर जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?