+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

अमेरिकामा स्टिल आयातको ठूलो स्रोत क्यानाडा

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको संयुक्त राज्यको व्यापार घाटा गत वर्ष बढेर करिब नौ खर्ब २० अर्ब डलर पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १७:५१

२८ माघ, काठमाडौं । दोस्रो कार्यकाल थालनीबाटै आयातमा कर वृद्धिको नीति लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन् । यो उनले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृंखला हो ।

एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताए ।

सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाएका थिए । यसलाई उनले एसियाली र युरोपेली देशहरूबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेको बताएका थिए ।

अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिल र एलुमिनियम आयातको सबैभन्दा ठूलो स्रोत हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन् । क्यानाडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसकेका छन् ।

रिपब्लिकन अर्बपति ट्रम्पले अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बराबर गर्न ‘पारस्परिक भन्सार’ को घोषणा गर्ने पनि बताए । ‘हरेक देशसँग पारस्परिक व्यवहार हुनेछ,’ ट्रम्पले भने । उनले मङ्गलबार वा बुधबार भन्सारको बारेमा विस्तृत घोषणा गर्ने बताए ।

राष्ट्रपतिले पदभार सम्हालेलगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानाडामा भन्सार लगाउने आदेश दिएर ट्रम्पले संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाएका थिए ।

क्यानाडा र मेक्सिकोले फेन्टानिल लागूपदार्थको प्रवाह र कागजातविहीन आप्रवासीहरूको संयुक्त राज्य अमेरिकामा प्रवेशलाई रोक्न कडा कदम चाल्ने वाचा गरेपछि ट्रम्पले दुवै मुलुकविरुद्धको २५ प्रतिशत भन्सार एक महिनाका लागि रोकेका थिए ।

तर, चीनविरुद्धको भन्सार भने अघि बढ्यो । मंगलबारदेखि संयुक्त राज्यमा प्रवेश गर्ने उत्पादनहरूमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ । बेइजिङले सोमबारदेखि लागू हुने गरी कोइला र तरलीकृत प्राकृतिक ग्यास जस्ता केही अमेरिकी उत्पादनहरूमा लक्षित भन्सार लगाएर जवाफ दिएको छ ।

गोल्डम्यान स्याक्सका अनुसार नयाँ चिनियाँ भन्सारले १४ अर्ब डलर मूल्यका अमेरिकी सामानहरू समेट्छ भने ट्रम्पले घोषणा गरेको भन्सारले पाँच खर्ब २५ अर्ब डलर मूल्यका चिनियाँ सामानहरू समेट्छ ।

ट्रम्पले युरोपेली संघ (इयु) मा पनि कर लगाउने वाचा गरेका छन् । र, उनले चाँडै अनिर्दिष्ट ‘पारस्परिक भन्सार’ घोषणा गर्ने बताए ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले आइतबार प्रसारित एक अन्तर्वार्तामा युरोप प्रति गरिएको वित्तीय धम्कीको विषयमा ट्रम्पसँग सीधा मुकाबला गर्ने प्रतिज्ञा गरे । यद्यपि उनले संयुक्त राज्य अमेरिकाले युरोपेली संघको सट्टा चीनमाथि आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने बताए ।

म्याक्रोंले सिएनएनमा युरोपमाथिको कुनै पनि भन्सारको प्रभाव अमेरिकीहरूले महसुस गर्नेछन् भन्दै यसले ‘अमेरिकामा लागत बढाउने र मुद्रास्फीति सिर्जना गर्ने’ चेतावनी दिएका छन् ।

शुक्रबार जापानी प्रधानमन्त्री शिगेरु इशिबासँगको मैत्रीपूर्ण बैठकमा पनि ट्रम्पले जापानसँगको अमेरिकी व्यापार घाटा शून्यमा नझारेसम्म निर्यात गरिएका सामानमा भन्सार लाग्नसक्ने चेतावनी दिएका थिए ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको संयुक्त राज्यको व्यापार घाटा गत वर्ष बढेर करिब नौ खर्ब २० अर्ब डलर पुगेको छ ।

संयुक्त राज्य अमेरिकाका लागि ‘नयाँ स्वर्ण युग’ को वाचा गरेका ट्रम्पले कुनै पनि शुल्कको प्रभाव अमेरिकी उपभोक्ताहरूलाई नदिई विदेशी निर्यातकर्ताहरूले वहन गर्ने कुरामा जोड दिएका छन् । यद्यपि धेरै विज्ञहरूले यसको विपरीत बताएका छन् ।

तर, यस महिनाको सुरुमा मेक्सिको, क्यानाडा र चीनमाथि भन्सार घोषणा गरेपछि उनले अमेरिकीहरूले आर्थिक ‘पीडा’ महसुस गर्न सक्ने स्वीकार गरे ।

ट्रम्पले आफ्ना व्यापक नीतिगत लक्ष्यहरू हासिल गर्न भन्सारलाई धम्कीको रूपमा प्रयोग गरेका छन् । सबैभन्दा पछिल्लो पटक उनले कोलम्बियाले निर्वासित आप्रवासीहरू बोकेका अमेरिकी सैन्य विमानहरूलाई फर्काउँदा त्यसमाथि भन्सार लगाउने बताएका थिए । ट्रम्पसँगको एक दिनको टकरावपछि कोलम्बियाली सरकार पछि हटेको थियो ।
(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?