
सम्बन्धमा मिठास थप्नका लागि पार्टनरलाई उपहार स्वरूप चकलेट दिने चलन छ । चकलेटहरूमा पनि डार्क चकलेटले पार्टनरको अनुहारमा मुस्कान ल्याउनुको साथै यसमा पाइने विभिन्न रसायनले प्रेमको हर्मोन बढाउने र स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ । चकलेटलाई प्रेम र रोमान्ससँग जोड्नुका पछाडि धेरै कारणहरू छन् ।
डार्क चकलेटले वास्तवमै प्रेम हर्मोन बढाउँछ ?
डार्क चकलेटमा हुने केही रसायनले लभ हर्मोन अर्थात् अक्सिटोसिनको स्तर बढाउने पोषणविद् प्रवीण भट्टराई बताउँछन् । उनी भन्छन् ‘डार्क चकलेटमा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ, जसले हाइपोथ्यालेमसबाट अक्सिटोसिन हर्मोन निकाल्न मद्दत गर्छ।’
प्रवीणका अनुसार डार्क चकलेट खाँदा शरीरमा सेरोटोनिन र डोपामाइन नामक हर्मोन निस्कन्छ, जसले खुसीको अनुभूति दिन्छ । यति मात्र होइन, यसमा पाइने फेनिलेथाइलमाइन हर्मोनले प्रेम र आकर्षणको भावना बढाउने काम गर्छ । त्यसैले चकलेट खाँदा खुसी र रोमान्टिक महसुस हुने प्रवीणले बताए ।
‘डार्क चकलेटमा घुलनशील फाइबर, कोको र खनिजहरू पनि उच्च मात्रामा हुन्छ, ‘जसले शरीरलाई धेरै फाइदाहरू प्रदान गर्छ’ प्रविण भन्छन् ।
डार्क चकलेटमा हुने मुख्य रसायनहरू
डार्क चकलेटमा फेनेथाइलामाइन रसायन हुन्छ । यसले मस्तिष्कमा डोपामिनको स्तर बढाउन मद्दत गर्छ, जसले खुसीको अनुभूति दिन्छ । प्रेम वा आकर्षणका बेला स्वाभाविक रूपमा पनि शरीरमा यो हर्मोन उत्पादन हुने मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् ।
डार्क चकलेटमा ट्रिप्टोफान पनि हुन्छ । यो सेरोटोनिन उत्पादनका लागि आवश्यक अमिनो एसिड हो । सेरोटोनिन उच्च हुँदा मानिसको मुड राम्रो हुन्छ र सामाजिक सम्बन्धमा सकारात्मक प्रभाव पार्ने विनयले बताए ।
उनी भन्छन्, ‘डार्क चकलेटमा हुने फ्लाभोनोइड्सले तनाव घटाउन र मस्तिष्कको कार्यक्षमता बढाउन मद्दत गर्छ । यसले कोर्टिसोल (तनाव हर्मोन) कम गरेर अक्सिटोसिनको प्रभावलाई बलियो बनाउन सक्छ ।’
डार्क चकलेटमा हुने अर्को रसायन थियोब्रोमिन हो । यो न्युरोस्टिमुलन्ट हो, जसले अलिकति ऊर्जा र खुसीको अनुभूति दिन सक्ने विनय बताउँछन् ।
के डार्क चकलेटले अक्सिटोसिन प्रत्यक्ष रूपमा बढाउँछ ?
प्रत्यक्ष रूपमा होइन, तर डार्क चकलेटले अप्रत्यक्ष रूपमा अक्सिटोसिनको प्रभावलाई सशक्त बनाउँछ । जसले तनाव कम गर्न, डोपामिन र सेरोटोनिन बढाउन, र सामाजिक सम्बन्धलाई मजबुत पार्न मद्दत गर्ने डा. विनय बताउँछन् ।
‘यसको प्रभाव व्यक्तिगत स्वास्थ्य, आहार, र मानसिक अवस्थामाथि निर्भर हुने उनको भनाइ छ । डार्क चकलेट प्रेम हर्मोन (अक्सिटोसिन) प्रत्यक्ष रूपमा नबढाए पनि, यसमा भएका फेनेथाइलामाइन, ट्रिप्टोफान, र फ्लाभोनोइड्स जस्ता जैविक तत्त्वहरूले मुड सुधार्न, तनाव घटाउन र प्रेमको अनुभूति बढाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
अन्य फाइदा
डार्क चकलेटको सेवनले शरीरमा कर्टिसोलजस्ता तनाव उत्पन्न गराउने हर्मोनमा कमी आउँछ । यसले तनाव कम भएको अनि आनन्दको भावना बढाउने विनयले बताए ।
डार्क चकलेटमा पाइने फ्लेवोनोइड्सले मस्तिष्कको रक्त सञ्चारमा सुधार ल्याउँछ । जसले स्मृति, एकाग्रतालाई बढाउने काम त गर्छ नै समग्रमा मस्तिष्कको कार्यक्षमता पनि बढाउने उनी बताउँछन् ।
‘मुटुलाई स्वस्थ राख्नका लागि डार्क चकलेटको सेवन गर्नु फाइदाजनक हुन्छ’ विनय भन्छन्, ‘यसमा पाइने एन्टिअक्सिडेन्ट्स तथा फ्लेवेनल्स मुटुलाई स्वस्थ राख्न मदत गर्छ ।’
डार्क चकलेटमा को-को पाइन्छ जसले नाइट्रिक अक्साइडको उत्पादन बढाउन मद्दत गर्छ, रक्तनली फराकिलो बनाउन मद्दत गर्छ, जसले गर्दा रक्तचाप नियन्त्रणमा रहने विनय बताउँछन् ।
प्रतिक्रिया 4