+
+
Shares

कस्तो हुनुपर्छ मन्टेसरी शिक्षा ?

पूजा खड्का पूजा खड्का
२०८१ माघ २८ गते १६:३०

छोराछोरीलाई कहाँ पढाउनुहुन्छ ? यो प्रश्नको उत्तरमा धेरै अभिभावक गर्वसाथ भन्ने गर्छन्, ‘मन्टेसरीमा।’ खासगरी शिशु शिक्षामा ‘मन्टेसरी’को नाममा छुटै आकर्षण छ । त्यसैले त यतिबेला जताततै कुनैपनि पूर्वप्राथमिक विद्यालयको अगाडि ‘मन्टेसरी’ भनी उल्लेख गरिएको हुन्छ ।

मन्टेसरीमा छोराछोरी पढाउनुलाई ठूलै उपलब्धि ठान्ने गरेका छन् अभिभावकले पनि । किनभने त्यो परम्परागत शिक्षाभन्दा उन्नत, वैज्ञानिक र व्यवहारिक हुन्छ । त्यस अनुरुप शुल्क पनि महंगो हुन्छ ।

तर, हामीले बालबच्चालाई जहाँ मन्टेसरी भनेर पढ्न पठाइरहेका छौं, त्यो वास्तवमै मन्टेसरी शिक्षा

प्रणाली अपनाइएको छ ?

अभिभावकले एकदमै मनन गर्नुपर्ने प्रश्न हो यो।

किनभने मन्टेसरी शिक्षा प्रणाली अन्तर्गत त्यस्ता संशाधन पर्याप्त हुन जरुरी छ, जहाँ बालबालिकाहरु उन्मुक्त खेल्न सक्छन् । उनीहरुले खेलेर, अनुभव गरेर आफूलाई उजागर गर्ने वातावरण हुनुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा त के भने मन्टेसरीका लागि बाल मनोविज्ञान बुझ्न सक्ने र सोही अनुरुप सहजीकरण गर्नसक्ने क्षमता भएको शिक्षक जरुरी हुन्छ ।

मन्टेसरीमा पुरातन ढर्राको पठनपाठन हुँदैन । त्यहाँ बालबालिकालाई जबरजस्ती कुनैपनि कुरा सिक्न बाध्य पारिँदैन । बरु बालबालिकाको रुची, इच्छा, क्षमता बुझेर सोही अनुरुप उनीहरुलाई उपयोगी कुराहरु सिक्नमा सहयोग गरिन्छ।

खासमा मन्टेसरी शिक्षा पद्धति कस्तो हुन्छ ? किन यो विश्वभर लोकप्रिय छ ? यी प्रश्न सँगसँगै मन्टेसरी शिक्षाको थालनी गर्ने मारिया मन्टेसरीको बारे जान्नु उपयुक्त हुन्छ।

कसरी सुरु भयो मन्टेसरी शिक्षा ?

मन्टेसरी शिक्षाको प्रवर्तक हुन्, मारिया मन्टेसरी । उनी इटालियन नागरिक थिइन् । मारिया मन्टेसरीले सन् १८९४ मा रोम विश्वविद्यालयबाट चिकित्साशास्त्रको पढाइ पूरा गरिन् । उनी मनोचिकित्सक र बाल विशेषज्ञ थिइन् ।

सुरुवाती दिनहरुमा मारियाले मानसिक रुपले विकलाङ्ग बच्चाको उपचार गरिन् । यस क्रममा के थाहा पाइन् भने यिनीहरुलाई उपचार होइन बरु उपयुक्त शिक्षा पद्धति आवश्यक छ । त्यसपछि उनको ध्यान चिकित्साभन्दा शिक्षामा बढी केन्द्रित भयो ।

सन् १९०० मा उनी अर्थोफ्रेनिक विद्यालयमा निर्देशक बनिन् । त्यहाँ उनलाई यस्तो शिक्षा पद्धति विकास गर्ने मौका दिइयो, जहाँ फरक क्षमताका बालबालिका पढ्न सकोस् । यसरी मारियाले बालबालिकाको मनोविज्ञान अनुरुप खेल एवं विभिन्न गतिविधिको माध्यामबाट नयाँ कुरा सिक्ने पद्धति विकास गरिन् ।

त्यस अघिसम्म पुरातन शैलीको शिक्षा व्याप्त थियो । सबै विद्यार्थीलाई एकै ठाउँमा राखेरे एकै किसिमले पठनपाठन गराइन्थ्यो । यसले गर्दा फरक क्षमताका बालबालिकाहरु ‘कमजोर’ कहलिन्थे । यदि सही शिक्षादीक्षा दिने हो भने उनीहरु छिटो र उत्कृट ढंगले सिक्न सक्छन् भन्ने कुरालाई मध्यनजर राखेर मारियाले नयाँ शिक्षा पद्धति विकास गरिन् ।

मन्टेसरीले खासगरी खेलको माध्यामबाट शिक्षा दिने पद्धतिको विकास गर्न चाहन्थिन् । उनलाई के थाहा थियो भने, बच्चाहरूमा खेल्ने प्रवृत्ति जन्मजात हुन्छ । त्यसैले उनीहरूले खेलको माध्यामबाट सहज रुपमा सिक्न सक्छन् ।

अन्ततः मारिया मन्टेसरीले त्यस्तै शिक्षा पद्धतीको विकास र अभ्यास गरिन्, जहाँ बालबालिकाहरु खेल्दै र रमाउँदै नयाँ कुरा सिक्न सक्छन् । यस नवीन पद्धती विश्वभर शिशु शिक्षाका लागि सर्वाधिक उपयुक्त विधि मानियो । पुरातन शिक्षाले ‘कमजोर’ भनेका बालबालिका पनि मन्टेसरी पद्धतीमा उत्कृष्ट ठहरिए।

कस्तो हुन्छ मन्टेसरी शिक्षा ?

मन्टेसरी शिक्षा पद्धतिमा बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर सोही अनुकुल शैक्षिक वातावरण तय गरिन्छ । यसमा शिक्षक–शिक्षिकाले सहजकर्ताको भूमिका खेल्नुपर्ने हुन्छ । हरेक बच्चा आफैँमा विशेष हुन्छन् भन्ने मान्यतालाई आत्मसात गर्दै मन्टेसरी शिक्षाले उपयुक्त वातावरणको व्यवस्था गरिदिन्छ ।

बच्चाहरु के सिक्न चाहन्छन्, कसरी सिक्न चाहन्छन्, कुन माध्याम अपनाउन चाहन्छन् ? यावत् कुरा बुझेर सोही अनुरुप शैक्षिक शंसाधन उपलब्ध गराइन्छ । यसरी उनीहरुले आफ्नो इन्द्रीयको प्रयोगबाट हेरेर, सुँघेर, सुनेर, चाखेर, छोएर, महसुस गरेर नयाँ कुरा सिक्छन् । यो पढ्ने र पढाउने भन्दा पनि सिक्ने र सिकाउने विधि हो।

यसलाई ‘लोकतान्त्रिक विधि’ पनि भन्ने गरिएको छ । किनभने मन्टेसरी शिक्षा पद्धतीमा बालबालिकाको रुचीलाई सर्वोपरी मानिन्छ । उनीहरुको इच्छा अनुरुप नै कुनैपनि कुरा सिकाउने गरिन्छ । यहाँ परम्परागत शिक्षामा जस्तो करकाप, होडबाजी हुँदैन । किताब, कापी बोक्न लगाइँदैन ।

उनीहरुको इच्छा अनुरुप क्रियाकलाप गर्न दिइन्छ र सोही क्रममा नयाँ–नयाँ कुरामा उत्सुकता जगाउने गरिन्छ । बालबालिकाले दबाबमा होइन बरु स्वच्छन्द ढंगले खेल वा मनोरञ्जनबाट धेरै कुरा सिक्न सक्छन्।

-खड्का गोरखा मोडेल सेकेन्डरी स्कुल, लमही–६, दाङमा कार्यरत शिक्षिका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?