
२ फागुन, काठमाडौं । कांग्रेसको भावी नेतृत्व–दौडमा संस्थापन इतरका नेताहरु खुल्लमखुल्ला कुदिरहेछन् । संस्थापन नेताहरु चाहिँ भित्रभित्रै ।
पछिल्लो दुई सातायताको परिदृश्य हेरौं ।
शेरबहादुर देउवालाई अघिल्लो महाधिवेशनमा सभापति जिताउन लागिपरेका दोस्रो तहका नेताहरु माघ तेस्रो र चौथो साता कहिले एक्लाएक्लै, कहिले दुई–तीनजना मिलेर बुढानीलकण्ठ धाइरहे ।
कहिले कृष्णप्रसाद सिटौला एक्लै । कहिले शशांक कोइराला र प्रकाशमान सिंह । कहिले शशांक कोइराला र विमलेन्द्र निधि । अनि कहिले यिनै मध्येका एक–दुई नेता देउवालाई भेट्न गएको गयै गरे । तिनले देउवाको सके वचन, नसके आश्वासन खोजिरहे ।
तर देउवाको मुखबाट शब्दै झरेन ।
त्यसपछि उनीहरुले सल्लाह गरे– सबैजना एकैपल्ट गएर देउवालाई दबाबमूलक अनुरोध गर्ने ।
सिटौला, पूर्णबहादुर खड्का, निधि, शशांक, प्रकाशमान, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विजय गच्छदार, बालकृष्ण खाँड, एनपी साउद, उमाकान्त चौधरी – एकसाथ शुक्रबार देउवाकहाँ गए ।
आफूलाई सभापति जिताउने मूख्य ११ भाइसँग लामो समयपछि सँगै भेट्दा देउवाले महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाउने विचार गरेनन् । पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा, जो भावी नेतृत्वको महत्वपूर्ण पदमा एक आकांक्षी मानिन्छन्, उनलाई राखेनन् ।
थोरै बोल्छन् देउवा, त्यसलाई पनि संकेतमा बुझ्नुपर्ने हुन्छ । बरु हँसिमजाक र हल्काफुल्का शैलीमा व्यक्त हुन्छन् । शुक्रबार बिहान साढे नौ बजे आफ्नो निवासमा आएका यी ११ नेतासँग उनका तीन घन्टा यसरी नै बिते ।
बुढानीलकण्ठमा अरु नेताहरुले नै धेरै बोले । ठट्टामै एक नेताले सोधे, ‘हामीलाई अरुले तपाईं निकट भनेर भन्छन्, अहिलेसम्म पनि निकट नै छौंजस्तो लाग्छ, बरु तपाईंले पो निकट मान्नु भएको छ कि छैन भनेर बुझ्न पनि आएको ।’
देउवाले जिस्किँदै भने, ‘तपाईंहरु नै हो नि मेरो मान्छे । कल्ले भन्छ ‘मेरो साथीहरु होइन’ भनेर । तर तपाईंहरुलाई मात्रै भेटिरह्यो भने मलाई कहाँ सबैले सभापति मान्छन् यार !’
स्वभाविक हाँसोको फोहरा छुट्यो । कसैले प्रतिप्रश्न थपेन ।
देउवा आफैंले प्रष्टीकरण दिए, ‘मैले तपाईंहरुलाई बोलाउँ कि भनेर बीचमा सोचेको पनि थिएँ । तर सभापति नै गुटबन्दीमा लाग्यो भन्छन् भनेर रोकिएको मात्र हो । अब भेटौं न मिलाएर । पहिले क्रियाशील सदस्यताको कुरा पनि सकियोस् । अनि अलिक छिटो–छिटोगरी भेटौंला । सल्लाह त गर्दैजाँदा भइहाल्छ ।’
केही बेर अल्याङटल्याङ चल्यो । दोहोरो संवाद अघि नबढेपछि देउवा आफैंले सिटौलालाई सोधे, ‘ल कृष्णजी, तपाईंले नै उहाँहरुसँग सल्लाह गर्छु भनेर टाइम लिएको हो । के छ कुरा तपाईं नै राख्नुहोस् ।’
सिटौलाले सुरुमा लामो भूमिका बाँध्दै सोधे :
‘आदरणीय सभापतिजी, आज तपाईंकहाँ आउनुअघि पनि हामी केही नेताहरु आएका थियौं । पहिले अप्ठेरोसप्ठेरोमा पनि हामीले नै साथ दिएका हौं । चौधौं महाधिवेशनमा तपाईंलाई अन्तिम समयमा जिताउने हामी नै हौं । अब १५ औंमा केकसरी जाने भन्ने बेला पनि तपाइंसँगै हुन्छौं । शेखरजी (कोइराला), गगनजी दौडिराख्नुभएको छ अबको सभापति आफू भन्दै । अब यतापटि हाम्रो कुरा के हो ? तपाईंलाई फेरि सभापति लड्न विधानले दिँदैन । अर्को पालि हाम्रो समूहबाट कोही सभापति लड्दैन कि के हो ? अहिलेसम्म कतै चालचुल छैन त ?’
सिटौलापछि विजय गच्छदारले यसैगरी लामो प्रस्तुति राखे । उनले सरकारदेखि संविधान संशोधनको चर्चासमेत जोडेर बोले, तर आज त्यसले खासै महत्व पाएन ।
त्यसपछि गोपालमान श्रेष्ठले अघिल्लो महाधिवेशनमा देउवाले पछि हट्न भनेपछि आफू सभापति नउठ्ने निर्णय गरेको भन्दै अब मौका पाउनुपर्ने भनेका थिए ।
‘म अरु साथीजस्तो भूमिका बाँधेर बोल्न जान्दिनँ । यो समूहमा अहिले कसको पद के छ भन्नेमा नजाउँ, तपाईंपछिको सिनियर नेता यो समूहमा मै हुँ,’ श्रेष्ठले भने, ‘त्यसैले १५ औं महाधिवेशनमा संस्थापन समूहबाट सभापतिको उम्मेदवार मैले बन्न पाउनुपर्छ । म सबैलाई मिलाएर अघि बढ्छु । त्यसमा कसैको नाइँनास्ती हुनुभएन ।’
शुक्रबार देउवा निवास पुग्नेमा महत, खाण र साउद बाहेक बाँकी सबै सभापतिका आकांक्षी छन् । खड्का हाल उपसभापति रहेकाले १५ औं महाधिवेशनमा उनको स्वतः आकांक्षा छ ।
देउवासँगको भेटमा श्रेष्ठपछि क्रमशः प्रकाशशरण महत, एनपी साउद, विमलेन्द्र निधि र उमाकान्त चौधरी बोले । सबैको मजबुन सिटौलाकै जस्तो थियो, तर सबैलाई भनाईहरुलाई हल्का आफूतिर ढल्काएका थिए ।
राज्य अनि पार्टीसत्ताको राजनीतिक खेलमा माहिर देउवाले दुईवटा कारण देखाउँदै आफूपछिको नेता को हुन सक्छ भनेर चर्चा गर्न हतार हुने बताए । एक, क्रियाशील सदस्यताकै कुरा टुंगिएको छैन ।
दुई, आम चुनाव पनि आउँदै गरेकाले त्यसअघि महाधिवेशन गर्दा तिक्तता बढ्ने हो कि ?
उनले यो पनि थपे, ‘मैले अहिलेसम्म कसैलाई पनि यो हो मेरो सभापति उम्मेदवार भनेको छैन । कसैलाई पनि बोलाएर एक्लै वचन दिएको छुइनँ । छु त ?’
त्यसपछि उपसभापति पूर्णबहादुर खड्का भने ‘अर्को मिटिङमा जानुपर्ने छ’ भन्दै बीचैमा उठे ।
खड्का हिँडिसकेपछि बाँकी नेताले उनकै समेत आलोचना गर्न थाले– अस्तिको पोखरा प्रशिक्षण भेलामा पूर्वपदाधिकारी सहभागी नगराएको प्रसंग झिकेर ।
सहभागी एक नेताले सुनाए, ‘पहिले रामचन्द्र पौडेल नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख हुँदा हामी सबैलाई बोलाउनु हुन्थ्यो । पछि निधिजी प्रमुख भएका बेला पनि त्यो क्रम जारी राख्नुभयो । यसपल्टका विभाग प्रमुख पूर्णबहादुरजीलाई चाहिँ किन हाम्रो याद पनि आएन ?’
देउवाले बीचमै रोकेर जिस्काजिस्की थाले, ‘रामचन्द्रजीले धेरै राम्रो कार्यक्रम गर्नुभयो र मसँग लड्नुभयो । अनि हार्नुभयो । विमलजीले पनि अझ राम्रो कार्यक्रम गर्नुभयो र मसँग झन् बढी भोटले हार्नुभयो । त्यसैले धेरै राम्रो कार्यक्रम गर्दैमा सभापति जितिन्छ भन्ने नठान्नुस् तपाईंहरु ।’
फेरि एकलट चल्यो, कारुणिक हाँसो ।
त्यसपछि देउवाले बैठकमा जे सन्देश दिए, त्यसले भने बुढानीलकण्ठ पुग्ने प्रत्येक नेतालाई झस्कायो ।
त्यो विषय थियो कांग्रेसको आगामी १५ औं महाधिवेशनको सम्भावित तिथिबारे देउवाको भित्री मनसाय, जो आज शुक्रबार पहिलोपल्ट प्रष्टै पोखियो । उनी ०८४ को आम चुनावपछि महाधिवेशन धकेल्न चाहन्छन् भन्ने त लुकेको कुरा होइन, उनी त्यसलाई अझै लामो समय लम्ब्याउन चाहन्छन् भन्ने कुरा बैठकमा खुल्यो ।
सहभागी दुई नेताहरुले अनलाइनखबरसँग अलग–अलग सुनाए अनुसार देउवाले बैठकमा भने :
‘मलाई तेस्रोपल्ट सभापति बन्नु छैन । त्यो अवस्था कांग्रेसमा नीतिगत रुपमा पनि अरु कारणले पनि आउँदैन । मेरो कुरा त बुझिहाल्नुभयो । तर आम चुनावअघि महाधिवेशन गर्दा तिक्तता, गुटबन्दी, अन्तर्घातहरु हुन सक्छ भन्ने अनुमान त हामी सबैलाई छँदै छ नि । त्यसैले ०८६ सालतिर महाधिवेशन गरौं । यसो गर्दा चुनाव पनि जितिन्छ । महाधिवेशन पनि राम्रो हुन्छ ।’
आफ्नो तर्कलाई बलियो देखाउन देउवाले शशांकतिर तुरुप फाले, ‘अस्ति शशांकजीले पनि महाधिवेशन ०८६ तिर गर्दा फरक पर्दैन भन्दैहुनुहुन्थ्यो ।’

यतिन्जेल नबोली बसेका शशांक एकाएक बोल्न थाले, ‘कहाँ मैले ०८६ मा गर्ने भनेको हो र ? मैले त ०८३ मा महाधिवेशन गर्नुभन्दा बरु एक वर्ष अघि नै ०८२ मा गरौं, चुनावसम्म पुग्दा सबै अन्तर्घात मनोमालिन्य मिलिसक्छन् पो भनेको । यदि यसो गर्न नसके अलिक पछिसम्म महाधिवेशन लम्बिन सक्छ भनेको हो । अन्यथा अर्थ लगाउनुभएन सभापतिजी !’
देउवा आफ्नो चलाखीको प्रतिवाद तत्क्षण भएकामा मुसुमुसु मात्रै हाँसिरहे ।
निकट नेताहरुले देउवा कतै महामन्त्री गगन थापालाई सभापति उम्मेदवार बनाउन खोजिरहेका छन् कि भनेर संकेतमा बुझ्न खोजे । तर देउवाले त्यस्तो संकेत गरेनन् । उनले पत्नी राणा वा अरु पात्रबारे पनि कुनै संकेत दिएनन् ।
नेता विमलेन्द्र निधिले संघको चुनावपछि मात्रै प्रदेश र स्थानीय तहको चुनाव गर्न जोड गर्नुपर्ने प्रस्ताव राखे । विश्वका कतिपय मुलुकमा समेत यस्तो अभ्यास रहेको भन्दै उनले यहाँ पहिले स्थानीय चुनाव गर्न थाल्दा त्यसको परिणामले प्रतिनिधिसभा चुनावसम्मै मनोवैज्ञानिक प्रभाव पार्ने भएकाले संविधान संशोधन प्रस्ताव लैजानुपर्ने राखे ।
‘संविधान या केही कानुन संशोधन गरे पुग्छ, तर यसले समग्र प्रणाली र राजनीतिक कल्चरमै फरक पर्छ जस्तो लाग्छ,’ निधिले सुनाए, ‘मैले केही समययता निर्वाचन कानुन लगायत प्रणालीबारे जानकारहरुसँग जे परामर्श गर्दै आएको छु, त्यही निष्कर्षलाई आज पनि राखें ।’
निधिले पार्टीका नेताहरुले सभापति देउवासँग आन्तरिक विषयहरुबारे खुलस्त छलफल गरेको पनि सुनाए ।
पार्टी उपसभापति पूर्णबहादुर खड्काले चौधौं महाधिवेशनमा देउवालाई सभापति जिताएका नेताहरु मिलेर भेट्न गएको सुनाए ।
‘विगतमा संस्थापनमा रहेका नेताहरुले अहिले पनि त्यही भावनाका साथ अघि बढ्नु राम्रो हुन्छ भन्ने छलफल भयो, हामी एकै ठाउँ छौं भन्ने सन्देश पनि हो,’ खड्काले भने, ‘क्रियाशील सदस्यता लगायतका विषय बाँकी नै रहेकाले अहिले नै उम्मेदवारको सम्भावित आकलन गर्नु हतार हुन्छ । अहिले यो आन्तरिक एकताको भावना राखिराखौं भन्ने कुरा भयो । समग्र पार्टीलाई नै अब्बल बनाएर लैजाने काममा अघि बढौं भन्ने छलफल गरेका छौं ।’
देउवाले ०५९ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसभित्र विद्रोह गरेर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा बेलाका साथ दिने नेताहरु बुढानीलकण्ठमा भेट्न गएको, त्यसमध्ये पछिल्लो महाधिवेशनमा साथ दिएका नेताहरु समेत बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले जानकारी दिए ।
आगामी नेतृत्वको आकांक्षीबारे उठेका जिज्ञासाबारे सभापति देउवाले महाधिवेशन आउन धेरै समय रहेकाले हतार नगर्न सुझाव दिएको श्रेष्ठले बताए । ‘मलाई तपाईंहरूले सधैं सहयोग गर्नुभएको हो । मैले सहयोग नगर्ने प्रश्नै छैन भन्नुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने ।
सिटौलाले अघिल्लोपटक देउवा समूहसँग महाधिवेशनमा समीकरण बनाएका थिए । संस्थापनइतरमा सभापतिको उम्मेदवारका आकांक्षी धेरै भएपछि शशांक केन्द्रीय सदस्यमा उठेका थिए । उनी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा नखुलेपछि अप्रत्यक्ष रुपमा देउवालाई सहयोग पुगेको विश्लेषण हुँदै आएको छ ।
प्रतिक्रिया 4