+
+
Shares

किताब-कापी डोजरले पुर्‍यो, कहाँ पढ्ने थाहा छैन

भर्ना अभियान सुरु भयो । तर सुकुमवासी बस्तीका बालबालिका विद्यालय जान पाएका छैनन् । उनीहरूको किताब–कापीसमेत डोजरले पुरिदिएको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८३ वैशाख १५ गते २०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले काठमाडौं उपत्यकाका सुकुमवासी बस्तीहरू हटाएपछि करिब ३ हजार बालबालिका विद्यालय जान नपाएको समस्या देखिएको छ।
  • सुकुमवासी बस्तीका अभिभावकहरू आश्रममा अस्थायी बसोबास गर्दै आफ्ना छोराछोरीको पढाइका लागि नयाँ व्यवस्था माग गरिरहेका छन्।
  • राष्ट्रिय परीक्षा बोर्डले सहजीकरणको सूचना जारी गरे पनि परीक्षा दिइरहेका विद्यार्थीहरूलाई आवश्यक सहयोग प्राप्त भएको छैन।

१५ वैशाख, काठमाडौं । ‘सर ! बच्चाको पढाइ बिग्रियो । सुकुमवासी भनेर कोठा पनि दिएनन् । बच्चा पढाउन पाए हुन्थ्यो,’ तीनकुने आसपासमा कोठा नभेटेपछि कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा पुगेकी सुकुमाया विश्वकर्मा मानव अधिकारकर्मीसँग याचना गरिरहेकी थिइन् ।

‘नरुनुहोस् केही दिनमा व्यवस्था होला,’ मानव अधिकारकर्मी सुकुमायालाई सम्झाउँदै थिए ।

उनको मोबाइलमा घण्टी बज्यो, ‘ममी कोठा भेटियो त ? भोलि स्कुलमा भर्ना गर्न जाने कि नजाने ?’ छोराको प्रश्नले उनी आश्रमको प्राङ्गणमा भक्कानिइन् । ‘बाबु, यतै आइज । कोठा भेटिएन,’ यत्ति भनेर सुकुमायाले छोराको फोन काटिन् ।

कोठा नभेटेपछि उनी आश्रयका लागि आश्रममा पुगेकी रहिछिन् । ‘तीन दिनदेखि कोठा भेटेको छैन । एउटा मात्र पाए छोरा–छोरी पढाउन हुन्थ्यो । बरु म यही आश्रममा बस्थें,’ उनले आफ्नो समस्या सुनाइन् ।   

दुई छोरा र एक छोरीलाई पढाउनुपर्ने दायित्व उनको काँधमा छ । पार्टी प्यालेसमा काम गरेर छोराछोरीलाई पढाउँदै आएकी छिन् । ‘गैरीगाउँको स्कुलमा भर्ना गर्नुपर्ने हो । कक्षा १ र ३ मा पढ्छन् । अब पढ्न नपाउने भए । गरिबका छोराछोरीले नपढे नि हुने हो ?,’ उनले सरकारलाई प्रश्न गरिन् ।

गैरीगाउँको सुकुमवासी बस्तीमा उनको बसोबास थियो । सरकारले डोजर चलाएपछि अब दैनिकीको लय नै फेरिएको छ । काम छोडेर छोराछोरीको पढाइ र डेराको खोजीमा उनी भौंतारिइरहेकी छिन् । तीन दिन भयो कीर्तिपुर टु तीनकुने गरिरहेकी छिन् । ‘म त थाकिसकेँ । पैसा छैन । काम गर्न पाएको छैन । घर त भत्कियो । छोराछोरीले पढ्न नपाउने भए,’ उनी निराश सुनिइन् ।

संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने भनेको छ । त्यति मात्र होइन, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनेको छ । तर सुकुमवासी बस्तीका अभिभावक आफ्ना छोराछोरी पढाउनको लागि राज्यसँग नै संघर्ष गरिरहेका छन् ।

०००

सुकुमवासीलाई राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बासोबासको व्यवस्था मिलाइएको छ । थापाथली, शान्तिनगर र गैरीगाउँका सुकुमवासीलाई आश्रमको प्राङ्गणमा बनाएको हलमा राखिएको छ । हलमा क्रमशः फेमली वान, फेमली टु गरी नम्बर दिइएको छ । त्यसैलाई उनीहरूले घर ठानेका छन् ।

सोमबार दिउँसो आश्रममा पुग्दा धेरैजो ज्येष्ठ नागरिक, सुत्केरी–गर्भवती महिला र बालबालिका हलमा थिए । बुबा-ममी खोई त भन्ने प्रश्नमा कसैले कोठा खोज्न भने त कसैले काममा गएको जवाफ दिए । त्यही हलमा कोही बालबालिका खेलिरहेका थिए । कोही आ-आफ्नो ओछ्यानमा पल्टिरहेका थिए । विद्यालय जानुपर्ने तबिता परियार, वर्षा महतो र सबिना मगर एकै ठाउँमा बसेर पढाइबारे कुरा गरिरहेका थिए ।

उनीहरूले आश्रमको आ–आफ्नो घर पनि देखाए ।

‘उ त्यो हो मेरो घर,’ गेटबाट छिर्ने बित्तिकै कक्षा ६ मा पढ्ने तबिताले आफ्नो अस्थायी घर देखाउँदै भनिन्, ‘थापाथलीको घर भत्कायो । यही हो हाम्रो घर ।’

तबिता थापाथलीको गुहेश्वरी बाल शिक्षा विद्यालयमा अध्ययनरत थिइन् । ‘स्कुल जान पाएको छैन । साथीहरू गए होलान् । म कहिलेबाट जाने हो थाहा छैन,’ आफ्नो पढाइबारे उनले अनविज्ञता प्रकट गरिन् ।

वर्षा महतो कुपन्डोलको प्रगति स्कुलमा कक्षा ७ मा पढ्छिन् । ‘स्कुल जान मन छ । तर कसरी जाने ? यहाँबाट टाढा पर्छ । नयाँ कक्षामा जानुपर्ने । थापाथलीबाट उठाएर यहाँ ल्याएको छ,’ उनले भनिन्, ‘बुबाले भारी बोकेर पढाउने हो । अर्को ठाउँमा जान पैसा छैन । अब पढाइ के गर्ने थाहा छैन ।’

अधिकांश बालबालिकालाई बुबाआमाले मजदुरी गरेर पढाइरहेका छन् । ‘हामीहरू सबैका बुबाआमाले गर्ने काम उस्तैउस्तै हो क्या,’ तबिताले भनिन् ।

विश्व निकेतन स्कुलमा कक्षा ३ मा पढ्ने रिदिमा श्रेष्ठलाई यही स्कुलमा पढ्न मन छ । ‘साथीहरू छन् । त्यही स्कुलमा पढ्न मन छ । तर के हुन्छ थाहा छैन,’ उनले भनिन् ।

यतिबेला उनीहरूको हातमा किताब–कापी हुनुपर्ने हो, तर मात्र अन्योल छ । पढ्न पाउने हो कि होइन भन्ने जिज्ञासा छ ।

फरक–फरक ठाउँबाट पुगेका उनीहरूको अहिले एउटै हलभित्र पनि फरक–फरक घर छ । धेरैजसो बालबालिका त्यहीं पुगेर साथी बनेका छन् । कति सुकुमवासी बस्तीमै बनेका साथीहरू हुन् ।

सरकारले १५ दिनभित्र अर्को व्यवस्था गर्ने कुरा उनीहरूसम्म पुगेको छ । त्यसपछि वर्षौंदेखिका साथी छुट्ने चिन्ता पनि उनीहरूमा छ । ‘यहाँभन्दा थापाथलीमा राम्रो थियो । घर भत्कियो । १५ दिनपछि छुट्टिनु पर्छ । त्यसपछि त साथीहरूसँग भेट हुँदैन होला,’ रिदिमाले भनिन् ।

त्यही हलको अर्को ओछ्यानमा आयुसा खातुन पल्टिरहेकी छिन् । गैरीगाउँको स्कुलमा पढिरहेकी उनको पनि कक्षा छुट्यो । ‘अब पढ्ने कि नपढ्ने थाहा छैन । घरै भत्कियो । कहाँ बसेर पढ्ने ?,’ उनले प्रश्न गरिन् ।

लहरै नम्बर दिएर प्रत्येक घरको ओछ्यान बनाइएको छ । अर्कोपट्टिको ओछ्यानमा विद्यालय जाने उमेर समूहका केटाहरू लहरै छन् ।

कक्षा ६ मा पढ्छन् सूर्य महतो र तितिस माझी । भर्ना अभियान सुरु भए पनि विद्यालय टाढा भएकाले उनीहरू विद्यालय जान नपाएको गुनासो गरे । ‘पढ्न मन छ नि । मन भएर मात्र हुन्छ र ? स्कुलसम्म केमा जाने ? कसरी आउने ? कहाँ बस्ने ठेगान छैन । के खाने थाहा छैन,’ उनीहरूले सामूहिक रूपमा प्रश्न र गुनासो राखे ।

निरज थापाकी छोरी विश्व निकेतनमै कक्षा १ र भाञ्जी कक्षा ४ मा पढ्छिन् । तर थापाथलीबाट बस्ती उठाएपछि उनीहरूको पढाइ छुटेको छ । ‘छोरा–छोरीको पढाइ छुट्ने भयो । हामी त चिसो भुइँमै भए पनि जसोतसो बसौंला । १८ महिनाको छोरो छ । बच्चा बिरामी पर्ने भए,’ उनले समस्या सुनाए ।

शनिबार थापाथलीमा डोजर चलेपछि उनी परिवार च्यापेर आश्रममा आएका हुन् । उनी बाहिर काममा निस्कन पनि पाएका छैनन् । ‘घर हुनेहरू घरमा गए । कोठा हुनेहरू कोठमा गए । हामी केही नहुने शनिबार नै यहाँ आएका हौँ । पानी पर्दा बच्चा कसरी जोगाउने ? रातभर सुत्न पनि पाएको छैन,’ उनले भने, ‘छोराछोरीको भविष्य पनि अन्धकार हुने भयो । स्कुल जान पाएको छैन ।’

संविधानमा अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षाको हक हुने भनिएको छ । सुकुमवासी बस्तीका विपन्न र गरिब परिवारका बालबालिकाको शिक्षा पाउने संवैधानिक हक भने सुनिश्चित हुन सकेको छैन ।

०००

ग्रिवाणिका थापाको कक्षा १२ को परीक्षा चलिरहेको छ । सोमबारबाट उनको परीक्षा सुरु भयो । तर उनीसँग परीक्षाको तयारी गर्न पुस्तक छैन । ‘परीक्षा दिइरहेको छु । किताब डोजरले पुर्‍यो । रातभर नसुती परीक्षा दिएर आएको छु,’ उनले भनिन् । डोजर चलेपछि किताब खोज्न उनी थापाथली पुगेकी थिइन् ।

‘किताब फेला परेन । पुरिएको होला । परीक्षाको समयमा सरकारले पढ्न पनि दिएन । पढ्न पाउने अधिकार कानुनमा भएर के काम ? अधिकार गरिबको लागि होइन रहेछ,’ सरकारलाई उनको प्रश्न छ, ‘के हामीले पढ्न नपाउने हो ?’

चुनावअघि प्रधानमन्त्री बालेन शाहले गरेको भाषण पनि उनीहरूले सम्झिए । ‘एक रुपैयाँ पनि नभएकाले पढाउने हाम्रो योजना हो भनेर भाषण गरेको सुनेको थिएँ । आज परीक्षा छ । पढ्न किताब छैन । पैसा छैन । खोई त हाम्रो अधिकार ?,’ उनले सोधिन् ।

राष्ट्रिय परीक्षा बोर्डले सुकुमवासी बस्तीका विद्यार्थीलाई परीक्षा दिन आवश्यक सहजीकरण गर्न भनेर सूचना जारी गरेको छ । तर त्यो सूचनाले परीक्षा दिइरहेकी ग्रिवाणिकालाई छोएको छैन ।

बालबालिकासम्बन्धी ऐन २०७५ ले बालबालिकाले शिक्षा, खेलकुद, पोषण, स्वास्थ्यको अधिकार प्रत्याभूत गरेको छ । तर यो ऐन सुकुमबासी बस्तीका बालबालिकाको लागि लागु भएको देखिँदैन । कुनै पनि बालबालिका विद्यालय बाहिर नराख्ने नीति सरकारको छ ।

१५ वैशाख (आज) देखि शैक्षिक सत्र र भर्ना अभियान सुरु भएको छ । तर बलबालिकालाई कहाँ भर्ना गर्ने भन्ने अन्योलमा आश्रममा बसेका अभिभावक छन् । बालबालिकालाई अब कहाँ पढाउने भन्ने प्रश्नमा निरजले भने, ‘आखिर गरिब नै मारमा पर्ने रहेछन् । सरकारलाई सोध्नुहोस् ।’

सरकारले सुकुमवासी बस्तीका विद्यार्थीलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न भनेको छ । बस्ती स्थान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी पनि भएको छ ।

स्रोत : नेपाल प्रहरी

तर सोमबार आश्रममा पुग्दा विद्यालय जाने उमेर समूहका ४८ जना बालबालिकालाई सरकारको सर्कुलरले काम गरेको थिएन ।

प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौं उपत्यकाको थापाथली, मनोहरा, शान्तिनगर, गैरीगाउँ लगायत क्षेत्रको सुकुमवासी बस्तीमा करिब ३ हजार बालबालिका छन् । अधिकांश विद्यार्थी नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?