
लेखक खगराज बराल आफ्नो नयाँ उपन्यास ‘प्रतिरूप’ लिएर पाठकमाझ आएका छन् । बढीजसो गैरआख्यानमा कलम चलाउने बरालको ‘प्रतिरुप’ दोस्रो उपन्यास हो । यसअघि उनले ‘स्यानी’ उपन्यास प्रकाशित गरेका थिए ।
लेखक बरालको उपन्यास ‘प्रतिरुप’ एघार भागमा विभाजन गरिएको छ । उपन्यास समाजका साना-मसिना घटना-परिघटनालाई जीवनसँग जोडेर बुनिएको छ । उपन्यास पढ्दै जाँदा पाठकलाई कौतुहल बनाइरहन्छ । अन्त्यसम्म नपुगी उपन्यासले दिन खोजेको सन्देश थाहा नै हुँदैन ।
उपन्यासको पाँच/छ भागसम्म कथाको ढिक्का-ढिक्का खोज्ने कतिपय पाठकलाई धैर्य गर्न कठिन हुनसक्छ । तर पढ्दै गएपछि पाठकले जब रस भेट्छ तब रोमाञ्चित हुन पुग्छ । उपन्यास नसकिए पनि हुन्थ्यो जस्तो लाग्छ ।
उपन्यासको कथावस्तु सामान्य घटनाबाट अगाडि बढ्छ । कथा अगाडि बढ्दा पनि घटनाहरू विशेष पाइँदैनन् । उपन्यास भित्र साना-साना घटना थुप्रै छन् । मान्छेको जीवनमा विशेष घटना त निकै कम हुन्छन् । यस्तै साना-साना घटनाले जीवनको प्रतिनिधित्व गरेका हुन्छन् ।
यो उपन्यास मान्छेको जीवनमा घटेका साना घटनाहरूको शृङ्खला नै हो । वास्तवमा मानव वा जीवात्माको सृष्टि यस्तै झिना-मसिना घटनाबाट भएको हो । गौँथलीले चुच्चोमा हिलो ल्याएर सुन्दर गुँड बनाउँछ । तोप चराले एक/एक वटा घाँसका त्यान्द्रा ओसारेर सुन्दर बासस्थान बनाउँछ । आखिर सुन्दरता त साना कुरामा नै त रहेछ नि !
साना-मसिना घटनालाई जीवनसँग जोड्दै सुन्दर कथा बुन्न उपन्यासकार पारंगत देखिएका छन् ‘प्रतिरुप’मार्फत । बस चढ्ने, फेरी लगाउने, भैंसी दुहुने, मन्दिर जाने, पसल जाने, खोला तर्ने, होटलमा खाना खाने, बसमा यात्रा गर्ने जस्ता सामान्य घटनालाई कथानक बनाएर उपन्यास अगाडि बढेको छ ।
घटना यत्तिकै आएका छैनन्, हरेकले भाव लिएर आएका छन्, सन्देश लिएर आएका छन् । कुनै घटना सुटुक्क आउँछ, झाङ्गिदै जान्छ र जीवनलाई भताभुङ्ग बनाउँछ भन्ने कुरा यस उपन्यासले पुष्टि गरेको छ ।
एक युवकले आफ्नी मनपर्ने युवतीलाई एउटा घुँडा टेकेर गुलाबको फूल दिँदै सुरु भएको कथा यस उपन्यासको कथावस्तु होइन । यहाँ त जनजीविका, सङ्घर्ष तथा तत्कालीन परिवेशमा भोग्नु परेका विवशताका लामा-लामा अध्याय छन् ।
उपन्यासमा स्थानीयताको पर्याप्त चर्चा छ । उदयपुरको लेखानी, रूपन्देहीको भैरहवा र मर्चवार, कास्कीको पोखरा, स्याङ्जाको नागडाँडा, पर्वतको तिलहार, कार्कीनेटादेखि भारतको असम तथा मेघालयसम्मको चर्चा उपन्यासमा पाइन्छ ।
उपन्यास ‘प्रतिरुप’को मुख्य पात्र नवीन हो । उदयपुरको लेखानी घर भएको नवीन पश्चिमाञ्चल क्याम्पस पोखराबाट ओभरसियरको पढाइ पूरा गरी मर्चवार इरिगेसन प्रोजेक्टमा जागिर खान भैरहवा जान्छ । भैरहवाको सडकमा भएको रिक्सा दुर्घटनामा उद्धार गर्दा नवीनको भेट कालीसँग हुन्छ ।
वास्तवमा कालीसँगको भेटभन्दा अगाडिका घटना उपन्यासका पूर्वाङ्ग जस्ता छन् । जसरी अनुष्ठानमा पूर्वाङ्गको महत्त्व छ, त्यसैगरी नवीनको कालीसँग भेट हुनुपूर्वका घटनाको पनि उपन्यासमा उत्तिकै महत्त्व देखिन्छ ।
नवीन कालीसँग कसरी पुग्यो भन्ने सम्बन्धमा पूर्वाङ्गका घटनाहरू भए पनि उसको पारिवारिक अवस्था, तराईमा परम्परादेखि चलिआएका गौना र सादी, हर्मोनल प्रेम, सडकमा हुने दुर्घटना र त्यसले जनजीवनमा पारेका प्रभाव, नागरिकताको सवाल, क्याम्पसमा हुने विद्यार्थी सङ्गठनको झगडा र त्यसले शैक्षिक कार्यकलापमा पार्ने प्रभाव पनि उपन्यासमा उल्लेख छन् ।
उपन्यासको खास विषयवस्तुको रोचकता नवीन-कालीबीचको भेटपछि मात्र सुरु हुन्छ । उनीहरुबीचको सम्बन्ध यति शिष्ट, शालिन किसिमले विकास हुन्छ कि, नवीन हर समय कालीलाई आमा समान देख्छ र आदर भाव प्रकट गर्छ । कालीले पनि नवीनलाई छोरा समान देख्छे र वात्सल्य भाव प्रकट गर्छे । यो परिवेश कसरी उत्पन्न भयो भन्ने कल्पनासम्म गरेको हुँदैन पाठकले ।
भैरहवा तराईको भूभाग भएकाले स्थानीय भाषासमेत समेटेर स्थानीय संस्कृति तथा संस्कार उतार्न लेखक सफल भएका छन् । तराईको विवाह प्रक्रियाको छनक पनि लेखकले परमानन्द नामको पात्र खडा गरेर दिएका छन् । सादी, तिलक, गवना जस्ता कुराहरूको बारेमा उल्लेख गरे पनि ठिक वा बेठिक छुट्याउने जिम्मा भने लेखकले पाठकलाई छोडिदिएका छन् ।
उपन्यासमा गाउँघरका विद्यालयको अवस्था र शिक्षकको भूमिका उल्लेख गर्दै विद्यालयमा नियमित पठनपाठन हुन नसक्नुका कारण र समस्या उजागर गरिएको छ । यतिमात्र होइन, उपन्यासले भारतको मेघालय पुगेर कोइलाखानीमा काम गर्ने नेपाली मजदुरको अवस्था पनि चित्रण गरेको छ ।
मेघालयका आदिवासी खासी समुदायको मातृसत्तात्मक पारिवारिक व्यवस्था, उनीहरूको जीवनपद्धति, संस्कार तथा प्रचलनको चर्चा उपन्यासमा पाइन्छ । कोइलाखानीको काम र खासी युवतीको मायामा नेपाली मजदूरहरू रुमलिएको जीवनचर्या प्रस्तुत गर्दै लेखकले खासी युवतीको प्रेममा नेपाली युवकले कसरी घर बिर्सिन्छ र उसको जीवनको यात्रा अन्यत्रै मोडिन्छ भन्ने विषयवस्तु रोचक ढंगले प्रस्तुत गरिएको छ ।
उपन्यासकार बरालले ‘प्रतिरूप’ उपन्यासमा माया र पिरतीका कुरा मात्र नभई पात्र कालीमार्फत समाजको अवस्था र नियति पस्किएका छन् । कालीको विवाहपश्चात् श्रीमान्को मृत्यु, त्यसपछि जवानीमै उनले भोग्नु परेका असजिला परिस्थिति र पुरुषबाट कालीमाथि गरेका थिचोमिचोलाई उपन्यासले उजागर गरेको छ ।
माइतमा बसेकी एक जवान विधवाको दशा कस्तो हुन्छ र कति ठाउँमा ठोक्किँदै जीवन अगाडि बढ्छ भन्ने कुरा उपन्यासमा कारुणिक ढंगले देखाइएको छ । महिलाको जीवनमा लोग्नेको साथ कति आवश्यक हुँदोरहेछ भन्ने कुराको चेतना पनि उपन्यासमार्फत जगाउने कोसिस गरिएको छ ।
नारीलाई अंश र वंशको हक हुनुपर्ने कुरा भाषणमा लागू भए पनि शासनमा कार्यान्वयन नभएको सन्दर्भ पनि देखाउन खोजिएको छ उपन्यासमा । साथै जन्म दिने बाबु जिम्मेवार नहुँदा अबोध बालबालिकाहरू कसरी तड्पिनुपर्ने अवस्था हाम्रो समाजमा विद्यमान छ भन्ने कुरा लेखकले उल्लेख गरेका छन् ।
उपन्यासको कथावस्तु सरल किसिमले अगाडि बढेको छ । पाठकले आफूलाई उपन्यासको मूल पात्र नवीनसँगै हिँडिरहेको पाउँछ । उपन्यासको कथा कहीँ-कतै नबुझिने र अमूर्त लाग्दैन ।
जम्मा २३८ पृष्ठको उपन्यास ‘प्रतिरुप’ मा तराई र पहाडको परिवेशलाई जीवन्त उतार्ने प्रयास गरिएको छ । सलल बग्ने भाषा र सरल वाक्य संरचना लेखक बरालका यसअघिका कृतिमा पनि भेटिन्छ । यो प्रवृत्ति यस उपन्यासमा पनि भेटिन्छ ।
भाषिक पक्षमा उपन्यास ज्यादै मनमोहक छ । उपन्यासलाई पढूँपढूँ बनाउने सरल वाक्य, सहज संवाद, आडम्बरमुक्त शब्द, भुईँमान्छेका भाषा शैली तथा स्थानीयताको लवजले नै हो ।
कृतिः ‘प्रतिरूप’
विधाः उपन्यास
लेखकः खगराज बराल
प्रकाशकः सांग्रिला बुक्स
संस्करणः पहिलो (२०८१)
पृष्ठः २३८
मूल्यः रु.४९५
प्रतिक्रिया 4