+

१०० वर्ष कसरी बाँच्ने ?

२०८१ माघ  २९ गते २२:१९ २०८१ माघ २९ गते २२:१९
१०० वर्ष कसरी बाँच्ने ?

सन् १८७५ सालमा फ्रन्सको एउटा सानो शहर आर्लसमा ‘जान लुइस काल्मेन्ट’ नाम गरेकी बच्चीको जन्म हुन्छ । त्यो जमानामा गाडी तथा हवाइजहाजको आविष्कार भएको थिएन । मान्छेहरु घोडामा यात्रा गर्थे । उज्यालोका लागि मैनबत्तीको प्रयोग हुन्थ्यो । त्यो समय कसैले सपनामा पनि सोचेको थिएन कि-लुइसले धेरै वर्ष बाँच्ने महिलाको रुपमा इतिहास नै रच्नेछिन् भनेर।

१८८९ मा लुइस १४ वर्षकी थिइन्, जतिबेला पेरिसमा इफेल टावर बनेको थियो । १८९६ मा लुइसले विवाह गरिन्, त्यसबेला उनको उमेर २१ वर्ष थियो । त्यो बेला महात्मा गान्धी साउथ अफ्रिका गएका थिए। माहात्मा गान्धी लुइस भन्दा ६ वर्ष जेठा थिए।

१९१४ मा लुइस २९ वर्षकी भइन्। उनी आफ्नो दाम्पत्य जीवन खुसीसाथ बिताइरहेकी थिइन्। त्यही बेला पहिलो विश्व युद्ध सुरु हुन्छ। १९३४ मा जर्मनीमा हिटलरको उदय भयो। त्यहीबेला लुइसको उमेर ५९ वर्षको हुँदा उनको परिवारमा एउटा अप्रिय घटना घट्छ । फोक्सोको संक्रमणका कारण उनकी छोरीको मृत्यु हुन्छ।

५९ वर्ष यस्तो उमेर हो, जुन उमेरमा धेरै महिला हजुरआमा बनिसकेका हुन्छन् । तर, लुइस आफैँले पनि कहिल्यै सोचेकी थिइनन् होला–उनले अझै जीवनको आधा समय पनि बिताएकी थिइनन्।

१९४२ मा दोस्रो विश्व युद्ध चलिरहेको थियो । करोडौँ मान्छेले युद्धमा ज्यान गुमाइरहेका थिए । त्यसबेला लुइस ६४ वर्षकी थिइन् । यही बेला उनले आफ्नो श्रीमान् गुमाइन्।

१९४७ मा भारत ब्रिटिसबाट स्वतन्त्र भएको थियो लुइसको उमेर यो बेला ७२ वर्षको थियो र उनले जानी–नजानी इतिहासका धेरै महत्वपूर्ण घटना देखिरहेकी थिइन् । उनले घोडालाई गाडीले र मैनबत्तीलाई बिजुलीले प्रतिस्थापन गरेको देखिरहेकी थिइन् । सन् १९६९ मा लुइस आफ्नो ९४औँ जन्मदिन मनाइरहँदा मान्छेले चन्द्रमामा पाइला टेक्छन्।

१९८५ मा भारतमा राजीव गान्धीलाई ऐतिहासिक जित मिल्छ । भारतमा आइटीको युग सुरु हुन्छ । त्यसबेला लुइसको उमेर ११० वर्षको थियो । ११० वर्षसम्म उनले आफ्नो जीवन घरमा बताइन् । त्यसपछि भने उनी एउटा नर्सिङ होममा बस्न थालिन् । १९८८ मा बल्ल दुनियाँको दृष्टि लुइसमा पर्‍यो र देश–विदेशमा उनको चर्चा हुनथाल्यो । उनी सबैभन्दा धेरै वर्ष बाँच्ने मानव हुन् ।

१९९७ मा १२२ वर्षको उमेरमा जब लुइसको निधन हुन्छ । विश्वमा कम्प्युटर र इन्टरनेटको जमाना सुरु भइसकेको थियो । लुइसले लामो उमेर बाच्ने मान्छेको कीर्तिमान बनाइन् । यो कीर्तिमानलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

लुइस यति धेरै बाँच्नुको रहस्य के हो ?

यति धेरै बाच्ने त भाग्यकै कारणले होला भन्ने लाग्न सक्छ । यो पनि साँचो हो, तर १२२ वर्षसम्म बाँच्न कति योगदान भाग्यको र कति योगदान जीवनशैलीको भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

१८७० देखि १९०० सम्ममा डेनमार्कमा २ हजार ८०० जुम्ल्याहा बच्चामा एउटा वैज्ञानिक अध्ययन भएको थियो । जसमा धेरै वर्ष जिउनका लागि जिनको कति भूमिका हुन्छ र जीवनशैली तथा वातावरणको भूमिका कति हुन्छ भन्ने कुराको अध्ययन भएको थियो ।

यो अध्ययनलाई ‘डेनिस टुयिन्स स्टडी’ नामले चिनिन्छ । यो अध्ययनको निष्कर्ष अनुसार धेरै वर्ष जिउनका लागि एउटा सामान्य मान्छेको जिन्दगी २० प्रतिशत जिनबाट र ८० प्रतिशत जीवनशैली र वातवारणबाट प्रभावित हुन्छ।

स्वस्थ्य खानपान, स्वस्थ्य जीवनशैली र व्यायामजस्तो कुराले निर्धारण गर्छ कि तपाईँ कति वर्ष बाँच्नु हुन्छ भनेर ।

यो कस्तो जीवनशैली हो, जसले धेरै वर्ष बाँच्न सकिन्छ ?

धेरै वर्ष बाँच्नका लागि कस्तो जिवनशैली अपनाउनु पर्छ भन्ने कुरा थाहा पाउन धेरै वर्ष बाँचेकोहरुको जीवनशैली कस्तो थियो भन्ने कुराको अध्ययन गर्नुपर्छ । सन् २००० को प्रारम्भमा ड्यान बटनर न्यास्नल जियोग्राफीका लागि काम गरिरहेका थिए । मान्छे धेरै वर्ष कसरी बाँच्छ भन्ने कुरा थाहा पाउन दुनियाँको त्यस्तो ठाउँमा अध्ययन, अनुसन्धान गर्नुपर्छ जहाँका मान्छे लामो आयु जिउछन् ?

सन् २००३ मा बटनरले मानवशास्त्री, इतिहासकार, आहारविद् र आनुवंशिकविद्सँग मिलेर यो अध्ययन गरे । उनीहरुले जनसंख्याको आधारमा त्यो ठाउँहरु पत्ता लगाए, जहाँ १०० वर्ष भन्दामाथि बाँच्ने मान्छे बस्छन् उनीहरुलाई शताब्दी भन्दाबढी बाँचेका व्यक्ति भनिन्छ ।

यही समयमा यो विषयमा अन्य अध्ययन पनि भए जस्तो–‘जर्नल अफ एक्सपेरीमेन्टल जेरेन्टोलोजी’ जसमा भनिएको छ कि इटालीको सारडेनियामा १०० वर्ष भन्दामाथि बाँच्ने मान्छेहरु पाइन्छन् । यसरी यस्ता धेरै वृद्ध जनसंख्या हुने ठाउँलाई ‘ब्लु जोन’ भनेर उल्लेख गरियो ।

ड्यान बटनरले यस्तो धेरै वर्ष मान्छे बाँच्ने अर्को पनि ठाउँ पाउँछन् जापानको ओकिनावा । यस्तोमा उनीहरु त्यस्ता ठाउँमा जान्छन् र अध्ययन गर्छन् त्यहाँका मान्छेहरु यति धेरै वर्ष बाँच्नुको कारण के हो भनेर ।

पछि वैज्ञानिक र जनसांख्यिकीको टोली मिलेर विश्वमा ५ वटा यस्तो ब्लुजोन पत्ता लगाउँछन् । पहिलो इटालीको सारडेनिया, दोस्रो जापानको ओकिनावा, तेस्रो अमेरिका क्यालिफोर्नियाको लोमालिन्डा, चौथो ग्रिसको इकारिया र पाँचौ कोस्टारिकाको निकोया ।

यी पाँच ब्लु जोनमा बस्ने मान्छेहरु सामान्य मान्छे भन्दा धेरै वर्ष बाँच्ने गर्छन् ।

यी ठाउँहरुमा के छ, जसले गर्दा यहाँका मान्छे धेरै वर्ष बाच्छन् ? यो ठाउँको सफा पानी, सफा हावाका कारण वा त्यहाँ बस्ने व्यक्तिको जीवनशैलीका कारण यस्तो भएको हो ? यसको वास्तविक कारण पत्ता लगाउन ड्यान र उनको टिमले लामो अध्ययन गरेको थियो।

उनीहरुले अध्ययनको रिपोर्ट तयार पार्छन् । अध्ययनमा भनिएको छ त्यहाँका व्यक्तिहरु धेरै वर्ष बाँच्नुको कारण उनीहरुको जीवनशैली हो । अध्ययनका अनुसार उनीहरुको ९ वटा जीवनशैली बानी एकदमै मिल्दोजिल्दो थियो । यो ९ बानीलाई उनीहरु ‘पावर नाइन’ भन्छन्।

प्राकृतिक गतिशिलता

यी ९ स्थानमा बस्ने मान्छेहरु प्रकृतिक रुपमा गतिशील रहन्छन् । उनीहरु प्राय गाउँमा बस्छन् जहाँ गाडीको सरल पहुँच छैन । त्यसैले उनीहरु प्राय पैदल यात्रा गर्छन् । साथै उनीहरु आफ्नो खेतबारीमा काम गर्छन्, जसले गर्दा उनीहरु शारीरिक रुपमा सक्रिय रहन्छन् । तर अहिलेका मान्छेहरु गाडीमा मात्र यात्रा गर्छन्, बसेर काम गर्छन् प्राकृतिक गतिशीलता एकदमै कम हुन्छ।

अमेरिकन क्यान्सर सोसाइटीले १ लाख २५ हजार भन्दाबढी वृद्धवृद्धामा एउटा अध्ययन गरेको थियो । जसमा दैनिक ६ घण्टा बढी बस्ने मान्छेहरु पछिल्लो २१ वर्षमा उनीहरु मर्ने सम्भावना १९ प्रतिशत हुन्छ । क्यान्सर, कोरोनरी हार्ट डिजिज, स्र्टोक, मधुमेह, मिर्गौलाको समस्या, कलेजोको समस्या, पार्किन्सन्स, अल्जाइमर र स्नायु विकार लगायत १४ कारणले मृत्यु हुने समभवना बढ्छ, जति धेरै हामी बस्छौँ।

भर्खरै भएको एक अध्ययनअनुसार हरेक दिन ११ मिनेट हिँड्दा समयपूर्व हुने मृत्युको समभवना २५ प्रतिशतले कम हुन्छ।

ब्लुजोनका मान्छेहरु भने धेरै प्राकृतिक हिँडडुल गर्छन् । त्यसैले पनि उनीहरु धेरै वर्ष बाँच्छन् । दैनिक जीवनमा जति प्राकृतिक हिँडडुल गरिन्छ त्यति नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हिँडडुल गर्दा त खुट्टाको मांसपेशी बढी सक्रिय हुन्छ । तर, शरीरका हरेक अंग प्राकृतिक रुपमा सक्रिय हुनु जरुरी हुन्छ ।

ओकिनावाका मान्छेहरुको घरमा धेरै फर्निचर हुँदैन । डाइनिङ टेबलको प्रयोग गर्नु सट्टा उनीहरु भुइँमा बसेर खाना खान्छन् । यसो गर्दा दैनिक तीन÷चार पटक उठ्दा–बस्दा शरीर प्राकृतिक रुपमा सक्रिय हुन्छ। त्यसैले दैनिक जति सक्दो सक्रिय हुनुपर्छ । लामो समय बसेर काम गर्नुको साटो बेलाबेला उठ्ने हिँड्ने गर्नुपर्छ । गाडीको साटो साइकल तथा पैदल यात्रा गर्नु राम्रो हुन्छ ।

जीवन जिउनुको उद्देश्य

जापानको ओकिनावामा अवकास भन्ने हुँदैन । त्यहाँ एउटा जापनिज कन्सेप्ट छ ‘इकिगाइ’ जसको अर्थ जीवन जिउनुको के मतलब छ । त्यहाँका व्यक्तिहरु ९०, १०० वर्ष हुँदा पनि रिटायर्ड भएर बस्दैनन् बरु जिउनुको अन्य कारण खोज्छन् । अन्य ब्लुजोनमा पनि यस्तै लाइफ प्लान गरेको पाइयो । जीवनमा जिउनुको मतलब खोज्नाले ७ वर्ष आयु बढ्छ भन्ने एउटा अध्ययने समेत देखाएको छ।

जीवन जिउने उद्देश्य हुनु भनेको दुनियाँ परिवर्तन गर्ने उद्देश्य हुनु होइन । दैनिक जीवनमा गरिने कार्यले तपाईँलाई सन्तुष्टी, खुसी मिल्छ भने त्यो उद्देश्य हुनसक्छ । जस्तो कुनै कलामा पोख्त हुनु।

तनावमुक्त जीवन

हामी सबै जान्दछौँ–तनाव हाम्रो स्वास्थ्यका लागि राम्रो होइन । लामो समय तनावमा रहनु ‘क्रोनिक स्ट्रेस’ स्वास्थ्यका लागि धेरै हानिकारक हुनसक्छ । येल न्युजको एउटा अध्ययन अनुसार धेरै तनावमा रहँदा छिटो बुढ्यौली निम्तिन्छ । कतिपय अध्ययनले बताएको छ कि, धेरै तनावले हृदयघात, क्यान्सर, मधुमेहजस्ता रोगको जोखिम बढ्छ ।

एउटा अध्ययनका अनुसार त कार्यस्थलमा तनाव भयो भने, व्यक्तिको जीवन ३३ वर्ष कम हुनसक्छ । ब्लुजोनमा बस्ने व्यक्तिहरुलाई तनाव नहुने भन्ने त हुँदैन, तैपनि त्यहाँका व्यक्तिहरु कसरी लामो आयु बाँच्छन् त ?

त्यहाँका मान्छेहरुलाई तनाव त हुन्छ तर त्यो तनावलाई व्यवस्थापन गर्ने केही बानी उनीहरुले आफ्नो दैनिकीमा समावेश गरेका हुन्छन् ।
ओकिनवामा बस्ने व्यक्तिहरु हरेक दिन केही समय पुर्खालाई याद गर्छन्, क्यालिपलोरनियाका मान्छे दैनिक प्रार्थना गर्छन् भने इटालीका व्यक्ति परिवारका व्यक्तिसँग केही पल बिताउँछन् । यी सबै कुराले तनाव कम गर्न सहयोग गर्छ ।

केही समय भगवानको प्राथना गर्दा पनि तनाव कम हुन्छ र दिउँसोको केही समय सुत्दा पनि तनाव कम हुन्छ । त्यसैले दैनिक रुपमा केही योगा मेडिटेसन वा प्रार्थना गरेर तनाव व्यवस्थापन गर्नुपर्छ ।

८० प्रतिशत नियम

जापानमा एउटा प्रचलन छ, खाना खाँदा पेट १०० प्रतिशत भरिने गरी नखाएर ८० प्रतिशत मात्र भरिने गरी खाने । जापानको ओकिनावामा यो कुरालाई पालना गरिन्छ, त्यसले त्यहाँका व्यक्तिहरु पेट ८० प्रतिशत भरिए पछि खाना खान छोड्छन् । आयुर्वेदिक चिकित्सामा पनि यो कुरालाई व्याख्या गरिएको छ । भनिएको छ–पेटको एक भाग पानीले भर्नुपर्छ एक भाग खानाले र एक भाग खाली छोड्नुपर्छ । खाना कम खानु स्वास्थ्यका लागि लाभदायक हो, भन्ने कुरा पुष्टि गर्ने धेरै वैज्ञानिक अध्ययनहरु पनि छन् ।

उपवास बस्ने चलन हरेक धर्म, सँस्कृतीमा समावेश छ । उपवास बस्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुराको वैज्ञानिक आधार पनि छ । एक अध्ययन अनुसार जो व्यक्तिले खानामा ४० प्रतिशत क्यालोरी कम गरेका छन्, उनीहरुको स्वास्थ्यमा धेरै सुधार भएका छन् । यस्ता व्यक्तिको बुढ्यौली पनि ढिलो भएर जान्छ।

सन् १९३५ मा वैज्ञानिक क्लाइभ म्याकेले मुसामा एउटा अध्ययन गरेका थिए । उनले लामो समयसम्म मुसालाई एकदमै कम खाना दिए र मुसाको जीवनकाल ३३ प्रतिशत बढेको पाए । यस्तो खाले अध्ययन अन्य जनावरमा पनि भएका छन् । ती अध्ययनहरुको निष्कर्षअनुसार निरन्तर कम खाना खाँदा जीवनकाल ५० देखि ३०० प्रतिशत बढ्छ।

बिरुवामा आधारित खाना

ब्लुजोनमा बस्ने धेरै मानिसहरुको डाइट बिरुवामा आधारित पाइएको थियो। धेरै जस्तो ब्लुजोनमा मासु खाइँदैन थियो। खाए पनि एकदमै कम मात्रामा खाइन्थ्यो । उनीहरुको डाइटमा दाल र गेडागुडीको मात्र बढी रहेको पाइन्थ्यो । त्यसका साथै यी ठाउँमा ‘होलग्रेन’ सम्पूर्ण अन्न, तरकारी र जमिनमुनि फल्ने फल धेरै मात्रामा खाने गरेको पाइन्थ्यो । ब्लुजोनमा बस्ने धेरै व्यक्तिहरु शाकाहारी र केही भेगन पनि थिए ।

१९८० देखि २०२२ सम्म शाकाहारी र भेगन डाइट फलो गर्ने व्यक्तिहरुमा एउटा अध्ययन गरिएको थियो । अध्ययनलाई २०२३ मा विश्लेशण गरिएको थियो जसमा शाकाहारी र भेगन डाइट खाने व्यक्तिहरुमा धेरै रोगको जोखिम कम हुन्छ भन्ने निष्कर्ष निस्किएको थियो ।

नियन्त्रित रेड वाइन सेवन

यो निकै विवादास्पद विषय पनि हो । ड्यान बटनर न्यास्नलको अध्ययनले क्यालिफोर्निया बाहेक अन्य ब्लु जोनमा बस्ने धेरै व्यक्तिले थोरै मात्रामा अल्कोहलको सेवन गर्ने गरेको पाएको थियो । सार्डिनियाका मान्छले हरेक दिन १ देखि २ ग्लास रेड वाइन पिउने गरेको पाइएको थियो ।

पुराना अध्ययनहरुले पनि सीमित मात्रामा रेड वाइन पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनेको छ । रेड वाइनमा हुने एन्टिअक्सिडेन्टले शरीरमा गुड कोस्ट्रोल बढाउँछ। तर, पछिल्लो अध्ययनहरुले भने अल्कोहलको कुनैपनि मात्रा स्वास्थ्यका लागि फाइदाजनक छैन भनेका छन्। रेड वाइनमा हुने एन्टिअक्सिडेन्ट अंगुरको जुस र अंगुरमा पाइन्छ। त्यसैले एन्टिअक्डिेन्ट पाउन अंगुर खान सकिन्छ ।

साामजिक सम्बन्ध

२६३ सेन्टिटेरियनमा अन्तर्वार्ता गरिएको थियो । उनीहरु केही न केही धर्ममा जोडिएका थिए । कुनै धर्म मान्नु र नमान्नुले त खासै फरक पर्दैन । तर, कुनै न कुनै सामाजिक समुदायमा जोडिनु महत्वपूर्ण हुन्छ । त्यो समुदाय धर्मसँग जोडिएको पनि हुनसक्छ । त्यो समुदायले जिन्दगीमा सकारात्मक हुने प्रेरणा दिन्छन् । यो कुरा सामाजिक कार्यमा संलग्न भएर कसैलाई सहयोग गरेर पनि पाउन सकिन्छ । जो व्यक्ति विश्वास र सहयोगमा आधारित काम गर्छन् उनीहरुको आयु ४ देखि १४ वर्ष बढ्न सक्छ।

पारिवारिक जीवन

धेरै सेन्टिनेरियन्स आफ्नो परिवारलाई पहिलो प्राथमिक्ता दिन्छन् । उनीहरु आफ्नो परिवारको साथमा तथा नजिकै रहन्छन् । साथै उनीहरु आफ्नो जीवनसाथीप्रति पनि प्रतिबद्ध रहन्छन् । ड्यानको अध्ययनअनुसार यसरी परिवारको साथमा रहँदा जीवनकाल ३ वर्ष लम्बिन्छ । ब्लुजोनमा बस्ने व्यक्तिहरु आफ्नो बच्चालाई पनि प्रथमिकताका साथ समय र प्रेम दिन्छन् ।

असल र प्रेरक साथी

ओनावाका व्यक्तिहरु आफ्नो साथी सर्कल ५ जनामा मात्र सीमित राख्छन् । उनीहरु ती ५ साथीप्रति जीवनभर प्रतिबद्ध पनि रहन्छन् । ब्लुजोनमा बस्ने व्यक्तिहरुको समुदाय पनि उनीहरुको राम्रो बानी व्यवहारलाई प्रोत्साहन गर्ने खालका छन्

यदि तपाइका साथीहरु धुम्रपान, मद्यपान जस्ता खराब बानीलाई निरुत्साहन गर्छन् र स्वस्थ्य खानपान र जीवनशैलीजस्ता राम्रो बानीलाई प्रोत्साहन गर्छन् भने त्यो फाइदाजनक हुन्छ । यदि आफ्नो छेउछाउका व्यक्तिहरू राम्रो जीवनशैली अपनाइरहेका छन् भने अर्को व्यक्ति पनि त्यसबाट प्रभावित हुन सक्छन्।

यी ५ ब्लुजोन भन्दाबाहिर पनि धेरै वर्ष बाँच्न सम्भव होला ?

यो प्रश्न ड्यानको दिमागमा पनि आएको थियो। उनीका अनुसार छैठौ ब्लु जोन पनि यो लिस्टमा आउन सक्छ । यो ठाउँमा पहिलेदेखि मान्छेहरु स्वस्थ्य जीवनशैली अपनाइरहेका त छैनन् । तर, पछिल्लो समय आफ्नो जीवनशैली परिवर्तन गरेर नयाँ ब्लुजोनमा पर्न सक्छन् ।
त्यो ठाउँ सिंगापुर हो।

सिंगापुरमा जीवनकाल लगभग २५ प्रतिशत बढ्दै गएको पाइन्छ । यसको कारण सरकारले बनाएको नीति हो । यहाँको सरकार स्वस्थ खानालाई प्रेरित गर्छ र जंकफुडमा धेरै कर लगाउँछ। हिँडाइलाई प्रोत्साहन गर्छ र गाडीलाई धेरै कर लगाउँछ, जसले गर्दा उनीहरुको जीवनकाल लम्बिदै जान्छ ।

(लोकप्रिय भारतीय युट्युबर ध्रुब राठीको  भिडियो कन्टेन्टबाट अनुवाद गरिएको)

दीर्घजीवन लामो आयु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अमिलो खानाले बाथ बढ्दैन, ताजा कागतीले त फाइदै गर्छ

अमिलो खानाले बाथ बढ्दैन, ताजा कागतीले त फाइदै गर्छ

चन्द्रमा र मानव मस्तिष्क : विज्ञान र रहस्यको सम्बन्ध

चन्द्रमा र मानव मस्तिष्क : विज्ञान र रहस्यको सम्बन्ध

भिटामिन ‘ई’ सप्लिमेन्टले वास्तवमै अनुहारको चमक बढाउँछ ?

भिटामिन ‘ई’ सप्लिमेन्टले वास्तवमै अनुहारको चमक बढाउँछ ?

के हो ‘साइक्लोट्रोन’ प्रविधि ? क्यान्सर बिरामीलाई के फाइदा ?

के हो ‘साइक्लोट्रोन’ प्रविधि ? क्यान्सर बिरामीलाई के फाइदा ?

जाडो मौसममा किन बढ्छ महिनावारी पीडा  ?

जाडो मौसममा किन बढ्छ महिनावारी पीडा  ?

आवश्यक पर्नेलाई मात्रै नि:शुल्क उपचार सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह

आवश्यक पर्नेलाई मात्रै नि:शुल्क उपचार सेवा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह