
२१ माघ, काठमाडौं । साना तथा मझौला कम्पनीहरू (एसएमईज) लाई सेयर बजारबाट पूँजी जुटाउन छुट्टै बाटो खोलिएको छ ।
हालसम्म साना, मझौला तथा ठूला सबै कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने, दोस्रो बजारमा सूचीकृत भई सूचक गणनामा धेरथोर प्रभाव पार्दै आएका थिए ।
अब बजार आउने २५ करोडभन्दा कम चुक्ता पूँजीका कम्पनीलाई ‘एसएमईज प्लेटफर्म’ अन्तर्गत कारोबार गराउने तयारी भइरहेको छ । तर, यसअघि नै बजारमा सूचीकृत भइसकेका २५ करोड मुनिका कम्पनीका हकमा भने हालको जसरी नै कारोबार हुनेछ ।
एसएमईज प्लेटफर्ममा रहने कम्पनीले नेप्सेसहित सूचकलाई कुनै प्रभाव पार्ने छैन । धितोपत्र बोर्डले हालै साना तथा मझौला संगठित संस्था (एसएमई) को धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागु गरेको छ ।
नियमावली लागु भए पनि विनियमावली तयार भइसकेको छैन । बोर्डले विनियमावली र कारोबार संयन्त्र तयार गर्न नेप्सेलाई भनेको छ ।
सोही अनुसार विनियमावली र कारोबार संयन्त्र नेप्सेले तयार गर्दैछ । ‘नेप्से बोर्ड बैठकले विनियमावली र कारोबार संयन्त्र तयार गर्नेबारे निर्णय गर्छ र त्यसपछि काम अघि बढ्छ,’ नेप्से प्रवक्ता मुराहरि पराजुलीले भने ।
नेप्सेले तयार गरेको विनियमावली बोर्डले स्वीकृत गरेपछि लागु हुन्छ । विनियमालीले कारोबार प्रक्रियाबारे थप स्पष्ट पार्ने र सोही अनुसार संयन्त्र विकास हुने पराजुलीले बताए । नियमावलीमा भएका मुख्य विषयलाई नै विनियमावलीले मार्गप्रशस्त गर्छ ।
तर, बजारमा त्यस्ता कम्पनीको कारोबार हुने न्यूनतम सेयर संख्या तथा मूल्य घटबढ सीमा दर कति हुने भन्ने विषयलाई नेप्सेले प्रष्ट पार्ने छ ।
प्राथमिक बजारमा यस्ता कम्पनीको आईपीओ भर्दा न्यूनतम ५ सय कित्ता र बाँडफाँटमा पनि न्यूनतम ५ सय कित्ता नै दिइने भएकाले दोस्रो बजारमा पनि न्यूनतम कारोबार संख्या त्यतिलाई नै कायम गर्ने तयारी नेप्सेको छ ।
हाल अंकित मूल्य १ सयका अरू कम्पनीको सेयर प्राथमिक बजारमा न्यूनतम १० कित्ता भर्नुपर्ने व्यवस्था छ भने दोस्रो बजारमा पनि न्यूनतम १० कित्ता नै कारोबार हुने गरेको छ ।
तर, ऋणपत्रका हकमा भने प्राथमिक बजारमा न्यूनतम २५ कित्ता भर्नुपर्ने व्यवस्था रहे पनि दोस्रो बजारमा भने त्योभन्दा कम संख्यामा पनि कारोबार हुने गरेको छ ।
त्यस्तै कारोबार क्रममा मूल्य परिवर्तन सीमा पनि विनियमावलीले तय गर्ने छ । हाल बजारमा सूचीकृत कम्पनीका हकमा एकपछि अर्को कारोबार क्रममा २ प्रतिशतभन्दा बढी मूल्यान्तर हुन पाउँदैन । अघिल्लो दिनको तुलनामा १० प्रतिशतभन्दा बढी मूल्य दिनभरिमा बढ्न र घट्न नपाउने व्यवस्था छ ।
साना तथा मझौला कम्पनीका हकमा पनि यही सीमा कायम हुन सक्ने नेप्सेका अधिकारीहरू बताउँछन् । तर, यसलाई नीतिगत रूपमा समेट्नुपर्ने हुन्छ ।
हाल जसरी डिबेन्चर तथा म्युचुअल फन्ड कारोबार हुन्छ, त्यसैगरी एसएमईज कम्पनीको कारोबार गराउने र न्यूनतम ५ सयभन्दा कम कित्ता अर्डर पोस्ट गर्न नमिल्ने गरी टीएमएस प्रणालीमा औजार थप हुन सक्ने छ ।
अबका सबै साना कम्पनी ‘एसएमईज प्लेटफर्म’ मा
अब नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिने २५ करोडभन्दा कम चुक्ता पूँजी भएका सबै कम्पनीलाई एसएमईज प्लेटफर्ममै कारोबार गराउने गरी बोर्डले स्वीकृति दिने भएको छ ।
‘अब आईपीओका लागि स्वीकृति लिने २५ करोड मुनिका सबै कम्पनी एसएमईज प्लेटफर्म अन्तर्गत नै रहेर कारोबार हुने गरी स्वीकृति पाउने हुन्,’ बोर्ड प्रवक्ता निरञ्जय घिमिरेले भने ।
आईपीओ पाइपलाइनमा रहेका कम्पनीका हकमा के गर्ने भन्ने सम्बन्धमा बोर्डले निर्णय गरिसकेको छैन । पाइपलाइनमा रहेका केही कम्पनी पनि २५ करोडभन्दा कम चुक्ता पूँजीका छन् ।
कम्पनी ऐन २०६३ ले १ करोडभन्दा माथि चुक्ता पूँजी भएका कम्पनी पब्लिकमा जान सक्ने व्यवस्था गरे अनुसार (नियामकीय व्यवस्था बाहेक) त्यस्ता कम्पनीले आईपीओ निष्कासन गर्न सक्छन् ।
२५ करोडभन्दा कम चुक्ता पूँजी भएका कम्पनीले चाहेर पनि हालको जसरी नियमित कम्पनीका रूपमा सूचीकृत हुन नसक्ने घिमिरेले प्रष्ट पारे ।
तर, हाल बजारमा सूचीकृत भइसकेका २५ करोड मुनिका कम्पनीका हकमा भने यसले प्रभाव पर्ने छैन । हाल बजारमा सूचीकृत भई कारोबार भइरहेका २५ करोडभन्दा कम चुक्ता पूँजीका कम्पनी नै सबैभन्दा मूल्यवान ठहरिएका छन् ।
सबैभन्दा महँगो युनिलिभरको चुक्ता पूँजी जम्मा ९ करोड २० लाख रुपैयाँ छ । जसको सेयर मूल्य प्रतिकित्ता ४६ हजार ९२० सय रुपैयाँ छ । त्यस्तै प्रतिकित्ता मूल्य १९ हजार ५५९ रुपैयाँ रहेको बोटलर्स नेपाल बालाजु, १३ हजार ७३९ रुपैयाँ रहेको बोटलर्स नेपाल तराईको पनि चुक्ता पूँजी २५ करोडभन्दा कम छ ।
हाइड्रोपावर सेक्टरको सबैभन्दा महँगो मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावर, सबैभन्दा महँगो माइक्रोफाइनान्स आत्मनिर्भर लघुवित्तको चुक्ता पूँजी २५ करोडभन्दा कम छ ।
त्यसकारण, थोरै चुक्ता पूँजी भए पनि कम्पनीहरू ठूलो पूँजीका भन्दा मूल्यवान, ठूलो व्यापार र आम्दानी गर्न सक्षम हुन्छन् । त्यसैले चुक्ता पूँजीका आधारमा मात्रै कम्पनी सानो/ठूलोका रुपमा व्याख्या हुँदैनन् ।
तर, धितोपत्र बोर्डले बनाएको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावलीले भने २५ करोडभन्दा कम चुक्ता पूँजीका सबै कम्पनीलाई साना तथा मझौलाका रूपमा व्याख्या गरेको छ ।
जोखिम लिनेलाई मात्रै आईपीओ
अब आउने साना तथा मझौला कम्पनीको न्यूनतम ५ सय कित्ता सेयर (आईपीओ) भर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । अंकित मूल्य १ सयमा आउने कम्पनीका लागि पनि आईपीओ भर्न कम्तीमा ५० हजार रुपैयाँ चाहिने छ ।
अझ प्रिमियम थप गरेर पनि कम्पनीहरूले आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था रहेकाले त्यस्तो अवस्थामा आईपीओ भर्न ५० हजार रुपैयाँले पनि पुग्दैन ।
बाँडफाँट क्रममा पनि न्यूनतम ५ सय कित्ता दिनुपर्ने व्यवस्था गरिएको छ ।
कम चुक्ता पूँजी भएका कम्पनीमा जोखिम लिन सक्नेले मात्रै भर्नुपर्ने मान्यता अनुसार न्यूनतम सीमा ५ सय कित्ता राखिएको बोर्डका अधिकारीहरू बताउँछन् ।
‘नयाँ खुलेका एसएमईज कम्पनीमा तुलनात्मक रूपले जोखिम पनि बढी हुन्छ, तसर्थ यस्ता कम्पनीको सेयर लगानी सबैका लागि होइन, जसले जोखिम लिन सक्छ उनीहरूका लागि मात्रै हो,’ प्रवक्ता घिमिरेले भने ।
यस्ता कम्पनीको सेयर होल्ड गर्ने संस्थाले भने तीन वर्ष अवधि पूरा नभएसम्म बिक्री गर्न पाउँदैनन् । तर, पीईभीसी तथा भेन्चर क्यापिटलका हकमा एक वर्षको ‘लकइन’ अवधि राखिएको छ ।
प्रतिक्रिया 4