News Summary
Generated by OK AI. Editorially reviewed.- थापाथलीस्थित सुकुमवासी बस्ती शनिबार सुरक्षाकर्मीको उपस्थितिमा डोजरले भत्काइयो र बस्तीबासीले आफ्नो सामान निकाल्न बाध्य भए।
- सरकारले बस्ती भत्काउने सूचना पर्याप्त नदिँदा बस्तीबासीहरूमा अन्योल र चिन्ता देखियो, जसले व्यवस्थापनमा समस्या देखायो।
- डोजरले पानी पाइप फुटाउँदा सामान भिजे र बस्तीबासीहरू रोइरहेका थिए, प्रहरीले माइकिङ गर्दै सामान सुरक्षित रहेको जानकारी दिए।
१२ वैशाख,काठमाडौं । शनिबार झिसमिसेमै सुरक्षाकर्मीको बाक्लो भिड थियो । थापाथलीस्थित सुकुमवासी बस्तीलाई सुरक्षाक्रर्मीहरूले घेरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेलाबेला घुम्ने नेपाली सेनाको गाडीले बस्तीलाई सतर्क गराएको देखिन्थ्यो ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितीबीच सुकुमवासीहरू आफ्नो सामान निकाल्ने ध्याउन्नमै थिए । उनीहरूलाई आफ्ना छाप्रोका जस्तापातादेखि दु:खजिलो गरेर जोडेका केही जेथा जोगाउनु ठूलो कुरा थियो ।
त्यसैले सामानहरू घरबाहिर निकालिरहेका थिए ।
यसअघि यसरी बस्ती हटाउन खोज्दा पटकपटक झडपको स्थिति भएपनि बनेपनि शनिबार त्यस्तो भएन । मानिसहरूमा आक्रोशभन्दा पनि करुणा धेरै देखियो । सरकारी शक्तिसामू निरीह बनेर उनीहरू खुरुखुरु आदेश मानिरहेका थिए ।
हतियारधारी सरकारका सुरक्षा संयन्त्रसँग भिड्ने ताकत थियो, न सामाजिक सञ्जालमा अपमानजनक ढंगबाट गरिएका प्रश्नहरूसँग लड्ने साहस ।

सुकुमवासीहरूले प्रहरीको सहयोगलाई ‘सहयोग’ भन्दा पनि ‘निकाल्ने हतारो’को रुपमा लिइरहेको बुझ्न सकिन्थ्यो । ‘के को सहयोग हुन्छ ? हामी केही नभएकालाई कतिबेला निकाल्ने भन्ने हतारो छ अनि सहयोग गर्दैनन् ? यति ख्याल राख्ने भए यसरी आतंकित शैलीमा हतारहतार निकाल्थ्यो ?,’ बस्तीकै शैलेन्द्र पासवानले बताए ।
यसरी बस्तीबासीले रुँदै आफ्नो लामो समय बसेको थातथालो छाड्दै गर्दा बिहान करिब साढे आठ बजे स्काभेटर बस्तीभित्र प्रवेश गर्यो ।
त्यसअघिसम्म सडकबाटै भेटिने संरचना भत्काइरहेको प्रशासनले अब बस्तीभित्रै पसेर संरचना खाली गर्न सुरु गर्यो । प्रहरीले नै सामानहरू सार्न सघाइरहेका दृश्य पनि त्यसबेला देखिए ।

शंखमूल र प्रसुति गृह गरी दुईतिरबाट डोजर चलिरहँदा सुकुमवासीहरू भने भत्कँदै गरेको आफ्नो छाप्रो हेर्दै सामान रुँगिरहेको र रोइरहेको दृश्य एकदमै टिढलाग्दो थियो । करिब नौ बजेतिर देखापरिन्, ४ महिने बाबु कोक्रोमा झुलाउँदै टोलाइरहेकी सुकुमवासी बस्तीकी अन्जली पसवान ।
उनका अनुसार, उनीहरूको परिवार यहाँ आएको २० वर्ष भयो । २० वर्षका स्मृतिमाथि खुलेआम सरकारी डोजर चल्दै गर्दा उनका सामुन्नेमा चारमहिने बच्चा थियो । बच्चा कोक्रोमा हल्लाउँदै भत्किरहेको छाप्रो हेर्नु कम चुनौतिपूर्ण थिएन । त्यसमाथि ‘सरकारले कहाँ लग्ने भनेको हो’ थाहा नपाउँदा झन अत्यासपूर्ण सुनिइन्, उनी ।
‘अस्तिमात्र सूचना दिएर अचानक बस्ती भत्काउन आयो । अब कहाँ लान्छ केही थाहा छैन । व्यवस्था गर्छौं त भनेको छ, तर कहाँ लग्छ थाहाछैन,’ अन्जली अन्यौलग्रस्त थिइन् ।

यसले सरकार र सुकुमवासीबीच पर्याप्त छलफल नभएको पनि देखिन्छ । सरकारले आफ्नो ढंगले व्यवस्थापनको उपाय गरेपनि बस्तीबासी यसबारे पर्याप्त जानकार नहुँदा झन् तनावमा थिए ।
करिब ९ बज्न लागेको थियो, बस्ती भत्काइरहेको डोजरले पानी पाइप फुटायो । पानीको फोहोरा छुट्यो । बस्तीभित्र एकाएक पानीको भल बग्यो । जोगाउन भनेर निकालेको सामान पनि भिज्यो । यसले उनीहरू थप चिन्तित देखिन्थे । आक्रोशित भएपनि प्रकट गर्न सकिरहेका थिएनन् ।
आफ्नो आक्रोशलाई पनि आँसुसँगै बगाइदिए । कतिपय वृद्धवृद्धा वर्षौँको यादहरू मेटिँदा दु:खी देखिए । यही समयमा थपियो, अर्को स्काभेटर । यसरी पटकपकट गरेर स्काभेटरको संख्या बढाउँदै सरकारले बस्ती भत्काइरह्यो । डोजरको अघिअघि प्रहरीको माइकिङ चल्दै थियो, ‘तपाईंको सामान सुरक्षित छ, आफू छेउ लागेर बसिदिनुहोला ।’

तर, प्रहरीको माइकिङ चलिरहँदा प्रकाश मगरले अनलाइनखबरसँग भन्दै थिए, ,‘सरकारले यसरी टहरा भत्काइरहेको छ । तर, हामीलाई कहाँ लग्छ, अझै थाहा छैन ।’ आत्तिदै बोलेका प्रकाश के गर्ने/नगर्ने भन्नेमा अन्योलग्रस्त देखिन्थे । टिठलाग्दो हाँसो हाँस्दै ‘सरकारको तागतसामू आफू निरीह रहेको’ बताइरहेका थिए ।
करिब १० बज्न लाग्दा लगभग ६० प्रतिशत संरचना भत्काइसकिएको जानकारी नगर प्रहरी बल प्रमुख विष्णु जोशीले जानकारी दिए । उनका अनुसार, त्यसबेलासम्म पनि सरकारको आश्रय चाहिन्छ भनेर आउने सुकुमवासी एकजना पनि थिएनन् । दशरथ रंगशालामा गएका आमा र बच्चा पनि आफन्त बोलाएर जाने सुरमा रहेको उनले बताएका थिए ।

यसरी राज्यपक्षले कोही आएका छैनन् भनिरहँदा ‘आफ्नो साहारा खोज्दै’ रोइरहेका पाकचा तरिम कसाई भेटिए । आफ्नो परिचय पनि राम्रोसँग दिन नजानेका उनले सबैलाई नागरिकता देखाएरै पहिचान बताइरहेका थिए । अनलाइनखबरसँगको कुराकानीमा उनले (रुँदै) भने, ‘मेरो खुट्टाले काम गर्दैन, अब जाने ठाउँ पनि कतै छैन । मेरो परिवार यहाँ २० वर्षदेखि बस्दै आएको छ । सरकारले लगे राम्रो हुन्थ्यो ।’
सरकारको व्यवस्थापन योजनाबारे पर्याप्त जानकार नरहेका उनले भनिरहेका थिए, ‘एक्लै के गर्ने ? कोसँग झगडा गर्ने ?’
सरकारकै सूचना अभावले आफूले जसोतसो कोठा खोजेको बताउने अर्की पात्र थिइन्, कान्छीमाया प्रजा । ५५ वर्षीया उनी ५ जनाको परिवारसहित बस्तीमा बसिरहेकी थिइन् । तर, सरकारले डोजर लगाएर बस्ती हटाएपछि अब कोठा खोजिएको ठाँउमा सार्ने तर्खर गर्दै देखिन्थिन् ।

घरका सबै सामान सडकमा निकालेर टोलाइरहेकी कान्छीमायाका अनुसार, उनले कुपन्डोलमा कोठा खोजिसकेकी थिइन् । अब पाँच जनाको परिवार उतै बस्ने योजनामा छन् ।
‘सरकारले के गर्छु, कसो गर्छु पनि भनेन । त्यसैले बिचल्ली होला भनेर कोठा खोज्यौँ,’ सरकारले राम्रोसँग संवाद नगर्दा अन्यौल भएको बताउँदै उनले भनिन्, ‘यदि यहाँ लग्छु, राख्छु भनेर राम्रोसँग हामीलाई आएर भनेको भए किन कोठा खोज्थेँ र ?’
धादिङमा पुर्खौली सम्पत्ति बाढीले बगाएपछि २० वर्षअघि थापाथली सुकुमवासी आएकी कान्छीमाया अरु घरको ज्यालादारी काम गरेर कमाई गर्छिन् ।
‘अब कसरी भाडा तिर्ने, परिवार धान्ने थाहा छैन । अब त झन काम गर्नुपर्छ,’ उनले अनलाइनखबरसँग भनिन् ।

यसरी सरकारले बस्ती भत्काइरहँदा कतिपय रोइरहेका, कतिपय निरीह बनेर सामान पन्छाइरहेका त कतिपय बाहिर खुल्ला आकाशमुनि खाना पकाइरहेका दृश्य थापाथलीमा देखियो । त्यहाँ अधिकांशसँग कुरा गर्दा उनीहरूलाई सरकारले गर्ने व्यवस्थापनबारे पर्याप्त सूचना नपाएको गुनासो थियो । कोही चाहिँ सधैँ यसरी हेपिएर बस्नुभन्दा कोठा खोजेर स्वाभिमानसँग बाँच्नु उचित ठानिरहेका थिए ।
‘हामीले कसरी जुँध्ने ? यत्रा पुलिस, अनि डोजरसँग हाम्रो को के तागत ? अब बरु दु:ख गरिन्छ, दु:खसुख बाँचिन्छ । सरकारले नै अपमानजनक तरिकाले लखेट्छ, अनि समाजले तुच्छ ठानेर गाली गर्छ भने के व्यवस्थापन भन्ने त्यसलाई ?,’ स्थानीय जंगबहादुर मगरले बताए ।
सरकारले थापाथलीमा शान्तिपूर्ण तरिकाले बस्ती भत्काएको दाबी गरेसँगै त्यहाँका डोजर गौरीगाउँमा सुकुमवासी बस्तीतर्फ सोझिए । त्यस्तै, मनोहरामा रहेको सुकुमवासी बस्तीमा पनि टहरा भत्काउन डोजर चलिरहेका छन् ।


तस्वीरहरू : कमल प्रसाईं/विकास श्रेष्ठ/चन्द्रबहादुर आले/आर्यन धिमाल
प्रतिक्रिया 4